जुम्लाको नेपाली सेनाको टुडिखेल मैदान बिहीबार बालबालिकाको हर्षोल्लासले भरिएको थियो। विद्यालयका झण्डा, शिक्षकहरूको उत्साह र सयौं फुटबलको बीचमा त्यो दिन केवल खेलको होइन, परिवर्तनको उत्सव बनेको थियो।
अखिल नेपाल फुटबल संघ (एन्फा) र जुम्ला जिल्ला फुटबल संघको सहकार्यमा, फिफा ‘फुटबल फर स्कुल’ कार्यक्रम अन्तर्गत पहिलोपटक जुम्लाका २५ विद्यालयलाई ६ सय २५ वटा फुटबल वितरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले पहिलो बल हस्तान्तरण गर्दै भने,‘हामी विद्यालयमा फुटबल पुर्याउँदैछौं ताकि खेल पढाइसँगै जीवन सिकाउने माध्यम बनोस्। फुटबल केवल खेल होइन, यो चरित्र निर्माणको प्रक्रिया हो।’
त्यो क्षण, टुडिखेलमा उपस्थित बालबालिकाका आँखामा बल होइन, भविष्य चम्किरहेको थियो।
फिफाको ‘फुटबल फर स्कुल’ कार्यक्रम
एन्फा ग्रासरुट हेड कोच पंकज शाहीका अनुसार फिफाको यो कार्यक्रम अन्तर्गत कर्णालीका १० जिल्लाका ६५ विद्यालयमा फुटबल वितरण गरिँदैछ, जसमा सबैभन्दा बढी जुम्लाका विद्यालयहरू परेका छन्।

जुम्ला जिल्ला फुटबल संघका अध्यक्ष भरत बहादुर बुढ्थापा भने, ‘यो केवल बल वितरण होइन, यो परिवर्तनको सुरुवात हो।’
उनका अनुसार, तिला, तातोपानी, चन्दननाथ, गुठिचौर र पातारासी गाउँपालिकाका २५ वटा माध्यमिक, निम्न माध्यमिक र आधारभूत विद्यालयलाई फुटबल वितरण गरिएको हो।
माध्यमिक विद्यालयलाई २५, निम्न माध्यमिकलाई १०–१५ र आधारभूत विद्यालयलाई ५–७ वटा बल दिइएका छन्।
केल्मी ब्रान्डका प्रति बल पाँच हजार ५०० रुपैयाँ मूल्यका दरले ३४ लाख ३७ हजार ५ सय रुपैयाँ बराबरका फुटबल नि:शुल्क वितरण गरिएको उनले जानकारी दिए।

जुम्लाका विद्यालयहरूमा पहिले एउटा फुटबल वर्षौंसम्म खेलिन्थ्यो। फुटेको बल रबरले टाँसिन्थ्यो, धागोले सिउँथिन्थ्यो। तर अहिले ती बालबालिकाको हातमा नयाँ चम्किला बल छन् । आशा र आत्मविश्वासका प्रतीक केल्मी बनेका छन् ।
स्थानीय नेतृत्वको प्रतिबद्धता

चन्दननाथ नगरपालिकाकी उप–प्रमुख रामदेवी खड्काले भनिन्,‘जुम्ला अब खेलमैदानको अभावमा सीमित छैन। नगरपालिकाले सहरी विकास परियोजनासँग सहकार्य गरेर रंगशाला निर्माणको अन्तिम चरणमा पुगेको छ। अब छ महिनामा हामी आफ्नै रंगशालामा प्रतियोगिता आयोजना गर्नेछौं।’
एन्फा प्रशिक्षक महेश बुढ्थापाका अनुसार, ‘हामीसँग उत्साह र प्रतिभा त छ, तर खेल्न ठाउँ छैन।’ तर उनी आशावादी छन् । उनले भने, ‘फुटबल जुम्लाको पहिचान बन्न थालेको छ। अब पूर्वाधार पनि आउँछ। खेलाडीहरू त यहाँ हरेक गल्लीमा छन्।’

विद्यालयमा खेलको संस्कार
स्थानीय शिक्षकहरूका अनुसार, फुटबल आएपछि विद्यार्थीहरूको विद्यालयमा रुचि बढेको छ। ‘पहिले विद्यार्थीहरू खेलमा चासो देखाउँदैनथे, अब बिहानै आइपुग्छन् र भन्छन्, ‘सर, बल कहाँ छ?’’ अब विद्यालयका आँगनमा धूलोमात्र होइन, खुशी उड्छ। फुटबलले बालबालिकामा आत्मविश्वास, सहकार्य र अनुशासन सिकाउँदै जुम्लालाई फेरि जोड्न थालेको छ।
कार्यक्रममा प्रदेशसभा सदस्य देवेन्द्र बहादुर शाही र जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्य पनि सहभागी थिए।

प्रकाशित: १३ कार्तिक २०८२ १८:३० बिहीबार





