२२ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

युएईविरुद्ध ब्याटिङमा उत्रियो नेपाल

आइसीसी टी-२० विश्वकप एसिया छनोटको सुपर-६ अन्तर्गतको पहिलो र रोमाञ्चक खेलमा नेपालले आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी युएईविरुद्ध ब्याटिङ थालेको छ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा टस जितेर कप्तान रोहित पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रिजमा उत्रिएका छन्।

विश्वकप २०२६ मा स्थान बनाउने लक्ष्य राखेको नेपालका लागि यो खेल निकै महत्त्वपूर्ण छ। युएईलाई आजको खेलमा पराजित गर्न सके नेपालको छनोट यात्रा सहज हुनेछ। अन्यथा आगामी खेलहरूमा चर्को दबाब झेल्नुपर्नेछ।

नेपालले आजको महत्त्वपूर्ण खेलका लागि आफ्नो विजयी टोलीमा कुनै परिवर्तन गरेको छैन। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको प्लेइङ-११ लाई नै निरन्तरता दिइएको छ।

नेपाली टोली: कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललितनारायण राजवंशी।

समूह ‘बी’ मा कुवेत र जापानलाई हराउँदै समूह विजेता बनेर सुपर-६ मा प्रवेश गरेको नेपालले २ अंक बोकेर यात्रा सुरु गरेको छ।

सुपर-६ को नियमअनुसार, नेपालले अब अर्को समूहबाट आएका चार टोलीसँग खेल्नेछ। युएईपछी नेपालले कतार, ओमान र सामोआको सामना गर्नेछ।

सुपर-६ को अन्त्यमा शीर्ष तीनमा रहन सक्ने टोलीले भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने २०२६ को टी-२० विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछ।

नेपाली टोली लगातार दोस्रो पटक विश्वकप खेल्ने ऐतिहासिक अवसरको खोजीमा छ।

प्रकाशित: २६ आश्विन २०८२ १६:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App