१० चैत्र २०८२ मंगलबार
image/svg+xml
खेल

नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

आइसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले संयुक्त राज्य अमेरिकालाई २७२ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।

दुबईस्थित आइसीसी एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २७१ रन बनायो।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ७५ रनको योगदान दिए। उनले ६७ बलको सामना गर्दै ३ चौका र २ छक्का प्रहार गरे।

त्यसैगरी, अन्तिम ओभरतिर विष्फोटक ब्याटिङ गरेका करण केसीले मात्र ३१ बलमा २ चौका र ३ छक्कासहित ४९ रन जोडेर टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेले।

यसअघि, नेपालका लागि ओपनर कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ तथा कप्तान रोहित पौडेलले ३६ रन बनाएका थिए। अन्य ब्याट्सम्यानहरूले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

अमेरिकाका लागि बलिङतर्फ हरमीत सिंहले उत्कृष्ट प्रदर्शन गरे। उनले १० ओभरमा ३३ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए। त्यस्तै, नोस्थुश केन्जिगे र सौरभ नेत्रवलकरले पनि समान २-२ विकेट हात पारे।

जारी शृङ्खलामा नेपाल आफ्नो पहिलो जितको खोजीमा छ। यसअघि नेपाल पहिलो खेलमा अमेरिकासँग र दोस्रो खेलमा घरेलु टोली युएईसँग पराजित भएको थियो।

प्रकाशित: १५ कार्तिक २०८२ १५:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App