२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

न्युक्यासलका प्रशिक्षकमा जितको प्रतीक्षा बढ्यो

न्युक्यासल युनाइटेडले इङ्लिस प्रिमियर लिगमा नटिङ्घम फरेस्टमाथि २–० को जित निकाल्दा प्रशिक्षक एन्ज पोस्टेकोग्लुको जितको प्रतीक्षा बढाएको छ।

गत बिहीबार युरोपा लिगमा डेनमार्कको सुपर लिगाको टोली मिड्टिल्यान्डसँग ३–२ को हार बेहोरेपछि फरेस्ट समर्थकले पोस्टेकोग्लुलाई हटाउन माग गरेका थिए। यो खेल लगत्तै भएको घरेलु लिगमा पनि फरेस्टले हार सामना गर्नुपरेको छ। नटिङ्घम फरेस्टको प्रशिक्षण जिम्मेवारी समालेको ६ खेलमा नै समर्थकले उनलाई हटाउन माग गरेका हुन्।

आइतबारको हारसँगै पोस्टेकोग्लु फरेस्टको एक सय वर्षको इतिहासमा पहिलो सात खेलमा जितविहीन हुने पहिलो प्रशिक्षकसमेत बनेका छन्। अन्तर्राष्ट्रिय विश्रामअघि नै फरेस्टका मालिक इभान्जेलोस मारिनाकिसलाई अर्को प्रशिक्षक पनि परिवर्तन गर्न दबाब परेको छ।

आइतबार नै प्रिमियर लिगको खेलमा क्रिस्टल प्यालेसलले आफ्नो अपराजित यात्रा १९ खेलमा आएर टुङ्ग्याएको छ। अन्तिम समयमा ज्याक ग्रिलिसको गोलबाट एभर्टनले प्यालेसमाथि २–१ को जित निकालेको हो। प्यालेसले एभर्टनसँग नतिजा सुम्पिँदा फरेस्टले भने खराब लयबाट गुज्रिएको न्युक्यासलसँग हार बेहोर्‍यो।

न्युक्यासलले प्रिमियर लिगको पहिलो ६ खेलमा एक मात्र जित निकालेको थियो। ब्रुनो गुइमेरेसको गोलबाट न्युक्यासलले अग्रता लिएको थियो। उनले खेलको ५८औं मिनेटमा पेनाल्टी बक्सबाहिरबाट उत्कृष्ट गोल गरेका हुन्। उनले नै पेनाल्टी अवसर प्राप्त गरेपछि न्युक्यासलले अग्रता दोब्बर बनाउने अवसर पनि प्राप्त गर्‍यो।

क्लबका पूर्वसहकर्मी इलिओट इन्डरसनले पेनाल्टी बक्समा ब्रुनोलाई लडाएपछि न्युक्यासलले पेनाल्टी पाएको हो। निक वल्टमेडले ८४औं मिनेटमा पाएको उक्त पेनाल्टी सदुपयोग गर्दै न्युक्यासललाई २–० ले अगाडि बढाए। गत महिना स्टुटगार्टबाट न्युक्यासलमा अनुबन्धित भएका निकको चौथो गोल पूरा गरेका छन्। यता, यो हारसँगै फरेस्ट लिगको अंकतालिकामा १७औं स्थानमा झरेको छ।

गत सिजन टोटेनहमले यही स्थानमा रहेर लिगको अन्त्य गरेपछि उनी बर्खास्तमा परेका थिए। टोटेनहमले युरोपा लिगको उपाधि जिते पनि उननलाई क्लबले बर्खास्त गरेको थियो। यसपल्ट पनि उनलाई बर्खास्त गर्नुपर्ने आवाज उठ्न थालेको छ, त्यो पनि जिम्मेवारी समालेको ६ खेलमा नै।

आइतबार नै प्यालेसले पनि लिगको अंकतालिकाको दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ। पहिलो ४५ मिनेटको खेलमा प्यालेसले एभर्टनमाथि दबाब बनाएको थियो। इस्माइल सारको पास सदुपयोग गर्दै ड्यानिल मुनोजले ३७औं मिनेटमा नै प्यालेसलाई अग्रता दिलाएका थिए तर, त्यो अग्रता प्यालेसले जोगाउन सकेन।

गत बिहीबार मात्र प्यालेसले युरोपा लिगमा डाइनामो किभलाई २–० ले हराएको थियो। तर, प्यालेसले दोस्रो हाफमा त्यो लय जारी राख्न सकेन । इलिमान एनडिएको पेनाल्टी गोलबाट एभर्टन खेलमा फर्कियो। खेलको इन्जुरी समयमा ग्रिलिसले गोल गर्दै एभर्टनलाई जित दिलाए।

प्रिमियर लिगमा राम्रो सुरुआत गर्न नसकेको एस्टन भिल्लाले पनि बर्नलीलाई २–१ ले हराएको छ। यससँगै भिल्लाले पछिल्लो ११ दिनमा चौथो जित निकालेको छ। डोनेल मालनको गोल नै भिल्लाको जितमा निर्णायक साबित भयो। मालनले खेलको २५औं र ६३औं मिनेटमा गोल गरेका थिए। उनले गत अप्रिलपछि गोल गरेका हुन्। लेस्ले युगोचुक्युको गोल गर्दै बर्नलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर, त्यो गोल बर्नलीको हार टार्न पर्याप्त भएन र टोली रेलिगेसन क्षेत्रबाट उक्लिन असफल भयो।  

प्रकाशित: २० आश्विन २०८२ ०७:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App