३१ असार २०८३ बुधबार
image/svg+xml
खेल

फेरिएको मेसीको शैली

सन् १९६२ यता पहिलोपल्ट विश्वकप उपाधि रक्षा गर्ने टोली अर्जेन्टिना भएमा त्यसको केन्द्रमा एकपटक फेरि लियोनेल मेसी नै हुनेछन्।

३९ वर्षीय मेसीको यो आफ्नो करियरको छैटौं विश्वकप हो, जहाँ उनी एकपल्ट विश्वकप उपाधि विजेताका सदस्य पनि भइसके। अहिले फेरि उनी लगातार दोस्रो विश्वकपनजिक देखिन्छन्। आठ गोल र तीन असिस्ट गर्दै मेसीले यस विश्वकपका उत्कृष्ट खेलाडीमध्ये एकका रूपमा आफूलाई स्थापित गरेका छन्। उनी गोल्डेन बुट दौडमा पनि अग्रस्थानमा छन्।

बार्सिलोनाबाट उदाएका तीव्र गतिका विंगरजस्तो भने अहिले मेसी देखिदैनन्। उमेरसँगै उनले आफ्नो खेल्ने शैलीलाई परिवर्तन गर्दै नयाँ भूमिका अपनाएका छन्। उनी कम दौडिन्छन्, बढी खेल पढ्छन् र निर्णायक क्षणमा खेलको दिशा बदल्ने क्षमता देखाउँछन्। यस विश्वकपमा सबैभन्दा धेरै अवसर सिर्जना गर्ने र सबैभन्दा बढी प्रहार गर्ने खेलाडीमध्ये उनी स्थापित छन्। तथ्यांकले पनि मेसीको नयाँ शैलीलाई पुष्टि गर्छ।

उनले मैदानमा कभरेज गरेको दूरीको झन्डै आधा भाग हिँडेरै पूरा गरेका छन्। प्रतिखेल स्प्रिन्टको संख्या पनि अघिल्ला विश्वकपको तुलनामा निकै घटेको छ तर उनको प्रभाव भने घटेको छैन। विश्वकपको पछिल्ला १५ खेलमध्ये पोल्यान्डविरुद्धको एक खेलबाहेक सबैमा उनले गोल गरेका वा असिस्ट दिएका छन्।

बार्सिलोनामा पेप ग्वार्डिओलाको आगमनसँगै मेसीको खेलजीवनमा ठूलो परिवर्तन थियो। सुरुआतमा दायाँ विंगमा खेल्ने उनी ग्वार्डिओलाको योजनाअनुसार ‘फल्स नाइन’ भूमिकामा रूपान्तरित भए। यस परिवर्तनले युरोपेली फुटबलको रणनीतिक सोच नै बदलिदियो। विपक्षी टोलीका रक्षकहरू उनलाई कसरी रोक्ने भन्ने अन्योलमा पर्थे। मेसीले त्यसको भरपूर फाइदा उठाए। जाभी र आन्द्रेस इनिएस्टाजस्ता मिडफिल्डरले क्लब छाडेपछि मेसीले फेरि आफूलाई परिवर्तन गरे।

उनी गोलकर्ता मात्र नभई टोलीको मुख्य खेल निर्माता बने। त्यसपछि उनका असिस्टको संख्या उल्लेखनीय रूपमा बढ्यो। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेपछि त पहिलोपटक उनले गोलभन्दा बढी असिस्ट गर्ने खेलाडीको नयाँ परिचय बनाए। अर्जेन्टिनाको कप्तानका रूपमा भने उनको यात्रा सजिलो रहेन।

२०१४ को विश्वकपसँगै २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा लगातार हार बेहोरेपछि उनी तीव्र आलोचनाको केन्द्रमा रहे। यही दबाबकै कारण उनले राष्ट्रिय टोलीबाट संन्यास घोषणा गरे। पछि उनले त्यो निर्णय फिर्ता लिए। मेसी पुनः फर्किए र अझ परिपक्व नेतृत्व प्रस्तुत गरे। उनको पुनरागमन सानदार पनि रह्यो। करियरको उत्तरार्धमा मानिन थालेपछि उनले एकपछि अर्को सफलता अर्जेन्टिनालाई दिए।

सन् २०२१ को कोपा अमेरिका जितसँगै उनले अर्जेन्टिनाको लामो उपाधि खडेरी अन्त्य गराए। त्यसपछि २०२२ को विश्वकप जितेर उनले आफ्नो अन्तर्राष्ट्रिय करिअरलाई ऐतिहासिक उचाइमा पुर्‍याए। त्यस विश्वकपमा उनले गोल, असिस्ट र नेतृत्व तीनै पक्षमा उत्कृष्ट प्रदर्शन गरेका थिए। मेसी स्वयम्ले पनि आधुनिक फुटबल पहिलेभन्दा धेरै रणनीतिक र शारीरिक भएको स्वीकार गरेका छन्। त्यसैले अहिले उनी अनावश्यक दौडिनुभन्दा खेलको लय बुझ्ने, ऊर्जा जोगाउने र सही समयमा निर्णायक प्रभाव पार्ने शैलीमा खेलिरहेका छन्। अर्जेन्टिनाका पूर्वखेलाडी पाब्लो आइमारले भनेझैं मेसीको पछिल्लो संस्करण नै सधैं उत्कृष्ट छ। किशोर विङ्गरदेखि विश्व फुटबललाई नयाँ रणनीति सिकाउने ‘फल्स नाइन’, त्यसपछि खेल निर्माण गर्ने ‘एन्गान्चे’ (ट्रडिसनल प्लेमेकिङ अट्याकिङ मिडफिल्डर) र अन्ततः विश्वकप विजेता कप्तानसम्मको यात्रामा मेसीले बारम्बार आफूलाई प्रमाणित गरे।

यही क्षमता नै उनलाई फुटबल इतिहासका सबैभन्दा महान् खेलाडीमध्ये एक बनाउने प्रमुख आधार बनेको छ। मेसी आफ्नो देशले खोजिरहेको वास्तविक कप्तान बनिसकेका छन्। अहिले उनी यस्तो अनुभवी खेलाडी बनेका छन्, जो मैदानमा धेरै दौडिँदैनन्, तर अरू सबैभन्दा पहिले खेलको चित्र देख्छन्। यस विश्वकपमा मेसीबारे धेरै विशेषण र प्रशंसाका शब्दहरू सुनिएका छन्। तर तीमध्ये अधिकांशले वास्तविक सारलाई समेट्न सकेका छैनन्। वास्तविक कुरा उनी कति महान् छन् भन्ने होइन। आफ्नो करियरभर उनले कति पटक आफूलाई पूर्ण रूपमा नयाँ खेलाडीका रूपमा पुनः आविष्कार गरेका छन् भन्ने हो।

प्रकाशित: ३१ असार २०८३ १०:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App