५ आश्विन २०८३ सोमबार
image/svg+xml
खेल

२०औं एसियाली खेलकुद: दुई सेकेन्डले पदकबाट चुक्यो नेपाल

अन्तिम दुई सेकेन्डसम्म स्वर्ण पदकको दौडमा रहेकी एरिका गुरुङको हातबाट पदक मात्र फुत्किएन नेपालको सबैभन्दा बलियो आशा पनि निराशामा परिणत भयो। जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत करातेबाट पदक भित्र्याउने नेपालको आशा पनि त्यही दुई सेकेन्डमा समाप्त भयो।

अन्तिम दुई सेकेन्डसम्म एरिका कम्तीमा रजत पदककै नजिक देखिन्थन्। तर त्यही दुई सेकेन्ड सकिएपछि नतिजा अर्को आयो। जुन अप्रत्यासित र निकै पीडादायी रह्यो। यस्तो नतिजाको अपेक्षा एरिकाले पनि कल्पना गरेकी थिइनन् होला। खेल थियो सेमिफाइनलको। जहाँ १–१ को बराबरीमा रहेकी एरिकाविरुद्ध कजाखस्तानकी विश्व नम्बर एक सोफ्या बेरुल्स्तेभा थिइन्। उनका प्रशिक्षकले अन्तिम दुई सेकेन्ड बाँकी छँदा भिडियो रिप्ले मागे। रिप्लेमा एरिकाविरुद्ध युको प्रमाणित भएपछि सोफ्याले एक अंक पाइन्। बराबरीको अवस्थामा एरिका नै विजेता हुन्थिन्।

एरिकाको स्वर्ण यात्रामा पूर्णविराम लाग्यो। पदक जित्ने अर्को अवसर एरिकासँग बाँकी नै थियो। तर कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा पनि अन्तिम क्षणले नै उनलाई निराश बनायो। साउदी अरेबियाकी मोस्तफा डिनाविरुद्ध ७–५ को अग्रता लिइरहेकी एरिका खेल सकिन १२ सेकेन्ड बाँकी हुँदा इप्पोन (तीन अंक) सामना गर्न पुगिन्। यो नतिजासँगै नेपालको सबैभन्दा ठुलो पदक आशा गरिएकी एरिका पदकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिइन्।

तोयाहासी जिम्नाजियममा आइतबार भएको प्रतिस्पर्धामा एरिकासँगै नेपालका राकेश मानन्धर र मीनबहादुर तामाङ पनि कांस्य पदकको प्रतिस्पर्धामा पराजित भए। तीनै खेलाडी सेमिफाइनलसम्म पुगेका थिए। तर सेमिफाइनलमा पराजित भएपछि कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा पनि उनीहरू सफल हुन सकेनन्।

करातेबाट नेपालले आइतबार पदक जित्ने सबै सम्भावना गुमायो। महिला कुमुते ६८ केजीमुनि एरिकाले क्वार्टरफाइनलमा जोर्डनकी नासिर यारालाई ७–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेकी थिइन्। सेमिफाइनलमा उनको सामना परिचित प्रतिद्वन्द्वी सोफ्यासँग भयो। गत एसियाली खेलकुदको फाइनलमा पनि एरिका सोफ्यासँगै पराजित भएकी थिइन्।

 त्यसयता विश्वस्तरीय प्रतिस्पर्धामा पनि सोफ्या एरिकाका लागि चुनौती बन्दै आएकी थिइन्। एसियाली खेलकुदमा यसपटक एरिकाले त्यही प्रतिद्वन्द्वीविरुद्ध इतिहास बदल्ने अवसर पाएकी थिइन्। अन्तिम दुई सेकेन्डसम्म १–१ को बराबरी कायम थियो। यही स्कोरमा खेल सकिएको भए पहिलो अंक जोडेकै आधारमा एरिका विजेता बन्ने थिइन्। तर सोफ्याको प्रशिक्षकले माग गरेको भिडियो रिप्लेले खेलको दिशा नै बदलिदियो।

युको प्रमाणित भएपछि सोफ्याले अग्रता लिइन् र एरिकाको फाइनल पुग्ने सम्भावना समाप्त भयो। कांस्यका लागि साउदी अरेबियाकी मोस्तफाविरुद्ध भने एरिका लामो समयसम्म बलियो अवस्थामा थिइन्। एक समय  ७–५ को अग्रता लिएकी उनले खेल आफ्नो पक्षमा पार्ने संकेत देखाएकी थिइन्। तर अन्तिम दुई सेकेन्डमा मोस्तफाले इप्पोनबाट तीन अंक जोड्दै एरिकालाई ८–७ ले पराजित गरिन्।

