सन् २००७ मा फिफा वर्ष खेलाडी अवार्ड समारोहमा एउटा सामान्य देखिएको क्षण आज फुटबल इतिहासको प्रतीकात्मक दृश्य बनेको छ।
ब्राजिलका काकाले वर्ष खेलाडीको उपाधि जित्दा दोस्रो र तेस्रो स्थानमा रहेका लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो एउटै मञ्चमा थिए। पुरस्कार वितरणका क्रममा भएको सानो गल्तीले दुवै खेलाडीलाई केही क्षण असहज बनायो, तर त्यही मञ्चबाट आधुनिक फुटबलको सबैभन्दा चर्चित प्रतिस्पर्धाको कथा सुरु भएको थियो।
त्यसपछिका झण्डै दुई दशक फुटबल जगत् मेस्सी र रोनाल्डोको नामले परिभाषित भयो। व्यक्तिगत अवार्डदेखि गोल रेकर्ड, क्लब सफलतादेखि अन्तर्राष्ट्रिय उपलब्धिसम्म, दुवैले एकअर्कालाई पछ्याउँदै फुटबललाई नयाँ उचाइमा पुर्याए।
प्रतिस्पर्धा जसले इतिहास लेख्यो
सन् २००८ देखि २०१७ सम्मको दशक फुटबलमा मेस्सी र रोनाल्डोको पूर्ण प्रभुत्वको समय रह्यो। ब्यालोन डी'ओर होस् वा फिफा वर्ष खेलाडी, अधिकांश पुरस्कार उनीहरूकै हातमा पुगे। करिब दुई हजार करियर गोल, ८५ भन्दा बढी उपाधि र असंख्य व्यक्तिगत कीर्तिमानले उनीहरूलाई फुटबल इतिहासका सर्वकालीन महान खेलाडीहरूको सूचीमा स्थापित गरिसकेको छ।
अर्जेन्टिनाका विश्वकप विजेता एन्जेल डी मारियाले दुवैसँग खेलेका अनुभव सम्झिँदै भनेका छन्, “यति लामो समयसम्म एउटै स्तरमा प्रतिस्पर्धा गर्दै अवार्ड र गोलका लागि संघर्ष गर्ने खेलाडी फेरि देख्न गाह्रो छ।”
‘सर्वकालीन महान’ को अन्तहीन बहस
फुटबल समर्थकमाझ सबैभन्दा धेरै बहस हुने विषयमध्ये एक हो—मेस्सी कि रोनाल्डो?
म्यानचेस्टर युनाइटेडका पूर्व डिफेन्डर रियो फर्डिनान्डका लागि उत्तर स्पष्ट छ, “रोनाल्डो नै महान हुन्।”
तर बार्सिलोनाका पूर्व खेलाडी तथा प्रशिक्षक जाभीको धारणा फरक छ। उनका अनुसार, “मेस्सी फुटबल इतिहासकै उत्कृष्ट खेलाडी हुन्।”
तथ्याङ्कले पनि यो बहसलाई अझ रोचक बनाउँछ। च्याम्पियन्स लिग उपाधि र गोल संख्यामा रोनाल्डो अगाडि देखिन्छन् भने ब्यालोन डी'ओर र कुल उपाधिमा मेस्सीको पलडा भारी छ। अझ सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप जिताएपछि मेस्सीले बहसमा नयाँ अध्याय थपेका छन्।
फरक शैली, एउटै लक्ष्य
मेस्सी र रोनाल्डोलाई प्रायः एकअर्काको विपरीत चरित्रका रूपमा चित्रण गरिन्छ। एकातिर अद्भुत ड्रिब्लिङ र खेल निर्माण गर्ने मेस्सी, अर्कोतिर शारीरिक क्षमता, गति र गोल गर्ने असाधारण दक्षताका धनी रोनाल्डो।
