२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

नेपाली खेलाडीमा छनोट हुने क्षमता छ: प्रशिक्षक पाठक

नेपाली महिला क्रिकेट टोली घरेलु मैदानमा हुने आइसिसी टी ट्वान्टी विश्वकप क्वालिफायरबाट छनोट हुँदै विश्वकप खेल्ने लक्ष्यमा छ।

यद्यपि, लामो समयदेखि कमजोर ब्याटिङ र फिल्डिङ सामना गर्दै आएको नेपाली टोलीका लागि यो लक्ष्य सहज हुने छैन। यही कमजोर पक्ष सुधार गर्नकै लागि नेपाल क्रिकेट संघ (क्यान) ले ब्याटिङमा अनुभवी भारतीय प्रशिक्षक हर्षल पाठकलाई भित्र्याइसकेको छ। दुई दशकभन्दा लामो समय प्रशिक्षण गरेका अनुभवी प्रशिक्षक हुन् उनी। पाठक भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीत कौरका व्यक्तिगत ब्याटिङ प्रशिक्षकका रूपमा पनि चिनिन्छन्। उनै अनुभवी प्रशिक्षक पाठक कमजोर ब्याटिङ सामना गर्दै आएको नेपाली महिला क्रिकेटमा भित्रिएका छन्। उनको मुख्य जिम्मेवारी नै महिला टोलीका दुई पक्षमा सुधार गर्नमा केन्द्रित हुनेछ।

यो सुधार हुन सके मात्र घरेलु मैदानमा इतिहास रच्ने नेपाली महिला क्रिकेटको सपना पूरा हुन सक्नेछ। छनोट खेल आगामी जनवरी १८ देखि फेब्रुअरी ३ सम्म मूलपानी र टियु क्रिकेट स्टेडियममा हुनेछन्।

उक्त छनोटमा आइसिसीको तीन पूर्ण सदस्य राष्ट्र (बंगलादेश, आयरल्यान्ड र जिम्बाब्वे) सहित कुल १० राष्ट्र सहभागी छन्। यो छनोटबाट उत्कृष्ट चार बन्दै नेपाली महिला टोली विश्वकप खेल्ने लक्ष्यमा छ। यद्यपि, नवनियुक्त प्रशिक्षक पाठकले नेपाली टोलीले थोरै समयमा धेरै पक्षमा सुधार गर्नुपर्ने बताए। उनी नेपाली खेलाडीमा क्षमता रहेकाले छनोट हुने लक्ष्य देख्छन्।

‘लामो समयदेखि विपक्षी प्रशिक्षकका रूपमा नेपाललाई हेर्दै आएको छु। नेपाली खेलाडीमा क्षमता पनि छ,’ प्रशिक्षक पाठकले भने, ‘यद्यपि, ब्याटिङ र फिल्डिङ समस्या होला। तर, उनीहरू इच्छाशक्ति कस्तो छ भन्ने महत्त्वपूर्ण पक्ष हो। जुन इच्छाशक्ति नेपाली खेलाडीमा देखेको छु।’

छनोटमा नेपाल समूह ‘बी’ मा छ। नेदरल्यान्ड्स, स्कटल्यान्ड, थाइल्यान्ड र जिम्बाब्वे गरी पाँच टोली रहेको समूहमा शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्। सुपर सिक्सका शीर्ष चार टोलीले आगामी सन् २०२६ को जुन १२ देखि ५ तारिखसम्म इङ्ल्यान्ड र वेल्समा हुने आइसिसी ट्वान्टी विश्वकपमा स्थान बनाउनेछन्। नेपाली टोलीले माघ ४ गते थाइल्यान्डसँग खेल्दै विश्वकप छनोटको यात्रा सुरुआत गर्नेछ।

एसोसिएट क्रिकेटकै बलियो टोली थाइल्यान्ड नेपालका लागि चिरपरिचित टोली पनि हो। अझ प्रशिक्षक पाठकले त यो टोलीलाई राम्रोसँग बुझेका छन्। किनकि थाइल्यान्डको क्रिकेटमा उनले सात वर्ष बिताएका छन्। उनले थाइल्यान्डको महिला र पुरुष क्रिकेट टोलीका साथै त्यहाँको क्रिकेटमा डाइरेक्टर अफ कोचिङका रूपमा पनि काम गरे।

पाठककै प्रशिक्षणमा सन् २०२० मा थाइल्यान्डको महिला टोलीले पहिलोपल्ट टी ट्वान्टी विश्वकप पनि खेलेको थियो। जुन इतिहास उनी नेपाली महिला क्रिकेटमा दोहोर्‍याउन चाहन्छन्। त्यसका लागि उनी आफ्नो योजनामा स्पष्ट पनि छन्। थाइल्यान्डको महिला टोलीको यो यात्रामा यसले कयौंपल्ट नेपाललाई नै हराएको थियो।

त्यसैले पनि प्रशिक्षक पाठक नेपाल र थाइल्यान्डको कमजोर पक्षबारे राम्रोसँग जानकार नै छन्। उनी आफैं पनि थाइल्यान्डमा काम गरेकाले यो टोलीविरुद्ध खेल्न सहज मद्दत मिल्ने बताउँछन्। एसिया क्वालिफायरमा नेपाललाई नै फराकिलो अन्तरले हराएर आएको थाइल्यान्ड कमजोर भने छैन तर एसिया कपमा नै सेमिफाइनलसम्म पुगेको थाइल्यान्डलाई हराउँदै सुखद सुरुआत गर्ने लक्ष्यमा नेपाली टोली हुनेछ।

