राष्ट्रिय विद्यालय खेलकुद महासंघ, नेपाल, इन्टरनेसनल इभेन्ट्स प्रालि र प्याब्सनको संयुक्त आयोजनामा राष्ट्रिय विद्यालय खेलकुद तथा शैक्षिक हाजिरी जबाफ प्रतियोगिता हुने भएको छ।
सात प्रदेश र काठमाडौं उपत्यकाका एक गरी आठ टोलीको सहभागितामा मंसिर ५ देखि ७ गतेसम्म काठमाडौंमा उक्त प्रतियोगिता हुन लागेको हो। सबै विद्यालयलाई खुला गरिएको प्रतियोगिताको ग्रान्ड फिनालेअघि ७७ जिल्ला र ७ प्रदेशमा छनोट प्रतियोगिता हुने विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले जानकारी दिए।
जिल्ला छनोट भदौ २० गते तथा प्रदेश छनोट कात्तिक १६ देखि २३ गतेसम्म हुनेछ। प्रतियोगिता सञ्चालन विधि, नियम, प्रश्न, प्राविधिकलगायतका कार्य आइएसएफ एकेडेमी नेपालले गर्ने भएको छ।
शिक्षा, खेलकुद, सहभागिता र सिर्जनशीलतामा अब इतिहास बनाउने यात्रा नारासहित हुन लागेको प्रतियोगिताअन्तर्गत पुरुष/महिला विजेताले स्कुटर, उपविजेताले ल्यापटप र तेस्रो हुनेले मोबाइल फोनसहित गिफ्ट ह्याम्पर पाउनेछन्। प्रतियोगिता सञ्चालन गर्न प्रोडक्सन खर्चबाहेक एक करोड २४ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ। संघीय सांसद समेत रहेका महासंघका वरिष्ठ उपाध्यक्ष माधव सापकोटाले प्रतियोगिता राष्ट्रिय सम्पत्तिका रूपमा रहेका विद्यार्थीको प्रतिभा पहिचान गर्न सहयोग पुग्ने बताए।
महासंघका अध्यक्ष विनोद श्रेष्ठले महासंघको अभियानमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे। महासचिव कार्कीले विद्यार्थीमा खेलकुदबारे अझ रुची बढाउन कार्यक्रम फलदायी हुने बताए।
भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल समेत रहेका प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले महासंघले प्याब्सनसँग सहकार्य गरी कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए। नेपालयाका अध्यक्ष सुवास प्रधानले यो प्रतियोगिता इभेन्ट मात्र नभई विद्यार्थीको महोत्सव पनि भएको बताए। महासंघ र नेपालयाबीच यो प्रतियोगिता आयोजना गर्न सम्झौतापत्रमा हस्ताक्षर पनि भएको थियो।
प्रकाशित: २४ श्रावण २०८२ ०६:४६ शनिबार





