प्रेस काउन्सिल नेपालले निरन्तर ५० वर्षसम्म प्रकाशन भएका पत्रपत्रिकालाई ‘प्रेस काउन्सिल सम्मान’ प्रदान गर्ने भएको छ। धादिङको सल्यानटारमा माघ १७ गते बसेको काउन्सिलको बोर्ड बैठकले निरन्तर ५० वर्षसम्म प्रकाशन भएका पत्रपत्रिकालाई प्रेस काउन्सिल सम्मान प्रदान गर्ने निर्णय गरेको हो।
काउन्सिलले बिहीबार विज्ञप्ति जारी गर्दै यसअघि प्रदान गरिँदै आएका पुरस्कारलाई थप पारदर्शी र प्रभावकारी बनाउन पुरस्कारसम्बन्धी कार्यविधिमा सुधार र परिमार्जन गर्नेनिर्णय गरेको जनाइएको छ।
निर्वाचन आचारसंहिता जागरण अभियान धादिङबाट शुभारम्भ गर्ने निर्णयसहित सुरु गरेको काउन्सिलले जनाएको छ। त्यसअन्तर्गत पहिलो चरणमा सात प्रदेशका प्रमुख सहरमा निर्वाचन आचारसंहिता र मिडिया विषयक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
पत्रकार आचारसंहिता अनुगमनलाई थप प्रभावकारी बनाउँदै बैठकले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्न–गराउन सम्बन्धित सबैमा अपिल गर्ने निर्णय पनि गरेको छ।
बैठकपश्चात् काउन्सिलले माघ १८ गते धादिङबेसीमा कार्यालयका प्रमुख एवं प्रतिनिधि, स्थानीय शैक्षिक एवं सामाजिक संस्थाका प्रतिनिधि, पत्रकार तथा बुद्धिजीवीहरूको सहभागितामा निर्वाचन आचारसंहिता र मिडिया विषयक अन्तरक्रिया कार्यक्रम गरेको पनि जनाएको छ।
प्रकाशित: २३ माघ २०८२ ०७:५२ शुक्रबार





