काठमाडौंमा अहिले दोश्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) भइरहेको छ।
गत मसिंर १ गतेबाट सुरु भएको सो प्रतियोगिता यस पटक दिउँसो र साँझ गरी दुई समयमा भइरहेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको दोस्रो संस्रणको एनपिएलमा आज पाँचौँ दिन छैटौँ खेल हुँदैछ।
शुक्रबार साँझ लुम्बिनी लायन्सले खेलेसँगै यस सिजनको प्रतियोगितामा सहभागी सबै टोलीले आ-आफ्नो पहिलो खेल पूरा गरेका छन्।
नेपाली क्रिकेट जगतमा पहिलो पटक आफ्नै मैदानमा रात्रिकालीन खेल भइरहेको छ। यस कारण पनि यस पटकको एनपिएल अझै बढी चर्चामा छ। यो अवस्थामा खेलाडी, प्रशिक्षक र खेलप्रेमी खुसी छन्। उनीहरूले आ-आफ्नो तर्फबाट खुसी व्यक्त गरेका छन्। सोही क्रममा आफ्नो मैदानमा पहिलो रात्रिकालीन खेल खेल्न पाउँदा कुन खेलाडीले के भने?
रोहितकुमार पौडेल, लुम्बिनी लायन्स
लुम्बिनी लायन्सका मार्की खेलाडी रोहितकुमार पौडेलले रात्रिकालीन खेल हुँदा निकै खुसी लागेको बताए। 'आफ्नै मैदानमा रात्रिकालीन खेल हुँदा निकै खुसी लागेको थियो, सबै जनाको सपना थियो रात्रिकालीन खेल खेल्ने,' रोहितले खेलपछि पत्रकार सम्मेलनमा भने, 'दर्शकहरूले हामीलाई एकदमै साथ दिइरहनु भएको छ, यहाँ खेल्न छुट्टै आनन्द आइरहेको छ।' रोहितको लुम्बिनीले शुक्रबार यस सिजनको दोस्रो प्रतियोगिताको आफ्नो पहिलो खेलमा चितवनलाई पराजित गरेर विजयी सुरुआत गरेको छ। साथै, उनले एनपिएल नेपाली खेलाडीको वृत्तिविकासको लागि एकदमै महत्वपूर्ण रहेको पनि बताए। रात्रिकालीन खेलको सुरुआत गरेको भन्दै रोहितले नेपाल क्रिकेट संघ र नेपाल सरकार लगायतलाई धन्यवाद समेत दिएका छन्।
अनिल साह, जनकपुर बोल्ट्स
साविक विजेता जनकपुर बोल्ट्सका कप्तान अनिल साह त्रिवि क्रिकेट मैदानमै रात्रिकालीन खेल हुँदा राम्रो लागेको बताउँछन्। उनी भन्छन्, 'नेपालमा पहिलो पटक रात्रिकालीन खेल भयो, त्यो पनि त्रिवि क्रिकेट मैदानमा एकदमै खुसी लागेको छ, यहाँ खेल्न पाउँदा आर्क फिल भयो हामीलाई दर्शकले उतिकै साथ दिइरहनु भएको छ।' अनिलको जनकपुरले काठमाडौं गुर्खाजसँग पराजित हुँदै प्रतियोगिताको आरम्भ गरेको हो।
करण केसी, काठमाडौं गोर्खाज
राजधानी टोली काठमाडौं गोर्खाजले जारी एनपिएल सिजन-२ मा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेर सुरुआत गरेको छ। त्यसपछि आफ्नो दोश्रो खेलमा भने काठमाडौं सुदूरपशिचम रोयल्ससँग पराजित भयो। काठमाडौंका कप्तान तथा मार्की खेलाडी करण केसीले यहाँ रात्रिकालीन खेल्न पाउँदा निकै राम्रो अनुभव भएको सुनाए। 'पहिलो कुरा त दशको साथ त्यसमाथि यस पटक रात्रिकालीन भइरहेको, छ हामी आफैँ रात्रिकालीन खेलमा खेल्ने पहिलो टोली भयौँ,' करण भन्छन्, 'यो अनुभव एकदमै राम्रो भयो।'
कुशल भुर्तेल, पोखरा एभेन्जर्स
पोखरा एभेन्जर्सका कुशल भुर्तेल पनि नेपालमा क्रिकेटको रात्रिकालीन खेल हुँदा खुसी देखिन्छन्। उनले भने, 'हामी सधैँ त्रिवि मैदानमा आएर खेलिरहेको छौँ, खेल नहुँदा पनि यहाँ आएर प्रशिक्षण गरिरहेका हुन्छौँ, तर यस पटक यहाँ आउँदा राम्रो फिल भयो, आफ्नै मैदानामा राति खेल्न पाउँदा निकै खुसी लाग्दो रहेछ।' पोखरा पहिलो खेलमा विराटनगर किंग्ससँग पराजित भएको थियो भने आज आफ्नो दोश्रो खेल सुदूरपश्चिम रोयल्ससँग खेल्दै छ।
सन्दीप लामिछाने, विराटनगर किंग्स
नेपाल प्रिमियर लिगको इतिहासमा सबैभन्दा बढी रन बनाउने टोली हो विराटनगर किंग्स। विराटनगरको मार्की तथा कप्तान सन्दीप लामिछानले पहिलो खेलमा पाेखरा एभेन्जर्सलाई पराजित गर्दै एनपिएलमा सुखद सुरुआत गरेको छ। 'हामीभन्दा अघि खेल्नु भएका खेलाडीहरूको फ्लडलाइटमा आफ्नै मैदानमा खेल्ने एउटा सपना थियो, उहाँहरूको त्यो सपना पूरा भएको छ,' कप्तान सन्दीप भन्छन्, 'सबैको सपना साकार भएको जस्तो लाग्छ।'
प्रशिक्षक जगत टमाटा, सुदूरपश्चिम रोयल्स
सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटाले दोस्रो संस्करणको एनपिएलमै रात्रिकालीन खेल हुँदा एकदमै खुसी लागेकाे बताए। 'हामी सबैको सपना थियो, रात्रिकालीन खेल हेर्न, खेल खेल्ने त्यो एनपिएलको दोश्रो संस्करणमै सम्भव भयो, फ्लडलाइटको चुनौती सबै टोलीलाई छ किनभन्दा सबै खेलाडीहरूले फ्लडलाइट खेल्नु भएको छैन तर जे भइरहेको छ त्यो एकदमै राम्रो भइरहेको छ,' मुख्य प्रशिक्षक टमाटाले भने। उनको टोलीले पहिलो खेलमा काठमाडौंलाई हराउँदा विजयी सुरुआत गरेको थियो, आज सुदूरले दोस्रो खेल पोखरा एभेन्जर्ससँग खेल्दै छ।
प्रकाशित: ५ मंसिर २०८२ १४:२४ शुक्रबार





