नेपालका उच्च बाह्य बसाँइसराइ भएको जिल्ला रामेछापमा वैदेशिक रोजगारीले ग्रामीण समाज र अर्थतन्त्रमा गहिरो प्रभाव पारिरहेको देखिएको छ।
जिल्लाको मन्थली र रामेछाप नगरपालिकामा गरिएको एक अध्ययन अनुसार यी ठाउँका कम्तीमा २४ प्रतिशत घरपरिवारका एक सदस्य वैदेशिक रोजगारीमा संलग्न छन्। सीमित स्थानीय रोजगारी अवसर शून्य प्राय: औद्योगिक विकास र खडेरीका कारण कृषि उत्पादनको सीमितताका कारण वैदेशिक रोजगारी ग्रामीण परिवारका लागि महत्वपूर्ण आयस्रोत बनेको एक अनुसन्धानले देखाएको छ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत जनसंख्या अध्ययन केन्द्रीय विभाग (सिडिपिएस) को दर्शनशास्त्र (एम.फिल.) को शोधपत्र अनुसन्धानका क्रममा शोधार्थी चेतनाथ अधिकारीले रामेछाप जिल्लामा श्रम बसाइँसराइ, रेमिट्यान्सको उपयोग र घरपरिवारको कल्याणबीचको सम्बन्धलाई उजागर गरेका हुन्।
नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा रेमिट्यान्सको योगदान करिब २८ प्रतिशत रहेको भए पनि यसले घरपरिवारको जीवनस्तरमा पार्ने वास्तविक प्रभाव बुझ्न सूक्ष्म स्तरमा अध्ययन आवश्यक रहेको अधिकारीले बताएका छन्। सोही विषयमा बुझ्न उनले रामेछापको मन्थली र रामेछाप नगरपालिकामा गत भदौमा २ सय ६० घरपरिवार ३१ वटा प्रश्नावलीसहित अध्ययन गरेका थिए।

अधिकारीका अनुसार नेपालमा विदेश गएका मध्ये औषतमा एक घरले ३२ हजार ३ सय ३८ रुपैयाँ रेमिट्यान्स प्राप्त गर्दछन्। तर रामेछापमा राष्ट्रिय औषतभन्दा कम मात्र रेमिट्यान्स प्राप्त गर्ने परिवारको संख्या ठूलो छ। जस अनुसार मन्थली नगरपालिकाका ७०.८ र रामेछापका ८६.९ प्रतिशतले औषतभन्दा कम मात्र रेमिट्यान्स प्राप्त गर्दछन्। तर मन्थलीका २९.२ र रामेछापका १३.१ प्रतिशत रेमिट्यान्स रिसिभरले राष्ट्रिय औषतभन्दा बढी रकम प्राप्त गरिरहेका छन्। जातिगत हिसाबले बाहुन क्षेत्रीका ६२ घरले राष्ट्रिय औषतभन्दा कम र २२ घरले बढी रेमिट्यान्स प्राप्त गरिरहेका छन्। यस्तै जनजातिका ११९ घरले औषतभन्दा कम र ३० घरले औषतभन्दा बढी रेमिट्यान्स प्राप्त गरिरहेका छन्।
अधिकारीका अनुसार वैदेशिक रोजगारीमा जानुपूर्व दैनिक ज्यालादारी गर्नेहरुले पठाउने रेमिट्यान्स अन्य पेशाका संलग्न भएकाहरूको भन्दा बढी छ। उनीहरू मध्ये ३३.३ प्रतिशतले राष्ट्रिय औषतभन्दा बढी नै रेमिट्यान्स घरमा पठाउने गरेका छन्। कृषि पेशामा संलग्नहरू मध्ये १८.४ प्रतिशतले मात्र राष्ट्रिय औषतभन्दा बढी रेमिट्यान्स पठाउने गरेका छन्। वैदेशिक रोजगारी जानुपूर्व व्यापारमा संलग्नहरू मध्ये पनि २९.४ प्रतिशतले राष्ट्रिय औषतभन्दा बढी रेमिट्यान्स पठाउने गरेका छन्।
अनुसन्धानका अनुसार रेमिट्यान्स ग्रामीण परिवारका लागि आर्थिक ‘जीवनरेखा’ जस्तै बनेको छ। अध्ययनमा सहभागी ५९.६ प्रतिशत घरपरिवारले मासिक रूपमा रेमिट्यान्स प्राप्त गर्ने गरेका छन्। ६६.९ प्रतिशत शिक्षा र अन्य सेवा खर्चमा जाने गरेको छ।
