नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ का विभिन्न व्यावसायिक अधिकार बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ।
क्यानले आज(शुक्रबार) मा सूचना जारी गर्दै योग्य कम्पनी तथा संस्थाबाट सिलबन्दी बोलपत्र मागेको हो। क्यानले एनपीएल २०२६ का लागि मुख्यतः तीन प्रकारका अधिकार बिक्री गर्न लागेको छ। जसमा ओटीटी स्ट्रिमिङ अधिकार, टिकटिङ अधिकार र टेलिभिजन प्रसारण अधिकार रहेका छन्। भारतबाहेक विश्वभरका लागि एनपीएल २०२६ को विशेष ओटीटी स्ट्रिमिङ अधिकार बिक्री गरिनेछ। त्यस्तै, प्रतियोगिताको टिकट बिक्री तथा टिकटिङ व्यवस्थापनको विशेष अधिकार पनि बोलपत्रमार्फत प्रदान गरिनेछ।
नेपालको भूभागभित्र एनपीएल २०२६ को रेखीय टेलिभिजन प्रसारण अधिकारका लागि पनि क्यानले बोलपत्र आह्वान गरेको छ। योग्य बोलपत्रदाताले क्यानको मूलपानीस्थित कार्यालयबाट बोलपत्रसम्बन्धी कागजात खरिद गर्न सक्नेछन्। त्यसका लागि कम्पनी वा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ। बोलपत्र कागजातका लागि रु. १० हजार गैरफिर्ता हुने शुल्क तोकिएको छ।
बोलपत्र कागजात खरिद गर्ने अन्तिम मिति ३ सेप्टेम्बर २०२६ रहेको छ। यस्तै, बोलपत्र बुझाउने अन्तिम समय ४ सेप्टेम्बर २०२६ दिउँसो १२ बजेसम्म तोकिएको छ। तोकिएको समयपछि प्राप्त हुने बोलपत्र स्वीकार नगरिने क्यानले जनाएको छ।
क्यानको यस निर्णयसँगै एनपीएल २०२६ को प्रसारण, डिजिटल स्ट्रिमिङ तथा टिकटिङ अधिकारका लागि व्यावसायिक प्रतिस्पर्धा सुरु भएको छ। आगामी संस्करणमा यी अधिकार कुन कम्पनीले प्राप्त गर्छ भन्ने विषयलाई नेपाली क्रिकेट समर्थकहरूले चासोका साथ हेरेका छन्।
प्रकाशित: २९ श्रावण २०८३ ११:०३ शुक्रबार





