नेपाली राष्ट्रिय क्रिकेट टोली र भारत ‘ए’ बीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)बीच भएको सहमतिअनुसार सिरिज आगामी मंसिरमा काठमाडौंमा सञ्चालन हुनेछ।
क्यानका अनुसार स्कटल्यान्डमा आयोजित अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का तथा बीसीसीआईका सचिव देवजित सैकियाबीच भएको भेटवार्तापछि सिरिज आयोजना गर्ने निर्णय गरिएको हो।
सिरिजका सबै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्। पहिलो खेल मंसिर २३ (डिसेम्बर ९), दोस्रो खेल मंसिर २५ (डिसेम्बर ११) र तेस्रो तथा अन्तिम खेल मंसिर २७ (डिसेम्बर १३) मा खेलाइने क्यानले जनाएको छ।
नेपाल र भारत ‘ए’बीच पहिलो पटक आयोजना हुन लागेको यो टी–२० सिरिजले नेपाली टोलीलाई उच्चस्तरीय प्रतिस्पर्धात्मक अनुभव दिलाउने अपेक्षा गरिएको छ। साथै, आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि पनि सिरिजलाई महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
प्रकाशित: २६ असार २०८३ १९:४४ शुक्रबार



-600x400.jpg)