तर उनीहरूको बाल्यकाल हेर्दा समानता पनि उत्तिकै देखिन्छ। दुवै साधारण परिवारबाट आएका थिए। किशोरावस्थामै घर छोडेर आफ्नो सपना पछ्याएका थिए। मेस्सी १३ वर्षको उमेरमा अर्जेन्टिनाबाट बार्सिलोना पुगे भने रोनाल्डो १२ वर्षको उमेरमा माडेराबाट लिस्बन पुगेका थिए।
दुवैको यात्रालाई एउटै कुराले जोड्यो—सर्वश्रेष्ठ बन्ने अटल इच्छा।
बार्सिलोना र रियल मड्रिडको युद्ध
रोनाल्डो सन् २००९ मा विश्व कीर्तिमानी ८० मिलियन पाउन्डमा रियल मड्रिड पुगेपछि प्रतिस्पर्धाले नयाँ मोड लियो। अब यो केवल दुई खेलाडीको प्रतिस्पर्धा मात्र रहेन, बार्सिलोना र रियल मड्रिडबीचको ऐतिहासिक प्रतिद्वन्द्वितासँग जोडियो।
स्पेनमा नौ सिजन सँगै रहँदा रोनाल्डोले रियलका लागि ४५० गोल गरे भने मेस्सीले बार्सिलोनाका लागि ४७१ गोल गरे। सामाजिक सञ्जालको विस्तारसँगै उनीहरूको प्रत्येक गोल, प्रत्येक अवार्ड र प्रत्येक प्रदर्शन विश्वव्यापी बहसको विषय बन्न थाल्यो।
विश्लेषकहरूका अनुसार, “रोनाल्डोका लागि मेस्सीलाई हराउनु महत्त्वपूर्ण थियो र मेस्सीका लागि रोनाल्डोलाई।”
मैदानभन्दा बाहिरको साम्राज्य
फुटबल मैदानमा मात्र होइन, व्यावसायिक दुनियाँमा पनि उनीहरूको प्रभाव अभूतपूर्व रह्यो।
रोनाल्डो युभेन्टस पुगेपछि पहिलो २४ घण्टामै पाँच लाखभन्दा बढी जर्सी बिक्री भएका थिए। मेस्सी पेरिस सेन्ट-जर्मेन पुगेपछि सात मिनेटमै एक लाख ५० हजार जर्सी बिक्री भएको तथ्याङ्क सार्वजनिक भएको थियो।
इन्स्टाग्राममा रोनाल्डोका करिब ७० करोड अनुयायी छन् भने मेस्सीका ५० करोडभन्दा बढी। सन् २०२२ को विश्वकपअघि लुइ भुटोनको विज्ञापनका लागि दुवैले चेस खेलिरहेको तस्वीर सामाजिक सञ्जाल इतिहासकै सबैभन्दा चर्चित खेलकुद तस्बिरमध्ये एक बन्यो।
अन्तिम अध्यायको प्रतीक्षा
विश्व फुटबलले मेस्सी र रोनाल्डोको युग लगभग दुई दशकदेखि अनुभव गरिरहेको छ। धेरै समर्थकका लागि यो प्रतिस्पर्धाले फुटबल हेर्ने, बुझ्ने र बहस गर्ने शैली नै परिवर्तन गरिदिएको छ।
अब दुवै खेलाडी आफ्नो करियरको अन्तिम चरणमा छन्। सन् २०२६ को विश्वकप सम्भवतः उनीहरूको अन्तिम विश्वकप हुनेछ। यदि प्रतियोगिताको पछिल्लो चरणमा अर्जेन्टिना र पोर्चुगल आमनेसामने भए भने फुटबलले इतिहासकै सबैभन्दा महान प्रतिस्पर्धाको अन्तिम दृश्य हेर्न पाउनेछ।
सायद ‘सर्वकालीन महान’ को बहस कहिल्यै टुंगिने छैन। तर एउटा कुरा निश्चित छ—मेस्सी र रोनाल्डोले फुटबललाई यस्तो युग दिएका छन्, जसको चर्चा आगामी पुस्ताले पनि गरिरहनेछ। -(एन्डी क्रिएर, बीबीसी)
प्रकाशित: २२ जेष्ठ २०८३ १७:०२ शुक्रबार





