फाइनलमा बिर्सनलायक ब्याटिङ गरेपछि नेपाली युवा टोली एसिसी यु–१९ प्रिमियर कपमा उपाधिविहीन भएको छ। संयुक्त अरब इमिरेट्स (युएई) मा सोमबार फाइनलमा घरेलु टोलीविरुद्ध बिर्सनलायक ब्याटिङ गरेपछि नेपाली टोली उपाधिविहीन भएको हो।
अपराजित रहँदा फाइनलमा पुगेको नेपाली टोलीले उत्कृष्ट बलिङ गरे पनि ब्याटिङमा खराब प्रदर्शन गर्यो। यससँगै नेपाल फाइनलमा युएईसँग २७ रनले पराजित हुन पुग्यो। नेपाली राष्ट्रिय सिनियर टोलीको मुख्य प्रशिक्षक स्टुआर्ट लकै प्रशिक्षणमा रहेको युवा टोलीले उपाधिविहीन बन्नुपरेको हो। अघिल्लो संस्करणमा नेपाली युवा टोलीले फाइनलमा युएईलाई नै हराएर उपाधि जितेको थियो। तर, यसपल्ट भने ब्याटिङ चल्न नसक्दा युएईले बदला लियो।
नेपाल र युएईसँगै मलेसिया यसै डिसेम्बर १२ देखि २१ सम्म युएईमा नै हुने यु–१९ एसिया कपमा छनोट भए। प्रिमियर कपका शीर्ष तीन टोलीले एसिया कप खेल्ने प्रावधान थियो। नेपाल र युएई आइतबार नै फाइनलमा पुगेसँगै एसिया कपका लागि छनोट भएका हुन्। मलेसियाले भने सोमबार तेस्रो स्थानका लागि ओमानलाई ७४ रनले हराउँदै सफलता प्राप्त गरेको हो।
५० ओभरको यस प्रतियोगितामा नेपालले यसअघि उत्कृष्ट प्रदर्शन गर्दै आएको थियो। तर, फाइनल भने खराब रह्यो। अजमानस्थित कारवान क्रिकेट मैदानमा युएईले एक सय ४८ रनको सामान्य लक्ष्य नै दिएको थियो। तर, खराब ब्याटिङसँगै नेपाली युवा टोली ३३.२ ओभरमा मात्र एक सय २० रनमै अलआउट भयो। लक्ष्य पछ्याउने क्रममा नेपालले खराब सुरुआत गर्यो। १६ रन जोड्दा नेपाल ४ विकेट पतनको अवस्थामा थियो। नीरजकुमार यादव र निश्चल क्षत्री १/१ रन आउट हुँदा वंश क्षेत्री ११ रनमा पभेलियन फर्किए।
दर्श सोनार पनि खाता नखोली आउट भए। तर, पाँचौं विकेटको लागि विकेटकिपर आशिष लुहार र कप्तान अशोक धामीले ४४ रनको साझेदारी गरे। यो नै ठूलो साझेदारी बन्यो। आशिष २५ रनमा आउट भए। कप्तान अशोकले ६६ बलमा सर्वाधिक ४४ रन जोडे। उनले चार चौका हिर्काए। रोशन विश्वकर्मा १६ बलबाट २५ रन बनाए। अन्य ब्याटर चल्न सकेनन् र नेपाल सामान्य लक्ष्य भेट्टाउन असफल भयो। युएईको बलिङमा युगजय शर्मा र अलि असगरले समान तीन लिए।
साथै उद्दिश सुरी र नुरउल्लाह आयोबीले समान दुई विकेट निकाल्दै नेपालको इनिङ धराशयी बनाए। त्यसअघि कारवान मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गर्यो। जुन सही पनि रह्यो र युएई ४५.५ ओभरमा एक सय ४७ रनमा अलआउट भयो। नेपालका बलर दयानन्द मण्डलले पहिलो चार विकेट लिँदै युएईको इनिङ कमजोर बनाए। घरेलु टोली २०/४ को नाजुक अवस्थामा पुग्यो। ओपनर तथा कप्तान यायिन राई दयानन्दको बलमै आउट भए। जानुउल्लाह रेहमानी (५ रन) पनि दयानन्दकै एलबिडब्लु सिकार भए। घरेलु टोलीले सातौं ओभरमा थप दुई विकेट गुमायो।
दोस्रो बलमा ओपनर आयान मिसबाह (११) र पाँचौं बलमा मुहम्मद रायन खानलाई शून्यमा दयानन्दले आउट गरे। पृथ्वी मधु ४ रनमा अशोकद्वारा बोल्ड आउट भए। तर, छैटौं विकेटका लागि अहमद खुदादात र नोरउल्लाहले ५६ रनको साझेदारी गरे। नोरउल्लाह २६ रनमा आउट भए।
खुदादातले ७१ रनको उत्कृष्ट इनिङ खेले। १२६ बल खेल्दै उनले ६ चौका प्रहार गरे। उनलाई पनि दयानन्दले नै आउट गरे। नेपालको बलिङमा दयानन्द नायक बने। उनले ६ ओभरमा मात्र १७ रन दिएर ६ विकेट लिए। तर, उनको त्यो प्रदर्शन पनि नेपालको जितमा पर्याप्त बन्न सकेन। अपराजित पौडेलले दुई तथा अशोक र नीतेशकुमार पटेलले समान एक विकेट आफ्नो नाममा लेखाए।
प्रकाशित: १६ मंसिर २०८२ ०७:४४ मंगलबार





