सुरुवाती झड्काका बाबजुद सानदार पुनरागमन गर्दै नेपालले आइसीसी टी-२० विश्वकपको वार्म-अप खेलमा युएईमाथि ७ विकेटको सानदार जित हात पारेको छ।
चेन्नाईस्थित एमए चिदम्बरम स्टेडियममा मंगलबार भएको खेलमा युएईले दिएको १४६ रनको लक्ष्य नेपालले १८ बल बाँकी छँदै ३ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा आरिफ शेख र दीपेन्द्र सिंह ऐरीको अविजित शतकीय साझेदारी निर्णायक बन्यो।
१४६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालको सुरुवात निकै खराब रह्यो। इनिङ्सको दोस्रो ओभरमै ओपनर कुशल भुर्तेल (८) र चौथो ओभरमा आसिफ शेख (८) आउट भएपछि नेपाल दबाबमा परेको थियो।
कप्तान रोहित पौडेल पनि १९ बलमा १६ रन बनाउँदै रन आउट भएपछि नेपाल ७ ओभरमा ४५/३ को अप्ठ्यारो स्थितिमा पुगेको थियो।
तर, चौथो विकेटका लागि आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले १०३ रनको अविजित साझेदारी गर्दै टोलीलाई जितको हकदार बनाए।
निकै आक्रामक शैलीमा प्रस्तुत भएका आरिफ शेखले ३७ बलको सामना गर्दै ८ चौका र २ छक्काको मद्दतमा अविजित ६१ रन बनाए।
उनलाई साथ दिएका दीपेन्द्र सिंह ऐरीले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै अविजित ५० रन पूरा गरे। यी दुईले अन्तिम १० ओभरमा युएईका बलरहरूलाई कुनै मौका नदिई खेल नेपालको पक्षमा पारेका थिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। युएईका लागि सोहैब खानले सर्वाधिक अविजित ३८ रन बनाए भने हर्षित कौशिकले ३५ र अर्यान्श शर्माले २५ रनको योगदान दिए।
नेपालका बलरहरूले युएईलाई ठुलो स्कोर बनाउनबाट रोक्न सफल भए। बलिङतर्फ स्पिनर सन्दिप लामिछानेले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए।
त्यस्तै, करण केसीले ३ ओभरमा २६ रन दिँदै २ विकेट हात पारे। ब्याटिङमा चम्किएका दीपेन्द्र सिंह ऐरीले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ३ ओभरमा मात्र १२ रन खर्चेर १ विकेट लिए।
शेर मल्ल, नन्दन यादव र सोमपाल कामीले विकेट लिन नसके पनि कसिलो बलिङ गरे।
प्रकाशित: २० माघ २०८२ २०:२४ मंगलबार





