२८ माघ २०८२ बुधबार
image/svg+xml
खेल

आइसिसी महिला टी ट्वान्टी विश्वकप छनोट: नेपालको ऐतिहासिक जित, सुपर सिक्स सम्भावना जीवित

उपकप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले आइसिसी महिला टी ट्वान्टी विश्वकप ग्लोबल छनोटमा जितसँगै सुपर सिक्सको सम्भावना जीवत राखेको छ।

घरेलु भूमिमा नेपालले आफ्नो तेस्रो खेलमा शनिबार जिम्बाब्वेमाथि ६ विकेटको नतिजा निकाल्दै जारी छनोटमा पहिलो जित आत्मसात गर्‍यो। यससँगै नेपाली महिला टोलीले पहिलोपल्ट टेस्ट राष्ट्रमाथि जित रच्यो। यसअघि नेपाली पुरुष टोलीले वेस्ट इन्डिज र यु–१९ पुरुष टोलीले भारतलाई नै हराइसकेका छन्।

महिला टोलीले पनि ऐतिहासिक जित रच्दै जारी छनोटको सुपर सिक्समा पुग्ने सम्भावना जीवन्त राख्यो। यो सफलतामा नेपालकी उपकप्तान पूजाले एक विकेटसँगै अर्धशतक पूरा गर्दै अलराउन्ड प्रदर्शन गरिन्। उनी प्लेयर अफ दी म्याच पनि भइन्। दुई समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्ने प्रावधान छ।

चार खेलमध्ये नेपाल पहिलो दुई खेलमा पराजित भइसकेको थियो। त्यसैले सुपर सिक्स पुग्न नेपालसामू जिम्बाब्वेविरुद्ध जितको विकल्प थिएन। यसअघि नै तीन खेल गुमाउँदा जिम्बाब्वे सुपर सिक्स होडबाट बाहिरिसकेको थियो।

अफ्रिकी राष्ट्र जिम्बाब्वेले ब्याटिङमा राम्रो गर्न नसके पनि बलिङबाट नेपाललाई निकै चुनौती दियो। यद्यपि, नेपाली ब्याटरले धैर्यपूर्वक ब्याटिङ गर्दै जित दिलाए। त्यसअघि घरेलु बलरले उत्कृष्ट बलिङ गर्दै टेस्ट राष्ट्रलाई कमजोर लक्ष्यमा रोके। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले एक सय ३० रनको सामान्य लक्ष्य पाएको थियो तर नेपालले १९.३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। पूजाले आज जिताउनुपर्छ भन्ने दबाब रहेको र त्यहीअनुरूप सफल पनि भएको बताइन्।

‘दुई खेल हारेका थियौं। आज जित्नैपर्छ भन्ने दबाब थियो र सफल पनि भयौं,’पूजाले भनिन्, ‘दोस्रो खेलमा राम्रो गर्न नसक्दा धेरै दुःखी थिएँ। आज राम्रो गर्छु भन्ने थियो। प्रशिक्षक (नेपालका मुख्य प्रशिक्षक हर्षल पाठक) ले पनि तिमीसँग क्षमता छ, आफ्नो बेस्ट जोन हेरेर खेल भन्नु भयो। त्यहीअनुरूप समालिएर खेलेँ।’

 यसअघिको दुई खेलमा १४५ रनसम्म पुगेकाले सहज रूपमा जित्छौं भन्ने लागेको उनले उल्लेख गरिन्। त्यसैले एक सय ३० रनको लक्ष्य सहजै भेट्टाउँछौं भन्ने आत्मविश्वास रहेको उनी बताउँछिन्। नेपाल पहिलो खेलमा थाइल्यान्डसँग आठ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो। यस समूहबाट नेदरल्यान्ड्सले सुपर सिक्समा स्थान पक्का गरिसकेको छ।

अब थाइल्यान्ड, स्कटल्यान्ड र नेपालमध्ये दुई टोलीको सम्भावना बाँकी छ। नेपालले समूहको अन्तिम खेल सोमबार स्कटल्यान्डसँग खेल्नेछ। यो खेलमा जितले मात्र नेपालका लागि सुपर सिक्समा स्थान बनाउन पर्याप्त हुने छैन। फराकिलो अन्तरले हराउँदै नेट रनरेटमा पनि सुधार गर्न आवश्यक छ। साथै नेपालले नेदरल्यान्ड्ससँग थाइल्यान्डको फराकिलो हार कामना पनि गर्नु पर्नेछ। यद्यपि, प्रशिक्षक पाठकले नेपालको सुपर सिक्समा पुग्ने राम्रो सम्भावना रहेको उल्लेख गर्दै एक दिनको विश्राममा सुधार गर्ने अपेक्षा राखेका छन्। ‘मैले नेट रनरेटबारे हेरेको छैन। तर, हामीसँग समय छ। सुपर सिक्समा पुग्न सक्छौं भन्ने विश्वास छ,’प्रशिक्षक पाठकले भने।

