३० चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

नेपालको विजयी सुरुवात

नेपालले आईटीएफ एसिया १२ अन्डर टेनिस कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रिय छनोट)मा सोमबार विजयी सुरुआत गरेको छ । नेपालको ब्वाइज-गर्ल्स दुवै टिमले पहिलो खेलमै जित निकाले।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइजको समूह ‘बी’ को लिग खेलमा नेपालले माल्दिभ्सलाई ३–० ले पराजित गर्‍यो । सिंगल्समा नेपालका सभ्यजंग कार्कीले रायन मोहम्मदलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे । अर्को सिंगल्समा नेपालका आरित मल्लले जब्रिल जब्बरलाई सीधा सेटमा ६–० र ६–० ले हराए । डबल्समा नेपालका साहंश बस्नेत र आरितको जोडीले अहमद साहहान र रायनको जोडीलाई ६–२ र ६–० को सेटमा पाखा लगाए ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत गल्र्सको समूह ‘ए’ को लिगमा नेपालले पाकिस्तानलाई ३–० ले पन्छायो । पहिलो सिंगल्समा नेपालकी आर्या पौडेलले साहरिन उमरलाई ६–२ र ६–० को सोझो सेटमा पराजित गरिन् । सिंगल्समै नेपालकी सारा पन्तले साहनुर उमरलाई ६–० र ६–१ को सोझो सेटमा हराइन् । डबल्समा नाइरा घले र साराको जोडीले साहरिन र साहनुरको जोडीमाथि ६–३ र ६–० को जित दर्ता गरे ।

ब्वाइजको समूह ‘ए’ मा श्रीलंकाले भुटानलाई ३–० तथा गर्ल्सको समूह ‘ए’ मा श्रीलंकाले माल्दिभ्स २–१ ले पराजित गरे ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स, पाकिस्तान, भुटान र श्रीलकाको सहभागिता रहेको छ । पुरुषमा १८ र महिलामा १५ खेलाडी सहभागी रहेको नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुलले जनाएका छन् ।

यसै प्रतियोगिताबाट पहिलो र दोश्रो हुने ब्वाइज-गर्ल्स टिमले सन् २०२६ को सेप्टेम्वर १५ देखि २० तारिखसम्म सिंगापुरमा हुने एसियाली फाइनल प्रतियोगितामा खेल्ने अवसर पाउने छन् ।

नेपालले दक्षिण एसियाली छनोट प्रतियोगिता आयोजना गरेको पाँचौंपटक हो । एक टिमले २ सिंगल्स र १ डबल्स खेल्नु पर्छ ।

प्रकाशित: ३० चैत्र २०८२ २०:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App