नेपाल ‘ए’ १२औं नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनसिपको टिम स्पर्धामा स्वर्ण पदक जित्न सफल भएको दिन व्यक्तिगत स्पर्धामा पनि सद्भाव आचार्यले चुनौती जारी राखेका छन् ।
गोकर्ण गल्फ क्लबमा बिहीबार सद्भाव र राहुल विश्वकर्माको जोडीले भारतीय जोडीले तरुण सरदेशाई एकेडेमीलाई हराउँदै स्वर्ण जितेको हो । साबिक विजेता सद्भाव र राहुलको जोडीले १३ अन्डर २ सय ७५ को उत्कृष्ट प्रदर्शन गरे । भारतीय टोली १९ स्ट्रोकले पछि रह्यो । भारतकै तरूण सरदेशाई एकेडेमी दोस्रो र श्रीलंका तेस्रो भए ।
भारतका प्रिन्स बैंन्सला र भिभान उभायाकारको जोडीले ६ ओभर २ सय ९४ को स्कोर बनाए । श्रीलंकाका के दानुसा र चनाका परेराको जोडीले आठ ओभर २ सय ९६ स्कोर गरे । भुटान चौथो, बंगलादेश पाँचौं र नेपाल ‘बी’ छैटौं स्थानमा खुम्चिए । व्यक्तिगत विधामा पनि नेपालका सद्भावले अग्रता बनाएका छन् । उनले दोस्रो दिन ६ अन्डर ६६ को कार्ड बनाए ।
उनको बोगीरहित प्रदर्शन रह्यो । यससँगै समग्रमा उनी ९ अन्डर १ सय ३५ को स्कोरमा शीर्ष स्थानमा रहेका हुुन् । सदभावले फ्रन्ट र ब्याक दुवै तीन अन्डर ३३ मा सकाए । उनले पहिलो तेस्रो र पाँचौ होलमा बर्डी प्रहार गरे । यसपछि १२औं, १५औं र १८औं होलमा पनि एक–एक सट बचाए । दोस्रो स्थानमा पनि नेपालकै राहुल विश्वकर्मा छन् । उनी पाँच स्ट्रोकले पछि छन् ।
राहुले बिहीबार पाँच अन्डर ६७ को कार्ड बनाए । यससँगै उनी समग्रमा चार अन्डर १ सय ४० स्कोर बटुल्न सफल भए । राहुले दोस्रो होलमा बोगी खेपे । तेस्रो र सातौं होलको बर्डीले फ्रन्ट नाइन एक अन्डर ३५ खेले ।
ब्याक नाइनमा उत्कृष्ट प्रदर्शनका साथ १०औं, ११औं, १४औं र १८औं होलमा बर्डीको सफलता प्राप्त गरे । ब्याक नाइनमा चार अन्डर ३२ को उत्कृष्ट प्रदर्शन गरे । भारतका भिभान समग्रमा तीन अन्डर १ सय ४१ सहित तेस्रो स्थानमा छन् । उनले तीन अन्डर ६९ मा दोस्रो दिनको खेल सकाए । भारतका निखिल पाण्डे समग्रमा दुई अन्डर १ सय ४२ को स्कोरमा चौथो स्थानमा छन् । उनले बिहीबार एक ओभर ७३ को कार्ड बनाए ।
श्रीलंकाका के दानुसा पाचौं स्थानमा छन् । उनले चार ओभर ७६ को स्कोरसहित समग्रमा एक ओभर १ सय ४५ को कार्ड बटुले । भुटानका डेचेन लेन्डुपले दुई ओभर ७४ सहित समग्रमा दुई ओभर १ सय ४६ को स्कोरमा छैटौं स्थानमा रहे ।
भारतका निलोफर शिवमुर्ती, नेपालका तेन्जिङ छिरिङ, नोर्बु छिरिङ शेर्पा र बंगलादेशका मोहम्मद सरिफ (समग्रमा तीन ओभर १४७) ले संयुक्त रूपमा सातौं स्थान बाँडे । निलोफोर, तेन्जिङ र नोर्बुले समान एक ओभर ७३ मा खेल सकाए । मोहम्मदले दुई ओभर ७४ को कार्डमा खेले । भीभानले फ्रन्ट नाइन इभन पार ३६ खेले । पहिलो, तेस्रो र चौथो होलमा बर्डी प्रहार गर्दा दोस्रो, सातौं र आठौं होलमा समा एक सट खेर फाले । उलने दशौं, ११औं र १८औं होलको बर्डीले ब्याक नाइन ३–अन्डर ३३ मा सकाए । ३६ होलको समाप्तीमा (२१ ओभर १ सय ६५ स्कोर) कुल ३१ खेलाडीले कट बनाएका छन् ।
महिलामा तारा कार्की चित्रकार समग्रमा १३–ओभर १ सय ५७ सहित शीर्षस्थानमा रहिन् ।
उनले बिहीबार ९ ओभर ८१ को प्रदर्शन गरिन् । उनले अन्तिम १८ होलको खेल बाँकी छँदा सम्झना खत्रीलाई १४ स्ट्रोकले पछि पारेकी छिन् । १४–ओभर ८६ सहित समग्रमा २७–ओभर २ सय ७१ सहित सम्झना दोस्रो स्थानमा छिन् । अभानी राईले २१–ओभर ९३ को प्रदर्शन गर्दा समग्रमा ३० ओभर १ सय ७४ सहित तेस्रो स्थानमा रहिन् । महिलामा भारतकी नयोनिका कपुर तथा नेपालका सुष्मा सिग्देल र अन्जिला योन्जनले पनि कट बनाए । यु–१७ तर्फ भारतका भीभान उभायाकारले समग्रमा ३–अन्डर १ सय ४१ सहित ६ स्ट्रोकको अग्रता बनाएका छन् ।
उनले बिहीबार तीन अन्डर ६९ मा खेल सकाए । भारतकै निलोफर शिवमुर्ती समग्रमा ३–ओभर १ सय ४७ सहित दोस्रो स्थानमा छन् । उनले बिहीबार एक ओभर ७३ को कार्ड बनाए । भारतकै प्रिन्स बैंन्सला ९ ओभर १ सय ५३ को स्कोरमा तेस्रो स्थानमा रहे। उनले दोस्रो दिनको खेल चार ओभर ७६ मा पूरा गरे ।
प्रकाशित: १४ जेष्ठ २०८३ २०:४५ बिहीबार





