अहिले नेपाली क्रिकेट प्रशंसकमाझ नेपाल प्रिमियर लिग(एनपिएल)को क्रेज छाएको छ। त्रिवि क्रिकेट मैदान एनपिएलको ‘इपिसेन्टर’ भए पनि देशभर र विश्वभर रहेका नेपाली क्रिकेटका समर्थकले नेपाली क्रिकेटको यो कुम्भलाई रुचिपूर्वक हेरिरहेका छन्।
नेपाली राष्ट्रिय टोलीको खेलमा एकजुट हुने समर्थक एनपिएलमा भने आठ वटा फ्रेन्चाइजी टिममा बाँडिएर परस्पर भिडिरहेका छन्।
एनपिएलको यो दोस्रो सिजन हो। नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा गत वर्ष सम्पन्न पहिलो सिजन जनकपुर बोल्ट्सले जितेको थियो। जनकपुर बोल्ट्सले एनपिएलको पहिलो ट्रफी जित्दा ऊसँग अर्को फाइनलिस्ट सुदूरपश्चिम रोयल्स थियो।
ती दुवै फाइनलिस्ट शनिवार फेरि भिड्दै छन्। अहिले साँझ दुवै बिचको खेल सुरु हुँदै छ। एनपिएल दोस्रो सिजनको १८ औँ खेलमा आमने–सामने हुँदा दुवै टिमको अवस्था ठिक उल्टो छ ।सुदूरपश्चिम विजेता जस्तो देखिएको छ भने जनकपुर पराजित जस्तो देखिएको छ।
जारी सिजनमा हालसम्म सुदूरपश्चिम रोयल्सले खेलेका ४ खेलमा शतप्रतिशत नतिजा निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा छ। एनपिएलको जारी सिजनमा उ एक मात्र अपराजित टिम देखिएको छ। सुदूरपश्चिम रोयल्स उत्कृष्ट लयमा देखिँदा क्रिकेटका तीन वटै डिपार्टमेन्ट ब्याटिङ, बलिङ र फिल्डिङमा उत्तिकै बलियो देखिएको छ।
उता हालसम्म तीन खेल खेलेको डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स तीन वटै खेलमा हारेर हारको ह्याट्रिक बेहोरेको छ। जारी सिजनमा हालसम्म जनकपुर मात्रै जितविहीन छ।
आजको खेलमा सुदूरपश्चिमले जितको सिलसिला जारी मात्रै राख्न चाहेको छैन, गत सिजनको फाइनलमा जनकपुरसँग हारको बदला लिन पनि चाहेको छ।
उता जनकपुरले अहिलेसम्मको हारका शृङ्खला बिर्सेर टेबल टपरलाई हराउँदै प्रतियोगितामा पुनरागमन गर्न चाहेको छ।
प्रकाशित: १३ मंसिर २०८२ १४:३८ शनिबार





