३२ असार २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

कथाकार ढकालको ‘महाप्रश्न’ लाेकार्पण

कथाकार हरि ढकालको ‘महाप्रश्न’ कथासंग्रह लाेकार्पण गरिएकाे छ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा साहित्यकारहरू नारायण ढकाल, बिना थिङ, हरिहर तिमिल्सिना, श्रीश भण्डारी, लेखनाथ न्यौपाने र कथाकार ढकाल लगायतले कथासङ्ग्रह लोकार्पण गरेका हुन्। सङ्ग्रहमा सामाजिक तथा राजनीतिक चेतनायुक्त ११ कथा सङ्गृहीत छन्।

साहित्यकार नारायण ढकालले ‘महाप्रश्न’ कथासङ्ग्रहले नेपाली समाजको करिब आधा शतक यताका सामाजिक र राजनीतिक विसङ्गतिमाथि विवेकसम्मत प्रश्नहरू उठाएको बताए। उनले लेखकलाई यति मात्रै कथामा सीमित नहुन सुझाव पनि दिए।

कथाकार बिना थिङले नेपाली आख्यान जगतमा नयाँ स्रष्टा थपिएकोप्रति खुशी व्यक्त गर्दै कथाका सम्झनायोग्य पात्र र परिवेशहरूबारे चर्चा गरेका थिए।

साहित्यकार एवं कथा सङ्ग्रहका सम्पादक हरिहर तिमिल्सिनाले कृति प्रकाशन अघिका सन्दर्भहरू प्रस्तुत गर्दै यी कथाहरू नयाँ पुस्ताले पनि पढ्नुपर्ने बताए।

पुस्तक विमर्शको सहजीकरण गर्दै लेखक तथा सम्पादक श्रीश भण्डारीले आम स्रष्टाहरूको सिर्जना र व्यवहारबिच देखिने विरोधाभाषको चिरफार गर्नुपर्नेमा जोड दिए। यसअघि लेखक तथा अध्येता लेखनाथ न्यौपानेले पनि यस्तै धारणा राखेका थिए।

कथाकार ढकालले कृति पढेर पाठकहरूले दिने आलोचना र हौसला दुवै आफूलाई शिरोधार्य भएको बताए।

१७४ पृष्ठको यो कथासङ्ग्रह इटर्नल पब्लिकेसन प्रालिले बजारमा ल्याएको हो। किताबको मूल्य ५५० रूपैयाँ छ।

प्रकाशित: ३१ असार २०८३ ११:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App