२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

‘कांग्रेस चोइटिने अवस्थामा छ, अभिभावकको जिम्मेवारी देउवाले लिनुपर्छ’ : सरिता प्रसाईं

नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले मुलुकको राजनीतिक र संवैधानिक अवस्था चुनौतीपूर्ण बन्दै गएको भन्दै यस्तो समयमा कांग्रेसले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताएकी छन्।

नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रसाईंले संविधान र वर्तमान व्यवस्थाकै अवस्थाबारे प्रश्न उठिरहेको समयमा कांग्रेसभित्रै विभाजनको अवस्था आउन नहुने बताइन्।

“संविधानको अवस्था के होला जस्तो छ, व्यवस्था नै के होला जस्तो छ। यस्तो बेलामा अभिभावक हुनुपर्ने कांग्रेस चोइटिने हो कि भन्ने अवस्थामा छ,” उनले भनिन्।

प्रसाईंले मुलुकमा जब–जब कठिन परिस्थिति उत्पन्न भएको छ, त्यतिबेला कांग्रेसले अभिभावकको भूमिका निर्वाह गर्दै समस्या समाधानमा योगदान गरेको स्मरण गराइन्।

उनले पार्टीका पूर्वसभापति शेरबहादुर देउवातर्फ संकेत गर्दै अहिले कांग्रेस र मुलुकको अभिभावकीय जिम्मेवारी लिनुपर्ने समय आएको बताइन्।

“जब–जब देशलाई अप्ठ्यारो पर्छ, त्यस्तो बेलामा नेपाली कांग्रेसले अभिभावकको जिम्मेवारी निर्वाह गरेर समस्या समाधान गरेको छ। शेरबहादुर दाइ, अब यो जिम्मेवारी तपाईंले लिने बेला भएको छ,” प्रसाईंले भनिन्।

प्रसाईंले राष्ट्रिय भेलामा देउवाको उपस्थितिप्रति खुसीसमेत व्यक्त गरिन्। उनले वर्तमान परिस्थितिमा पार्टीलाई एकताबद्ध र सुदृढ बनाउँदै कांग्रेसले आफ्नो अभिभावकीय भूमिका अझ प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिइन्।

प्रकाशित: २९ श्रावण २०८३ १६:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App