चीनमा भएको १९औं एसियाली खेलकुदमा रजत पदक जितेकी एरिकाबाट यसपटक नेपालले स्वर्णको आशा गरेको थियो। पछिल्लो समय एसियाली खेलकुद, प्रिमियर लिग र एसियन च्याम्पियनसिपमा रजत पदक जित्दै उच्च लयमा रहेकी एरिकाको यात्रा यसपटक भने पदकविहीनमै टुंगिएको छ। नेपाली टोलीका प्रशिक्षक कुशल श्रेष्ठले खेलाडीले अन्तिम सेकेन्डसम्म मिहिनेत गरे पनि नतिजा आफ्नो पक्षमा आउन नसकेको बताए।

उनले तीनैजना खेलाडीको प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गर्दै पदक जित्न नसकेकोमा दुःख व्यक्त गरे। ‘हाम्रा तीनैजना खेलाडीले राम्रै खेलेका थिए। पदकका लागि अन्तिम फाइटसम्म पुग्नु भनेको खेलाडीले नराम्रो खेले भन्न मिल्दैन। जित होस् या हार, सबैमा खेलाडीले अन्तिम सेकेन्डसम्म मिहिनेत गरेका छन्,’ कुशलले भने, ‘कहिलेकाहीं भाग्यले पनि साथ नदिने रहेछ। खेलाडीले मिहिनेत गरेका हुन्। तर नतिजा नै महत्त्वपूर्ण हुन्छ, जसमा हामी चुक्यौं। सबैसँग सरी भन्न चाहन्छु।’

मीन र राकेश पनि चुके

राम्रो सुरुआत गर्दै पदकको सम्भावना देखाएका मीनबहादुर तामाङ र राकेश मानन्धर पनि अन्तिम चरणमा चुके। पुरुष कुमुते ६० केजीमुनि मीनबहादुर र ५५ केजीमुनि राकेशले सेमिफाइनलसम्मको यात्रा तय गरेका थिए तर दुवैले सेमिफाइनलपछि कांस्य पदकको प्रतिस्पर्धा पनि गुमाए।

मीनबहादुर कांस्य पदकका लागि साउदी अरेबियाका अल बसिर बी साउद अब्दुलाजिजसँग २–० ले पराजित भए। त्यसअघि उनले प्रिक्वार्टरफाइनलमा हङकङका हिम चाउलाई ४–१ र क्वार्टरफाइनलमा ताजकिस्तानका मिर्जाजोदा मुहम्मदलाई २–० ले हराएका थिए। उनी एसियाली खेलकुदमा पहिलो खेल जित्ने नेपाली कराते खेलाडी बनेका थिए तर सेमिफाइनलमा मीनबहादुरले कुवेतका साहब अब्दुल्लाहसँग १०–१ को हार बेहोरे। सुरुआती दुई खेलमा देखाएको लय सेमिफाइनलमा कायम राख्न नसक्दा उनको स्वर्ण तथा रजत पदकको सम्भावना सकिएको थियो।

राकेशले पनि पहिलो चरणमा बाई पाएपछि दोस्रो चरणमा थाइल्यान्डका इन्ग्लोय नाथक्रितलाई ९–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका थिए। तर सेमिफाइनलमा उज्बेकिस्तानका खालिमोभ खुमोयुन्मिर्जोसँग ७–० ले पराजित भए। कांस्य पदकका लागि भएको खेलमा पनि मलेसियाका कालियाना सुन्दरमसँग २–० ले पराजित भएपछि उनको पदक यात्रा समाप्त भयो।

नेपालले आइतबार करातेका चारै विधामा पदक जित्न सकेन। व्यक्तिगत काताबाट सानुमाया थिङले नेपालको कराते यात्रा सुरु गरेकी थिइन्। उनी पहिलो चरणमै दक्षिण कोरियाकी चोइ हानसँग ५–० ले पराजित भइन्। पाँचै निर्णायकले चोइको पक्षमा अंक दिएपछि सानुमायाको यात्रा पहिलो चरणमै समाप्त भयो।

नेपालका चार कराते खेलाडीले आइतबार प्रतिस्पर्धा गरे पनि पदक जित्न सकेनन्। एरिकाको हारले नेपाली टोलीलाई ठुलो निराशा दिएको छ। १९औं एसियाली खेलकुदमा रजत जितेकी र यसपटक स्वर्णको मुख्य आशा गरिएकी एरिका अन्तिम दुई सेकेन्डको अन्तरमा फाइनलबाट मात्र होइन पदकबाटै बाहिरिइन्।

प्रकाशित: ५ आश्विन २०८३ ०६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App