भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठित कार्की आयोगको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी अभियन्ताहरू आज सडकमा उत्रिने भएका छन्।
‘गौरीबहादुर कार्की आयोगको पूरा प्रतिवेदन खोइ सरकार?’ भन्ने सन्देशसहित सामाजिक सञ्जालमार्फत माइतीघरमा भेला हुन आह्वान गरिएको हो।
जेनजी अभियन्ताहरूको नेतृत्वमा हुने उक्त प्रदर्शन आज दिउँसो १ बजे माइतीघरमा भेला भएर सुरु गरिने कार्यक्रम तय भएको छ। प्रदर्शनकारीहरूले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न र त्यसलाई कार्यान्वयनमा लैजान सरकारलाई दबाब दिने योजना बनाएका छन्।
आयोजकका अनुसार कार्यक्रममा सहभागीहरूले प्लेकार्ड बोकेर शान्तिपूर्ण धर्ना दिनेछन्। जेनजी आन्दोलनका अभियन्ताहरूले आजदेखि सरकारलाई दबाब दिने विभिन्न कार्यक्रम सुरु हुने बताएका छन्।
सरकारले गत भदौ २३ र २४ गते भएको विद्रोहको निष्पक्ष छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले २४ फागुनमा आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको भए पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन।
प्रतिवेदन सार्वजनिक नभएको र कार्यान्वयनमा नआएको भन्दै तुरुन्त सार्वजनिक गरी कार्यान्वयनमा लैजान दबाब दिन प्रदर्शन आयोजना गरिएको आयोजकहरूले बताएका छन्।

प्रकाशित: १ चैत्र २०८२ १२:०७ आइतबार