सामान्य लक्ष्य पछ्याए पनि नेपालका ओपनरद्वय विन्दु रावल र सम्झना खड्का सस्तैमा आउट भए। त्यसपछि उपकप्तान पूजा र कप्तान इन्दु बर्माले महत्त्वपूर्ण भूमिका निभाए। अघिल्ला खेलमा चल्न नसकेको भन्दै यी दुई केही आलोचित पनि भएका थिए। कप्तान इन्दुले पनि पूजा र आफूले राम्रो गर्नुपर्ने स्विकार गरेकी थिइन्। तेस्रो खेलमा भने दुवैले महत्त्वपूर्ण इनिङ खेले र तेस्रो विकेटका लागि ३५ रनको साझेदारी बन्यो। जुन जितका लागि महत्त्वपूर्ण आधार बन्यो। प्रशिक्षक पाठकले पूजा र इन्दुबीच साझेदारी हुनु महत्त्वपूर्ण पक्ष रहेको उल्लेख गरे। उपकप्तान पूजा ५२ रनमा अविजित रहिन्। कप्तान इन्दुले २२ रनको योगदान दिइन्। ५० बल खेलेकी पूजाले चार चौका र दुई छक्का प्रहार हिर्काइन्।

ओपनर विन्दु १५ रनमा आउट भइन्। अनुभवी ब्याटर सीता रानामगर ११ रनमा रिटायर्ड हर्ट हुन पुगिन्। जिम्बाब्वेले अतिरिक्त २१ रन खर्चियो। त्यसले पनि नेपाललाई लक्ष्य भेट्टाउन सहज बन्यो। जिम्बाब्वेको बलिङमा जोसिफिन एनकोमोले दुई तथा नोमभोलो सिभान्दा र क्रिस्टाबेल चातोन्ज्वाले समान एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले पूरै ओभरमा ६ विकेटको क्षतिमा एक सय २९ रनको योगफल बनाएको थियो। केली एन्डलोभु ५२ रनमा नटआउट रहिन्। नेपालकी बलर कविता कुँवरले पहिलो ओभरमै चिपो मुगेरलाई ८ रनमा बोल्ड गर्दै राम्रो सुरुआत दिलाइन्।

तर, बिलोभ्ड बिजाले दोस्रो विकेटका लागि मोडेस्टर मुपाचिक्वासँग ४५ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाइन्। ओपनर विलोभ्डले ३४ र मोडेस्टर १४ रनमा आउट भए। अन्य ब्याटरले राम्रो खेल्न सकेनन् तर केलिसले इनिङ समालिन्।

नेपालको बलिङमा रिया शर्माले दुई विकेट लिँदा कविता, पूजा, सीता र रुबिना क्षेत्रीको नाममा समान एक विकेट रह्यो। शनिबारको पहिलो खेलमा स्कटल्यान्डले थाइल्यान्डमाथि पाँच विकेटको जित निकालेको थियो। त्यो नतिजासँगै जिम्बाब्वेको सम्भावना समाप्त भएको हो।

घरेलु भूमिमा नेपालले आफ्नो तेस्रो खेलमा शनिबार जिम्बाब्वेमाथि ६ विकेटको नतिजा निकाल्दै जारी छनोटमा पहिलो जित आत्मसात गर्‍यो। यससँगै नेपाली महिला टोलीले पहिलोपल्ट टेस्ट राष्ट्रमाथि जित रच्यो। यसअघि नेपाली पुरुष टोलीले वेस्ट इन्डिज र यु–१९ पुरुष टोलीले भारतलाई नै हराइसकेका छन्। महिला टोलीले पनि ऐतिहासिक जित रच्दै जारी छनोटको सुपर सिक्समा पुग्ने सम्भावना जीवन्त राख्यो।

प्रकाशित: ११ माघ २०८२ ०६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App