सुधारिएको ब्याटिङलाई निरन्तरता दिँदै नेपालले आइसिसी टी ट्वान्टी विश्वकपअघि दुई अभ्यास खेलमा जितसँगै सुखद संकेत गरेको छ।
भारतको चेन्नाईमा बिहीबार भएको दोस्रो अभ्यास खेलमा नेपालले क्यानडामाथि ६ विकेटको जित निकाल्दै विश्वकपअघि सुधारिएको ब्याटिङ प्रदर्शन गरेको छ। भारत र श्रीलंकामा संयुक्त रूपमा आगामी फेब्रुअरी ७ देखि आइसिसी टी ट्वान्टी विश्वकप सुरु हुँदै छ।
समूह ‘सी’ मा रहेको नेपालले आफ्नो सबै (चार) खेल मुम्बईको वाङ्खडे स्टेडियममा खेल्दै छ। विश्वकपअगाडि सम्पन्न दुई अभ्यास खेलमा नेपालले सुखद ब्याटिङ गर्दै जित निकालेको छ। नेपालले आगामी फेब्रुअरी ८ तारिखमा इङ्ल्यान्डविरुद्ध खेल्दै आइसिसी टी ट्वान्टी विश्वकपको यात्रा सुरु गर्नेछ। विश्वकपअघि दुई खेलमा सुधारिएको ब्याटिङले नेपालको आत्मबल बढ्नेछ।
यसअघि नेपालले मंगलबार पहिलो अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई पनि सात विकेटले हराएको थियो। युएईले नेपालसामु एक सय ४६ रनको लक्ष्य पाएको थियो। यो खेलमा खराब सुरुआतका बावजुद पनि नेपाली ब्याटरले शतकीय साझेदारी गर्दै जित निकालेका हुन्। यस क्रममा दीपेन्द्रसिंह ऐरी र आरिफ शेख दुवैले अर्धशतक पूरा गरे।
क्यानडासँगको दोस्रो खेलमा पनि नेपाली ब्याटरले सुधारिएको प्रदर्शनमा निरन्तरता दिए। चेपकस्थित चिदाम्बर स्टेडियममा क्यानडाले नेपालसामु एक सय ६२ रनको राम्रो लक्ष्य दियो। यो लक्ष्य नेपालले १८ ओभरमा मात्र चार विकेट गुमाउँदै पूरा गर्यो।
यो खेलमा पनि एउटा अर्धशतक बन्यो। ओपनर आसिफ शेखले अर्धशतकीय इनिङ खेले। उनी ५८ रनमा रिटायर्ड आउट भए। विकेटकिपरसमेत रहेका आसिफले २९ बलमा ६ चौका र तीन छक्का प्रहार गरे। यो खेलमा पनि नेपालले छिट्टै विकेट गुमायो तर आसिफले दोस्रो विकेटका लागि सन्दीप जोरासँग ८४ रनको महत्त्वपूर्ण साझेदारी गर्दै जितको आधार बनाए। सन्दीप ४४ रन बनाएर आउट भए। २.२ ओभरमै ओपनर कुशल भुर्तेल १२ रनमा आउट हुुँदा नेपालको सुरुआत राम्रो हुन सकेन। तर, अर्का ओपनर आसिफले राम्रो साझेदारी गर्दै इनिङ उकासे।
गुलसन झा ३१ रनमा अविजित रहँदै १२ बलअगावै जित दिलाउन सफल भए। उनले २५ बलमा चार चौका प्रहार गरे। दीपेन्द्रसिंह ९ रनमा अविजित रहे। क्यानडाले सात बलर प्रयोग गरे पनि ठूलो चुनौती दिन सकेन। जसकरण सिंह, साद बिन जफर र अजयवीर सिंहले समान एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६१ रनको योगफल बनाएको थियो। १२.१ ओभर सम्म क्यानडा ८१/१ स्थितिमा थियो। यस समय क्यानडा विशाल योगफलतर्फ अग्रसर थियो। यसै ओभरमा कुशल भुर्तेलले दुई विकेट र १४औं ओभरमा सन्दीप लामिछानेले एक विकेट लिँदै क्यानडाको इनिङलाई अंकुस लगाए।
क्यानडाका ओपनर नवनीत धलिवालले सर्वाधिक ४१ रनको योगदान दिए। उनले ३६ बलमा एक चौका र तीन छक्का प्रहार गरे। विकेटकिपर ब्याट्सम्यान श्रेयस मोभा ३८ रनमा नटआउट रहे। उनले १९ बलमा दुई चौका र तीन छक्का प्रहार गरे।
तेस्रो नम्बरमा आएका कनवारपुल ताथगुरले २५ र जसकरणले २१ रन बनाए। जसकरणले ११ बलमा तीन छक्का प्रहार गर्दै थप चुनौती दिने प्रयास गरे। अन्तिम ओभरमा उनको चुनौतीलाई नन्दन यादवले असफल बनाए। नेपालको बलिङमा सन्दीप र कुशलले समान दुई विकेट लिए। सोमपाल कामी र नन्दन यादवको नाममा समान एक विकेट रह्यो। यो खेलमा रोहितकुमार पौडेलको स्थानमा दीपेन्द्रसिंह ऐरीले कप्तानी गरेका थिए।
प्रकाशित: २३ माघ २०८२ ०८:२६ शुक्रबार





