खोटाङ कारागारमा कैद सजाय भोगिरहेका एक कैदीको मृत्यु भएको छ।
जिल्लाको साकेला गाउँपालिका ४ मात्तिमका २४ वर्षीय सांकेतिक नाम ‘खोटाङ ध’ उर्फ निशान राईको बुधबार बिहान कारागारमै मृत्यु भएको हो।
कारागार कार्यालयका सूचना अधिकारी कपिन्द्र कठायतका अनुसार मंगलबार राति खाना खाएर सुतेका राई १२ः४५ बजे सुरु हुने विश्वकप फुटबल हेर्न उठाउन साथीहरूलाई भनेका थिए।
सोही अनुसार सवा १२ बजे उनलाई उठाउन खोज्दा बेहोस अवस्थामा भेटिएपछि तत्काल अस्पताल लगिएको थियो।
तर बिहान १ः३० बजे अस्पताल पुर्याउँदा चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेको थियो। उनको शव जिल्ला अस्पतालमै पोस्टमार्टम गर्ने प्रक्रियामा रहेको कठायतले बताए।
‘हिजो यहाँ सुँगुर काटेर खाने कार्यक्रम थियो, निशानका दाजुसमेत त्यही भएकाले दाजुभाइ दुवैले मासु भात खाएर सुतेका थिए’ कठायतले भने ‘फुटबल हेर्न उठाउँदा बेहोस भएको पाइएपछि उपचार गर्न लाँदा डा.ले मृत्यु भइसकेको घोषणा गरे।’
सवारी मुद्दामा २ वर्ष कैद सजाय भुक्तान गरिरहेका राई ०८० साउन १२ गते जेल परेका थिए। उनी आगामी साउन ११ गते सजाय भुक्तान सकेर रिहा हुनेवाला थिए।
अदालतको ०७७ को फैसला अनुसार दोषी ठहर भए पनि ०८० मा मात्र पक्राउ परेर कैद भुक्तान गरिरहेको अवस्थामा घटना भएको कारागार कार्यालयले जनाएको छ।
प्रकाशित: ३१ असार २०८३ ११:४२ बुधबार





