नयाँ कप्तान सन्दीप लामिछानेको नेतृत्वमा च्याम्पियन बन्ने लक्ष्यसहित नेपाली क्रिकेट टोली एसिसी प्रिमियर कपका लागि होमिँदै छ। आगामी अगस्ट ३० तारिखदेखि सेप्टेम्बर १२ तारिखसम्म मलेसियामा हुने एसिसी प्रिमियर कपका नेपालसहित १० राष्ट्रले एसिया कप खेल्ने लक्ष्यसहित चुनौती प्रस्तुत गर्दै छन्। यो प्रतियोगिता विश्वकै बलिया राष्ट्रले खेल्ने एसिया कपको ढोकासँगै आइसिसी विश्वकप लिग–२ मा नेपालको अन्तिम चार खेलका लागि तयार हुने माध्यम पनि बन्ने आशा छ।
लिग–२ को अन्तिम शृंखलाले नेपालको एक दिवसीय मान्यता पनि जोगाउन सक्छ। त्यसअघि एक दिवसीय फरम्याटको एसिसी प्रिमियर कप राम्रो माध्यम बन्न सक्छ। प्रिमियर कपको विजेताले आगामी एसिया कपमा खेल्ने पाउने प्रावधान छ। एसियाभित्रका आइसिसीको पाँच वटा पूर्ण सदस्य र प्रिमियर कप विजेतासहित ६ राष्ट्रले बंगलादेशमा सन् २०२७ मा हुने एसिया कप खेल्ने छन्।
गत संस्करण टी ट्वान्टी फरम्याटमा भएको एसिया कपमा नेपाल छनोट हुन असफल भएको थियो। रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोली तेस्रो स्थानका लागि भएको खेलमा हङकङसँग पराजित हुँदा एसिया कप खेल्नबाट वञ्चित भएको थियो। नेपाल क्रिकेट संघ (क्यान) ले गत साता मात्र रोहितको स्थानमा सन्दीपलाई एक दिवसीय फरम्याटको कप्तान जिम्मेवारी दिएको थियो। यो जिम्मेवारीमा दोहोरिएका सन्दीपका लागि यो पहिलो चुनौती पनि हुने छ। किनकि उनको कप्तानीमा झन्डै नेपालले झन्डै चार वर्षपछि खेल्दै छ। सन्दीपको कप्तानीमा नेपालले पछिल्लो पल्ट केन्या भ्रमणमा केन्यासँग अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलेको थियो।
सोही शृंखलापछि एक किशोरीमाथि बलात्कार आरोपका कारण उनको जिम्मेवारी खोसिएको हो। कारबाहीपछि कप्तानी जिम्मेवारी खोसिएका सन्दीपले फेरि नेतृत्व समाल्ने अवसर पाए। एक दिवसीय फरम्याटकै आइसिसी विश्वकप लिग–२ मा लगातार खराब प्रदर्शनपछि सन्दीप यो जिम्मेवारीमा आएका छन्। त्यसैले सन्दीपका लागि प्रिमियर लिग चुनौतीसँगै अवसर पनि बन्ने छ। उनी यो प्रतियोगितामा सफल भए समस्यामा रहेको नेपाली क्रिकेट टोलीका लागि पनि उद्धार हुने छ। यद्यपि सन्दीपले रातारात सबै पक्षमा सुधार नआउने स्पष्ट पारेका छन्। ‘होममा हामीले राम्रै खेलेका छौं तर अवेमा राम्रो हुने सकेको छैन। अवेमा पनि सन्तुलित राख्न होमजस्तै गरी मानसिकता आवश्यक पर्छ। सुधारका लागि आवश्यक योजना र रणनीतिमा हामी सबै तयारी हुनुपर्छ,’ उनले भने। उनले अवेका खेलका लागि अभ्यास आवश्यक पर्ने पनि औंल्याए। त्यसैले पनि प्रिमियर लिगअगाडि नेपाली टोली भारतको बैंग्लोर सहरमा अभ्यास गर्दै छ।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोली तेस्रो स्थानका लागि भएको खेलमा हङकङसँग पराजित हुँदा एसिया कप खेल्नबाट वञ्चित भएको थियो। क्यानले गत साता मात्र रोहितको स्थानमा सन्दीपलाई एक दिवसीय फरम्याटको कप्तान जिम्मेवारी दिएको थियो।
पछिल्ला समय कमजोर ब्याटिङ गर्दै आएको नेपाली टोलीको भारतमा प्रशिक्षणले सुधार हुने अपेक्षा गरिएको छ। अवे कन्डिसनमा भिज्न नेपाली टोलीलाई कठिन बन्दै आएको छ। त्यसको सुधार भारतमा हुने सन्दीपले पनि आशा गरेका छन्। नेपालको समूह ‘ए’मा बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। अर्को समूह ‘बी’मा कुवेत, ओमान, कतार, सिंगापुर र युएई छन्। आइसिसी विश्वकप लिग–२ का दुई टोली ओमान र युएईले नै प्रतिस्पर्धा गरेको प्रतियोगिताबाट च्याम्पियन भएर एसिया कप खेल्न नेपालका लागि सहज भने छैन। ओमान लिग–२ मा शीर्ष चारभित्र रहेको टोली हो। पुछारमा रहे पनि युएई कमजोर भने छैन।
