२७ मंसिर २०८२ शनिबार
image/svg+xml
खेल

रोहितको ह्याट्रिकमा सुदूरपश्चिम ८५ रनमै समेटियो, लुम्बिनीलाई ८६ रनको सामान्य लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई जितका लागि ८६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमको ब्याटिङ लाइनअप लुम्बिनीका बलरसामु निरिह बन्दा टोली १९.१ ओभरमा ८५ रनमै अलआउट भयो।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका कप्तान रोहित पौडेलले जादुयी बलिङ गरे। उनले खेलको ११ औँ ओभरमा ह्याट्रिक विकेट लिए।

रोहितले ओभरको चौथो बलमा सेट भइसकेका सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी (१३ रन), पाँचौँ बलमा दीपक बोहरा (०) र छैटौँ बलमा पुनित मेहरा (०) लाई आउट गराउँदै ह्याट्रिक पूरा गरेका हुन्।

सुदूरपश्चिमका लागि ओपनर इशान पाण्डेले एक छेउबाट इनिङ सम्हाल्ने प्रयास गरे पनि अर्को छेउबाट लगातार विकेट गइरह्यो। पाण्डेले सर्वाधिक ३३ रन बनाए। ५१ बल सामना गरेका उनले मात्र १ चौका प्रहार गरे।

अन्य ब्याटरहरूमा कप्तान दीपेन्द्रसिंह ऐरीले १३ रन, हरमित सिंहले १० रन र स्कट कुगेलेइनले १० रन जोड्नुबाहेक कसैले पनि दोहोरो अंक छुन सकेनन्।

ओपनर विनोद भण्डारी (०), सेल्डन ज्याक्सन (१) र आरिफ शेख (६) सस्तैमा आउट हुँदा सुदूरपश्चिम सुरुवाती दबाबमा परेको थियो। हेमन्त धामी ७ रनमा अविजित रहे।

लुम्बिनी लायन्सका बलरहरूले फाइनलमा अनुशासित र आक्रामक बलिङ प्रदर्शन गरे। कप्तान रोहित पौडेलले ४ ओभरमा १२ रन खर्चेर ह्याट्रिकसहित ३ विकेट लिए।

त्यस्तै, इनिङको सुरुमै सुदूरपश्चिमलाई दबाबमा राख्न सफल रुबेन ट्रम्पलम्यानले २.१ ओभरमा ३ रन मात्र खर्चेर ३ महत्वपूर्ण विकेट लिए।

उनले नै अन्तिम विकेटका रुपमा अविनाश बोहरालाई आउट गराएका थिए। शेर मल्लले पनि ४ ओभरमा १८ रन खर्चेर ३ विकेट हात पारे। तिलक भण्डारीको नाममा १ विकेट रह्यो।

अब उपाधि जित्नका लागि लुम्बिनी लायन्सले केही बेरमा ८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्नेछ।

प्रकाशित: २७ मंसिर २०८२ १७:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App