‘म प्रशिक्षक हुँदा नै थाइल्यान्ड विश्वकपमा पुगेको हो। त्यसैले मसँग छनोटको राम्रो अनुभव छ। जुन आगामी खेलमा महत्त्वपूर्ण बन्न सक्छ। नेपाली खेलाडीमा क्रिकेटप्रति बलियो लगाव र क्षमता छ। यो नै जितका लागि महत्त्वपूर्ण पक्ष हो,’ उनी भन्छन्।

साथै नेपाल महिला क्रिकेटको कमजोर पक्षबारे उनी राम्रोसँग जानकार पनि छन्। यसमा रातारात सुधार नआउने उनी स्पष्ट पार्छन् तर गेम प्लान र म्याचको अवस्था बुझ्न सके विश्वकप यात्रा धेरै टाढा नरहेको उनी बताउँछन्।

घरमा नै यो प्रतियोगिता आयोजना हुनु नेपाली महिला क्रिकेटका लागि ठूलो अवसर रहेको उनको बुझाइ छ। यसले विश्वकपमा छनोट हुने लक्ष्य मात्र नभई आगामी पिँढीलाई पनि प्रेरणा मिल्ने उनले उल्लेख गरे। समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी (पिएनजी), नामिबिया र अमेरिका छन्। नेपालले दोस्रो खेलमा चार दिनपछि माघ ८ गते नेदरल्यान्ड्ससँग खेल्नेछ।

यो खेल पनि माथिल्लो मूलपानी क्रिकेट मैदानमै हुनेछ। युरोपबाट आयरल्यान्डसँगै छनोट भएर आएको डच टोली पनि बलियो छ। एसोसिएट क्रिकेट प्रतियोगितामा डच टोलीले आफूलाई प्रमाणित पनि गरेको छ।

तेस्रो खेलमा नेपालले त्रिवि मैदानमा माघ १० गते खेल्नेछ। जुन खेलमा नेपालले पूर्ण सदस्य राष्ट्र जिम्बाब्वेको सामना गर्नेछ। समूहको अन्तिम खेलमा माघ १२ गते स्कटल्यान्डसँग त्रिवि मैदानमै प्रतिस्पर्धा गर्नेछ। समूहबाट कम्तीमा शीर्ष तीन स्थानमा रहन सके नेपाल सुपर सिक्समा पुग्नेछ। जहाँ नेपाली महिला टोलीले ६ मध्ये चौथो स्थानसम्म अटाउन सके पहिलोपल्ट विश्वकपको ढोका खोल्नेछ।

नेपालको पुरुष टोलीले भने तेस्रोपल्ट टी ट्वान्टी विश्वकप खेल्दै छ। यही सफलताको सुरुआत घरेलु मैदानमा हुने विश्वकप छनोटबाट सुरु गर्ने नेपाली महिला क्रिकेटको सपना छ। जुन सहज र सरल भने हुने छैन। किनकि छोटो समयमा नै नेपाली महिला टोलीले आफ्ना कमजोर पक्षमा धेरै सुधार गर्न सक्नुपर्नेछ। नेपाली महिला टोलीले समर्थकको बलियो साथ पाउनेछ। यो महिला टोलीका लागि बलियो पक्ष रहेको प्रशिक्षक पाठकले उल्लेख गरेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार गरेको पत्रकार सम्मेलनमा नवनियुक्त प्रशिक्षक पाठकले नेपाली महिला क्रिकेट टिमलाई विपक्षी प्रशिक्षकका रूपमा हेरेकाले उनीहरूको क्षमताबारे आफू राम्रो जानकारी रहेको उनले बताए।

यो नेपाली टोलीका लागि सुखद पक्ष हो। उनले नेपाली पिच ब्याटिङका लागि राम्रो रहेको पनि उल्लेख गरे तर त्यसका लागि कन्डिसन पनि बुझ्नुपर्ने औंल्याएका छन्। लामो योजना र जुनियर स्तरमा पनि राम्रो गर्नुपर्ने उनको भनाइ छ।

आफू नेपाल आउनुको पछाडि राम्रो टोलीलाई प्रशिक्षण गर्ने चाहना रहेको प्रशिक्षक पाठक बताउँछन्। प्रशिक्षक पाठकले नेपाली खेलाडीको स्ट्रेन्थ र प्यासन राम्रो रहेको पनि उल्लेख गरे। क्रिकेटप्रति धेरै लगाव भएको टोलीलाई प्रशिक्षण गर्न पाउनुले छुट्टै आनन्द मिल्ने उनको बुझाइ छ।

क्वालिफायरबाट शीर्ष चार टोली सन् २०२६ जुन १२ देखि जुलाई ५ सम्म इङ्ल्यान्ड र वेल्समा हुने आइसिसी महिला ट्वान्टी–२० विश्वकपलाई छानिनेछन्। यो छनोटअघि प्रत्येक टिमले दुईदुई अभ्यास खेल खेल्नेछन्। अभ्यास खेलमा नेपालले पुस ३० गते मूलपानीको तल्लो मैदानमा आयरल्यान्ड तथा त्यसको दुई दिनपछि त्रिवि मैदानमा अमेरिकासँग खेल्नेछ। यही खेलबाट नेपाली महिला टोलीले आफूलाई साबित गर्न सक्नुपर्नेछ।  

प्रकाशित: ९ पुस २०८२ ०६:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App