लियोनेल मेस्सीले आफ्नो करिअरमा लगभग सबै उपलब्धि हासिल गरिसकेका छन्। अर्जेन्टिनाका लागि २०० भन्दा बढी खेल खेल्दै १२५ गोल गरेका मेस्सीले विश्वकप, कोपा अमेरिका र थुप्रै व्यक्तिगत कीर्तिमान आफ्नो नाममा लेखिसकेका छन्।
तर, उनले अहिलेसम्म इंग्ल्याण्डविरुद्ध सिनियर अन्तर्राष्ट्रिय खेल खेलेका थिएनन्। अब त्यो प्रतीक्षा अन्त्य हुने भएको छ।
स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि मेस्सीले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछन्।
स्विट्जरल्यान्डविरुद्धको खेलमा मेस्सीले गोल गरेनन्। यो प्रतियोगितामा उनी पहिलो पटक गोलविहीन रहे। त्यसका बाबजुद उनी फ्रान्सका किलियन एम्बाप्पेसँग संयुक्त रूपमा आठ गोलसहित गोल्डेन बुटको दौडमा अग्रस्थानमै छन्।
फुटबल विश्लेषक मीका रिचर्ड्सका अनुसार अर्जेन्टिनाको सबैभन्दा ठूलो शक्ति मेस्सी नै हुन्। ‘इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेसँग अर्जेन्टिनाभन्दा राम्रो टोली हुन सक्छ, तर उनीहरूसँग लियोनेल मेस्सी छैनन्। अर्जेन्टिनाका सबै खेलाडी उनको वरिपरि खेल्छन्। त्यसैले यो खेल हेर्न सबै उत्साहित हुनुपर्छ’, उनले भने।
रिचर्ड्सका अनुसार मेस्सीलाई नियन्त्रणमा राख्नु अत्यन्त कठिन छ। ‘उनी सामान्य खेलाडीझैँ निरन्तर दौडिँदैनन्। साना र अप्रत्याशित ठाउँमा पुग्छन्, सही समयमा सक्रिय हुन्छन् र त्यसपछि खेलको दिशा नै परिवर्तन गरिदिन्छन्। उनको प्रविधि, स्थान बुझ्ने क्षमता र निर्णय लिने शैली असाधारण छ।’
पूर्व इङ्ग्ल्यान्ड फरवार्ड क्रिस सटनले भने अर्जेन्टिना अहिले विगतजस्तो बलियो टोली नभए पनि जित निकाल्ने कला भने उनीहरूसँग अझै कायम रहेको बताए।
‘मलाई लाग्छ थोमस टुचेल र इङ्ग्ल्यान्डका खेलाडीहरूले यो अर्जेन्टिनासँग खेल्ने चुनौतीलाई स्वागत गरिरहेका छन्। यो महान् अर्जेन्टिना टोली होइन, तर उनीहरूलाई आवश्यक बेला जित निकाल्न आउँछ’,उनले भने।
इंग्ल्याण्ड र अर्जेन्टिनाबीचको प्रतिद्वन्द्विता अन्तर्राष्ट्रिय फुटबलकै सबैभन्दा चर्चितमध्ये एक मानिन्छ। सन् १९८६ को विश्वकपमा डिएगो म्याराडोनाको चर्चित ‘ह्यान्ड अफ गड’ गोल, त्यसै खेलमा उनको एकल प्रयासमा गरिएको अर्को अविस्मरणीय गोल, तथा सन् १९९८ को विश्वकपमा डेभिड बेकह्यामको रातो कार्डजस्ता घटनाले यो प्रतिस्पर्धालाई अझ ऐतिहासिक बनाएका छन्।
दुवै टोलीबीच पछिल्लोपटक करिब दुई दशकअघि मात्र भेट भएको थियो। मेस्सीले सन् २००५ मा अर्जेन्टिनाका लागि डेब्यु गरे पनि त्यस वर्ष इंग्ल्याण्डसँग भएको मैत्रीपूर्ण खेल गुमाएका थिए।
हंगेरीविरुद्ध डेब्यु खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेको ३० सेकेन्डमै रातो कार्ड पाएपछि उनी निलम्बनमा परेका थिए। त्यसैले जेनेभामा भएको इंग्ल्याण्डविरुद्धको खेलमा उनी सहभागी हुन पाएनन्।
उक्त खेलमा अर्जेन्टिनाले दुई पटक अग्रता बनाए पनि माइकल ओवेनका दुई ढिला गोलसँगै इंग्ल्याण्डले ३–२ को रोमाञ्चक जित निकालेको थियो।
यसपटक भने परिस्थिति फरक छ। मेस्सी अनुभवको शिखरमा छ। अर्जेन्टिना अर्को उपाधि नजिक छ र इंग्ल्याण्डसँगको बहुप्रतीक्षित भेट अब विश्व फुटबलकै सबैभन्दा ठूलो आकर्षणमध्ये एक बनेको छ।
प्रकाशित: २८ असार २०८३ १९:१६ आइतबार





