मित्रश्री विद्यालय भक्तपुरमा सम्पन्न एकदिने प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पीड च्याम्पियनसिप शनिबार पहिलो भएको छ।
भक्तपुरको गुण्डुस्थित काठमाडौ वल्र्ड स्कुलमा सम्पन्न प्रतियोगितामा मित्रश्री प्रथम, जनप्रेमी विद्यालय दोस्रो र शिवर्ड विद्यालय तेस्रो हुँदै ट्रफी जित्न सफल रहे। प्रतियोगितामा जुनियर तथा सिनियर विद्याका खेलाडीको सहभागिता रहेको थियो।
डाइनामिक स्केट क्लब भक्तपुर तथा नेपाल स्केटिङ तथा स्के बोर्डिङ संघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा तीन वटा विद्यालयबाट दुई सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए। तीन सय मिटर दूरीको खेलमा ६÷६ वटा महिला तथा पुरुषतर्फ खेल भएका थिए।
प्रतियोगितामा ६ देखि ८ वर्ष, ८ देखि १०, १० देखि १२, १२ देखि १४, १४ देखि १६ र १६ देखि १८ वर्ष उमेसमूहका खेलाडीले स्केटिङ स्पीड च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए। तीमध्ये ३६ जनाले टिम प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गरेर मेडल तथा प्रमाणपत्र प्राप्त गरे।
राष्ट्रिय खेलकुदका परिषद् (राखेप) का पूर्वसदस्यसचिव टंकलाल घिसिङले स्केटिङ खेल निकै लोकप्रिय हुँदै गएकोले ओलम्पिकमा छनोट हुने सम्भावना रहेको चर्चा गरेका थिए। ओलम्पिकमा छनोट हुने सम्भावना रहेकाले यो खेलको विकासका लागि विद्यार्थी र अभिभावकले ध्यान दिनुपर्ने उनको धारणा थियो। कार्यक्रममा क्लबका अध्यक्ष रोजन भासिमाको सभापतित्वमा भएको थियो।
विजेताहरुलाई राखेपका पूर्वसदस्यसचिव घिसिङ, प्रमुख प्रशिक्षक दिलीपराज बराल, संघका अध्यक्ष अच्यूत खनाल, महासचिव सत्य थापा, स्केटका ब्राण्ड एम्बास्डर सञ्जु श्रेष्ठ, काठमाडौं वर्ल्ड स्कुलका निर्देशक डा. विद्या अधिकारी र निर्देशक यांकिला लामालगायतले मेडल, ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए।
प्रकाशित: १ चैत्र २०८२ ०९:१२ आइतबार





