वर्षाले प्रभावित आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को खेलमा ओमानले नेपाललाई डकवर्थ लुइस (डिएलएस) पद्धतिका आधारमा १०२ रनले पराजित गरेको छ।
३०६ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ७ विकेट गुमाएर १५५ रन बनाउँदा खेल वर्षाले रोकिएपछि नतिजा डिएलएस स्कोरका आधारमा निकालिएको हो।
३६.५ ओभरको समाप्तिमा वर्षा सुरु भएपछि खेल पुन: सुचारु हुन सकेन।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ५० रनको अर्धशतकीय योगदान दिए पनि अन्य ब्याटरहरू लामो समय क्रिजमा टिक्न सकेनन्। भीम सार्कीले २८ र ओपनर आसिफ शेखले १९ रन जोडे।
कप्तान रोहित पौडेल १० रनमै पभिलियन फर्किए भने कुशल भुर्तेल र बसिर अहमदले समान १–१ रन मात्र बनाए। ओमानका नदीम खानले ३ र शकील अहमदले २ विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रनको बलियो योगफल खडा गरेको थियो।
ओमानका कप्तान जतिन्दर सिंहले ९६ बलमा १३० रनको सानदार शतकीय इनिङ खेलेका थिए। बलिङतर्फ नेपालका सोमपाल कामीले ४ तथा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले २/२ विकेट लिए।
प्रकाशित: १६ वैशाख २०८३ १६:५२ बुधबार





