आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको लक्ष्य पछ्याइरहेको ओमानले निकै संघर्ष गर्दै सय रनको आँकडा पार गरेको छ।
नेपाली बलरहरू हाबी भएपछि दबाबमा परेको ओमानले २३.५ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १०४ रन बनाएको छ।
नेपालले प्रस्तुत गरेको २५७ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा ओमानको ब्याटिङ सुरुवातदेखि नै संकटमा परेको थियो। ३७ रन जोड्दा पहिलो विकेट गुमाएको ओमानले ९१ रन पुग्दा ५ महत्त्वपूर्ण विकेट गुमाइसकेको थियो।
नेपाली कसिलो बलिङसामु रन बनाउन हम्मेहम्मे परेपछि ओमानलाई सय रनको स्कोर खडा गर्न समेत निकै संघर्ष गर्नुपरेको हो।
नेपालका लागि अलराउन्डर गुलसन झाले घातक बलिङ गर्दै ओमानको ब्याटिङ लाइन ध्वस्त पारेका छन्। उनले आफ्नो ६ ओभरको स्पेलमा मात्र १७ रन खर्चिएर ३ महत्त्वपूर्ण विकेट लिएका छन्।
त्यस्तै, नन्दन यादवले १ विकेट लिएका छन् भने लेग स्पिनर सन्दीप लामिछानेले ५ ओभरमा मात्र ८ रन दिएर ओमानका ब्याटरलाई दबाबमा राखेका छन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो।
प्रकाशित: २२ वैशाख २०८३ १५:२१ मंगलबार