नेपाल र युएईबिचको खेल सधैं प्रतिस्पर्धात्मक रहँदै आएको छ। लिग–२ को अन्तिम शृंखला नेपालले ओमानमा आगामी अक्टोबरमा खेल्दै छ। क्यानडा पनि सम्मिलित शृंखलाको चारै खेल जितेमा नेपालको लिग–२ मा चौथो स्थानमा रहेर विश्वकप छनोटसँगै एक दिवसीय मान्यता जोगिने सम्भावना पनि रहन्छ। त्यसैले प्रिमियर कपको प्रदर्शन नेपालका लागि लिग–२ तयारीसँगै टेस्ट राष्ट्र सम्मिलित एसिया कप खेल्ने अवसर पनि हुने छ। सन्दीपले उपाधि जित्नकै लागि जाने र ट्रफी ल्याउने आत्मविश्वास व्यक्त गरेका छन्। ‘हरेक खेल जित्ने छौं। हाम्रो लक्ष्य उपाधि नै हो। त्यसलाई घर लिएर आउन हरप्रयास गर्छौं। नेपाल एसोसिएट टोलीमध्ये एक बलियो टोली हो भन्ने प्रमाणित गर्ने छौं,’ सन्दीपले भने, ‘त्यो छवि कायम राख्न मलेसियामा राम्रो गर्ने छौं।’
कप्तान सन्दीप लामिछानेले विगतका गल्ती तथा कमजोरीहरूलाई पहिचान गरेर आगामी दिनमा सुधार गर्दै अघि बढ्ने बताए। टोलीमा अनुभवी खेलाडी र युवाको उत्कृष्ट मिश्रण रहेकाले आगामी समय निकै रोमाञ्चक हुने उनको भनाइ छ। यही प्रतियोगिताका लागि क्यानले पनि टोलीमा केही परिवर्तन गरिसकेको छ। लिग–२ मा लगातर खराब प्रदर्शन गरेपछि कुशल भुर्तेल प्रिमियर कपका लागि टोलीमा परेनन्। उनीसँगै अनुभवी तीव्र गतिका बलर सोमपाल कामी पनि टोलीमा छैनन्। अर्का महŒवपूर्ण मध्यम गतिका बलर नन्दन यादव पनि टोलीमा समावेश भएनन्। उनी चोटका कारण बाहिर छन्। नन्दन भने पछिल्लो समय चोटका कारण टोलीबाट बाहिरिएका थिए।
उनले लिग–२ अन्तर्गत नामिबियाविरुद्ध एक खेल खेलेपछि चोट बोकेका थिए। उनीहरूको स्थानमा करण केसी र हेमन्त धामीलाई निरन्तरता दिएको छ। अनुभवी फास्ट बलर सोमपालले पछिल्लो नेदरल्यान्ड्स भ्रमणमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्। उनले लिग–२ का तीन खेलमा दुई विकेट मात्र लिएका थिए। चौथो खेलमा भने उनलाई अन्तिम–११ बाट बाहिर राखिएको थियो। त्यसैले प्रिमियर कपका सोमपाल टोलीमा परेनन्। सन् २०२५ यता १७ एक दिवसीयमा पनि कुशलको ब्याटबाट अपेक्षाअनुसार प्रदर्शन हुन सकेको छैन। यस अवधिमा उनले एक शतक र एक अर्धशतक मात्र बनाउन सकेका छन्। सन् २०२६ मा घरेलु मैदानमा अमेरिकाविरुद्ध शतक प्रहार गरेका कुशलले त्यसबाहेक उल्लेख्य अर्धशतकीय इनिङ खेल्न सकेका छैनन्।
उनको स्थानमा पछिल्लो समय राम्रो सम्भावना देखाएका युवा ब्याटरहरूलाई अवसर दिएको छ। प्रिमियर कपका लागि अर्जुन कुमाल, देव खनाल, सन्दीप जोरा र बसिर अहमदलगायत टोलीमा समावेश छन्। प्रिमियर कपका लागि अनुभवी खेलाडीको तुलनामा युवा खेलाडीलाई बढी अवसर दिइएको छ। ब्याटिङमा अर्जुन कुमाल, देव खनाल, सन्दीप जोरा र बसिर अहमदले अवसर पाएका छन्। टोलीमा रोहित र सन्दीपसँगै दीपेन्द्रसिंह ऐरी, बसिर, शेर मल्ल, हेमन्त, आसिफ शेख, देव, ईशान, ललितनारायण राजवंशी, सन्दीप जोरा, अर्जुन, गुलशनकुमार झा र करण छन्। ओपनिङ ब्याटिङसँगै अनुभवी बलिङमा परिवर्तन नेपाल र सन्दीपका लागि सहज हुने छैन।
विश्वकप लिग–२ का कमजोरीहरूलाई सुधार गर्न र नयाँ योजनाहरू खेलाडीहरूमा विकास गर्न भारतमा गहन अभ्यास गरिने नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लको विश्वास छ। मलेसियाको पिच कम गति र स्पिनरलाई मद्दत पुग्ने खालको रहेकाले नेपाली टोलीको स्पिनलाई थप फाइदा पुग्ने उनी बताउँछन्।
प्रकाशित: ३० श्रावण २०८३ ०७:५७ शनिबार