प्राप्त रेट्यिान्स मध्ये ७३.५ प्रतिशत अर्थात १ सय ९१ परिवारले दैनिक उपभोगमा खर्च गर्ने गरेका छन्। उत्तरदाता मध्ये ३५.८ प्रतिशत अर्थात ९३ घरपरिवारले रेमिट्यान्सलाई घरजग्गा खरिदमा पनि खर्च गरेको बताएका छन्। उत्पादनमूलक क्षेत्रमा रेमिट्यान्सको उपयोग एकदम न्यून देखिएको छ। केवल १३ घरपरिवारले रेमिट्यान्सबाट आएको पैसाले नयाँ व्यापार थालेको बताएका छन्। ४३.५ प्रतिशतले विदेश जाँदा लागेको ऋण तिर्न रेमिट्यान्सको खर्च गरेको बताएका छन्। रेमिट्यान्सलाई स्वास्थ्य विमामा प्रयोग गर्ने परिवारसंख्या पनि उल्लेख्य रहेको छ। जस अनुसार ४५.८ प्रतिशतले यो प्रयोजनका लागि रेमिट्यान्सको प्रयोग गर्ने गरेका छन्।
रेमिट्यान्सलाई बचतको रूपमा प्रयोग गर्नेहरू ६८ प्रतिशत रहेका छन्। ‘आर्थिक आम्दानीका अन्य क्षेत्र नहुँदा रेमिट्यान्स नियमित आम्दानीको स्रोत देखिएको छ,’ अधिकारी भन्छन्, ‘यसले घरको गर्जो मात्र टारेको हैन कि गाउँको गाउँको इकोनमिक लाइफलाइनको रूपमा भरथेग भएको छ।’ रेमिट्यान्स अस्थायी आम्दानीको स्रोत भएकाले यसको सदुपयोगबाट स्थायी स्रोतमा रुपान्तरण गर्नुपर्ने उनले बताएका छन्। यसका लागि स्थानीय सरकारको उत्पादनमूलक क्षेत्रमा रेमिट्यान्सको सदुपयोग सम्बन्धी नीति हुनुपर्ने उनको सुझाव छ।
मध्यपूर्व प्रमुख गन्तव्य
अध्ययनमा समेटिएका सबै घरपरिवारका कम्तीमा एक सदस्य विदेशमा काम गरिरहेका छन्। तीमध्ये अधिकांश पुरुष आप्रवासी ६१.२ प्रतिशत रहेका छन्। गन्तव्यका रूपमा मध्यपूर्व सबैभन्दा प्रमुख ४७.७ प्रतिशत रहेको छ भने जापान २३.७ प्रतिशत र दक्षिण कोरिया ६ प्रतिशत गएका छन्।
अध्ययनले विशेषगरी जापानतर्फ महिला आप्रवासीको उपस्थिति उल्लेखनीय रहेको देखाएको छ। बसाइँसराइअघि अधिकांश युवाहरू (५८.५) प्रतिशत कृषि पेशामा संलग्न थिए।
आर्थिक सुधार तर सामाजिक चुनौती
अध्ययनले वैदेशिक रोजगारीपछि अधिकांश घरपरिवारको आर्थिक अवस्थामा सुधार आएको देखाएको छ। सर्वेक्षणमा सहभागी ७३.१ प्रतिशत परिवारले विगत पाँच वर्षमा आफ्नो जीवनस्तर राम्रो भएको बताएका छन्। तर वैदेशिक बसाइँसराइका सामाजिक प्रभाव पनि देखिएका छन्। करिब ३८.१ प्रतिशतले परिवारका सदस्यहरू अलग हुनु ठूलो समस्या भएको बताएका छन्। खासगरी वैदेशिक रोजगारीमा हुनेका श्रीमतीले एक्लो महसुस गर्ने, बच्चाहरूले असुरक्षित महसुस गर्ने, कृषि क्षेत्रमा महिला र वृद्धवृद्धाको जिम्मेवारी बढेको देखिएको छ।
अध्ययन अनुसार घरमा काम गर्न सक्ने युवा वैदेशिक बसाँइसराइ गर्दा रेमिट्यान्समा निर्भरता बढेको छ। जसका कारण ५४.६ प्रतिशत घरपरिवारमा कृषि उत्पादनमा कमी आएको देखिएको छ।
वैदेशिक रोजगारीले घरपरिवारको निर्णय प्रक्रियामा भने महिलाको पहुँच बढाइरहेको देखिएको छ। तथापी ४९.६ प्रतिशत परिवारमा पुरुषले आर्थिक निर्णय गर्ने गरे पनि ४३.१ प्रतिशत महिलाले रेमिट्यान्सको प्रयोगबारे निर्णय लिन थालेका छन्।
प्रकाशित: १ चैत्र २०८२ ११:५८ आइतबार





