२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

बजेटमा दुधकोशी जलविद्युत आयोजना समेटिएपछि स्थानीय खुसी

खोटाङ र ओखलढुङ्गा सीमा दुधकोशीस्थित रभुँवा घाटबाट निर्माण गर्ने भनिएको ६ सय ७० मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजना आगामी वर्षको बजेटमा समेटिएको छ। 

शुक्रबार प्रस्तुत आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषणमा सो आयोजना समावेश भएपछि काम अघि बढ्ने निश्चित भएको हो।

खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–६ भदौरे सीमामा पर्ने रभुँवा घाटमा प्रस्तावित आयोजनाका लागि डा. स्वर्णिम वाग्लेको बजेट भाषणमा सरकारले प्राथमिकताका साथ अगाडि बढाउने विषय समावेश गरेका छन्। आयोजना सञ्चालन गर्न आगामी आर्थिक वर्षमै ठेक्का आव्हान गरेर काम अगाडि बढाउने वाग्लेको बजेट भाषणमा उल्लेख छ।

सो आयोजना निर्माण गर्नका लागि तत्कालीन अर्थमन्त्री वर्षमान पुनले सरकार र लगानीकर्ताबिच सहमति जुटाएका थिए। रावाबेँसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठका अनुसार ४ दशकअघि नै त्यहाँ विद्युत् उत्पादन गर्ने गरी बहुउद्देश्यीय जलविद्युत आयोजना निर्माण गर्न सम्भाव्यता अध्ययन भएको थियो। एसियाली विकास बैङ्क (एडिबी) लगायतका वित्तीय संस्थाहरूले लगानी गर्ने जनाए पनि ४३ वर्षअघि अध्ययन गरेर उत्पादन गर्ने भनिएको सो आयोजना विभिन्न कारणले अलपत्र परेको छ।

दुधकोशी जलविद्युत आयोजनाले खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका सरकारी तथा व्यक्तिगत गरी करिब २५ हजार रोपनी जग्गा ओगट्ने। सो जग्गा प्राप्तिका लागि सरकारले अधिग्रहण प्रक्रिया विद्युत् प्राधिकरणले अघि बढाएको अध्यक्ष श्रेष्ठले बताए। आयोजना सञ्चालनका लागि सरकारी जग्गाबाहेक व्यक्तिगत करिब २० हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने अनुमान प्राधिकरणको छ।

आयोजना अलपत्र पर्नुको मुख्य कारण बजेट अभाव रहेको स्थानीय बताउँछन्। बजेट नभएपछि व्यक्तिगत जग्गाको मुआब्जा अध्ययन गर्ने कार्यमै लामो समय बितेर आयोजना निर्माण हुने कि नहुने दुविधा उत्पन्न भएको थियो। उता सरकारले मुआब्जा निर्धारण नभइरहँदा आयोजना प्रभावित क्षेत्रको व्यक्तिगत जग्गा किनबेच गर्न रोक लगाएको छ।

लामो समयदेखि गिजोलिएको आयोजना बजेट भाषणले समेटेसँगै स्थानीय खुसी भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएको नयाँ बजेटमा जलविद्युत आयोजना समेटिएपछि लाभान्वित ३ वटै जिल्ला वासीमा एक किसिमको खुसी छाएको उनीहरूको भनाइ छ। 

प्रकाशित: १६ जेष्ठ २०८३ १७:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App