नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ। बलियो प्रतिद्वन्द्वी इरानसँग बिहीबार ३–० को सोझो सेटमा पराजित हुँदै नेपाल उपाधि होडबाट बाहिरिएको हो।
राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा खचाखच दर्शकको समर्थन रहे पनि नेपालले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। अपराजित इरानले कुनै पनि सेट नगुमाई फाइनलमा स्थान सुरक्षित गर्यो।
पहिलो सेट केही प्रतिस्पर्धात्मक बनेको थियो। तर सर्भिसमा बारम्बार भएको कमजोरीका कारण नेपाल पछि परेको थियो। इरानले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पार्यो।
दोस्रो सेटमा नेपाल झन् दबाबमा देखियो। इरानले खेलमा पूर्ण नियन्त्रण कायम गर्दै सहज रूपमा २५–१५ ले सेट जित्यो र २–० को अग्रता बनायो।
खेलमा टिकिरहन तेस्रो सेट जित्नै पर्ने दबाबमा रहेको नेपालले त्यस सेटमा पनि लय समात्न सकेन। इरानले एकपक्षीय खेल प्रदर्शन गर्दै २५–११ ले तेस्रो सेट जित्यो र फाइनल यात्रा तय गर्यो।
यो नेपाल इरानसँग पराजित भएको दोस्रो अवसर हो। यसअघि २०२४ को काभा महिला च्यालेन्ज लिगको समूह चरणमा नेपाल इरानसँग ३–२ ले पराजित भएको थियो। यद्यपि सोही प्रतियोगिताको सेमिफाइनलमा नेपालले इरानलाई सोझो सेटमा हराउँदै फाइनल पुगेको थियो।
अब उपाधिका लागि इरानले काजकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। बिहीबार भएको पहिलो सेमिफाइनलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७ र २५–१४ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
फाइनल खेल शुक्रबार हुनेछ। यसअघि समूह चरणमा इरानले काजकिस्तानलाई पनि सोझो सेटमा हराएको थियो।
प्रकाशित: १४ जेष्ठ २०८३ १९:५३ बिहीबार





