३२ असार २०८३ बिहीबार
image/svg+xml
खेल

सर्वाधिक गोलकर्ता बन्ने अवसरनजिक

अर्जेन्टिनाका कप्तान लियोनल मेसी अस्ट्रियाविरुद्ध हुने महत्वपूर्ण खेलमा फिफा विश्वकप इतिहासको सर्वाधिक गोलकर्ता बन्ने अवसरनजिक छन्।

समूह ‘जे’ को यो खेललाई अर्जेन्टिनालाई दोस्रो चरणको बलियो सम्भावनासम्म मात्र पु¥याउने छैन कप्तान मेसीलाई विश्वकपको सर्वाधिक गोलकर्ताको सूचीमा राख्ने माध्यम बन्नेछ। यो खेल सोमबार इर्लिङटनस्थित डालस स्टेडियममा हुनेछ। पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियामाथि ३–० को सहज जित निकाल्दा मेसीले ह्याट्रिक पूरा गरेका थिए, जुन उनको करिअरको ६१औं ह्याट्रिक पनि हो। यस क्रममा मेसीले विश्वकपमा १६ गोल गरिसकेका छन्। अब उनले थप एक गोल गरेमा जर्मनीका मिरोस्लाभ क्लोजको (१६ गोल) कीर्तिमान तोड्दै पुरुष विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बन्नेछन्। अस्ट्रियाविरुद्ध गोल गर्न सफल भए मेसी लगातार ६ विश्वकप खेलमा गोल गर्ने इतिहासका तेस्रो खेलाडी पनि बन्नेछन्।

यसअघि फ्रान्सका जस्ट फन्टेनले सन् १९५८ र ब्राजिलका जाइरजिन्होले सन् १९७० को विश्वकपमा यस्तो उपलब्धि हासिल गरेका थिए। ३८ वर्षीय मेसी पाका भए पनि अर्जेन्टिनाका लागि उनको प्रभाव घटेको देखिएको छैन। अल्जेरियाविरुद्ध अर्जेन्टिनाले गरेका १० प्रहारमध्ये आठमा उनको प्रत्यक्ष भूमिका थियो। उनले ६ पटक आपैmँ प्रहार गरे भने दुई गोल अवसर सिर्जना गरेका थिए। जितपछि मेसीको आक्रामक प्रदर्शनले चर्चा बटुल्यो। यद्यपि, प्रशिक्षक लियोनेल स्कालोनीको टोलीको रक्षात्मक प्रदर्शन पनि उत्तिकै प्रभावशाली रह्यो। अर्जेन्टिनाले अल्जेरियालाई पूरै खेलभर एउटा पनि प्रहार लक्ष्यमा राख्न दिएको थिएन।

अस्ट्रियालाई पराजित गरे र अर्को खेलमा जोर्डनले अल्जेरियालाई हराउन नसके अर्जेन्टिना समूहविजेताका रूपमा नकआउट चरणमा प्रवेश गर्नेछ। अस्ट्रियासँग पनि समूह विजेता बन्ने अवसर छ। तर त्यसका लागि उनीहरूले विश्वविजेता अर्जेन्टिनामाथि जित निकाल्नुपर्नेछ। पहिलो खेलमा जोर्डनलाई ३–१ ले हराए पनि अस्ट्रियाको प्रदर्शन नतिजाजति प्रभावशाली थिएन। अस्ट्रियाका युवा मिडफिल्डर पल वानरले अर्जेन्टिनाको चुनौतीबारे बोल्दै प्रतिद्वन्द्वीबारे राम्रो जानकार रहेको बताए। ‘अर्जेन्टिना कति बलियो टोली हो भन्ने थाहा छ। हामी उनीहरूको सम्मान गर्छौं। तर आफ्ना क्षमताप्रति पनि विश्वस्त छौं। आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्न सक्यौं भने कुनै पनि टोलीलाई समस्यामा पार्न सक्छौं,’ उनले भने।

जोर्डनविरुद्धको खेलमा रोमानो स्मिडले सुरुआती गोल गरे पनि अली ओल्वानले बराबरी फर्काएका थिए। त्यसपछि ७६औँ मिनेटमा याजन अल अरबको आत्मघाती गोलमार्फत अस्ट्रियाले पुनः अग्रता बनाएको थियो। खेलको अन्त्यतिर मार्को अर्नाउटोभिचले पेनाल्टीमा गोल थप्दै टोलीको जित सुनिश्चित गरेका हुन्। अस्ट्रिया सबै प्रतियोगितामा लगातार चार खेल जित्दै उच्च आत्मविश्वासमा छ। पछिल्ला १२ मध्ये उसले १० जित, एक बराबरी र एक हारको नतिजा निकालेको छ। अर्जेन्टिनालाई हराए अस्ट्रियाले सन् १९८२ यता पहिलोपटक विश्वकपको सुरुआती दुई खेल लगातार जित्ने उपलब्धि हासिल गर्नेछ। यद्यपि अस्ट्रियालाई डिफेन्डर डेभिड अल्बा, स्टेफान पोस र एलेसान्द्रो शोफको फिटनेसले चिन्तित बनाएको छ।

चोटका कारण तीनै खेलाडी टोलीबाट अलग अभ्यास गरिरहेका छन्। मिडफिल्डर मार्सेल साबिट्जरले भने टोलीमा स्थान कायम राख्दै आफ्नो १००औं अन्तर्राष्ट्रिय खेल खेल्ने अपेक्षा गरिएको छ। यससँगै उनी अस्ट्रियाका सर्वाधिक खेल खेल्ने खेलाडीहरूको सूचीमा चौथो स्थानमा उक्लनेछन्। अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले केही परिवर्तन गर्न सक्ने सम्भावना छ। चोटमुक्त भएका नाहुएल मोलिनाले गोन्जालो मोन्टिएलको स्थान लिन सक्नेछन्। इतिहास हेर्दा दुवै टोली मैत्रीपूर्ण खेलमा मात्र आमनेसामने भएका छन्। ३६ वर्षअघि भियनामा भएको खेल १–१ को बराबरीमा टुंगिएको थियो।

सन् १९८० मा भएको अर्को भेटमा अर्जेन्टिनाले ५–१ को सानदार जित निकालेको थियो। उक्त खेलमा डिएगो म्याराडोनाले आफ्नो अन्तर्राष्ट्रिय करिअरको एक मात्र ह्याट्रिक गरेका थिए। एक तथ्यांकले अर्जेन्टिनाको जितको सम्भावना ६१.१ प्रतिशत अनुमान गरेको छ। बराबरीको सम्भावना २१.९ प्रतिशत रहेको छ। अस्ट्रियाको सम्भावना १७ प्रतिशत मात्र देखाएको छ। सबैको नजर भने मेसीमाथि रहनेछ। जो आफ्नो नाममा अर्को ऐतिहासिक अध्याय थप्ने लक्ष्यसहित मैदान उत्रनेछन्।  

प्रकाशित: ८ असार २०८३ ०७:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App