मानसिंह र बेलमोन्टले आइतबार प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ विजयी सुरुआत गरेका छन्।
तारकेश्वर नगरपालिकाको थापागाउँस्थित आयोजक तेजस्वी एकेडेमीको कोर्टमा मानसिंहले ह्वाइट हेभेनलाई १६–१० ले पराजित गर्यो। मानसिंहको जितमा देविका बोगटीले ६ अंक योगदान गरिन्। सुमिना तामाङको १० अंक सहयोगमा बेलमोन्टले एन्जल्स हार्ट नेसनल स्कुललाई २२–१६ ले हरायो।
गर्ल्समै तेजस्वीले संस्कृति शिक्षालयलाई २३–१८ तथा ल्यान्डमार्क एकेडेमीले ह्वाइट हेभेनलाई २५–१५ ले पाखा लगाए। तेजस्वीकी निशा पण्डितले १४ तथा ल्यान्डमार्ककी अन्जली राईले ११ स्कोर गरे।
ब्वाइजमा सेबले ल्यान्डमार्कलाई ४४–३१, तेजस्वीले गुरुकुललाई ३७–२८, संस्कृति शिक्षालयले रोजमेरीलाई ४०–३२ र ह्वाइट हेभेनले सिद्धार्थलाई ३०–२२ ले पन्छाए। सेबका युबिन तामाङले १०, तेजस्वीका विराज गुरुङले १३, संस्कृतिका रमन गुरुङले १९ र ह्वाइट हेभेनका निमेश सापकोटाले १४ अंक जोडे।
प्रतियोगिताको तेजस्वीका प्रिन्सिपल थिरबहादुर बस्नेतले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे। छदिने लिग कम नकआउट प्रतियोगिताको ब्वाइजमा १२ तथा गल्र्समा ८ टिम सहभागी छन्।
प्रकाशित: ११ फाल्गुन २०८२ ०८:१९ सोमबार





