मनाङ मर्स्याङ्दी र संकटा क्लबले एन्फा यु–१६ युथ लिगमा जित निकाल्दै शीर्ष पाँच वरीयतामा रहेर सिजन अन्त्य गर्ने लक्ष्य राखेका हुन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार मनाङ र संकटा दुवैले विभागीय टोलीलाई हराउँदै युथ लिगको शीर्ष वरीयतामा रहेर सिजन पूरा गर्ने संकेत गरेका छन्। मनाङले एपिएफलाई ३–० र संकटाले त्रिभुवन आर्मी क्लबलाई ४–० ले हराए। समान २५ खेलमा मनाङको १६औं र संकटाको १४औं जित हो।
मनाङ ५४ अंकसहित तेस्रो स्थानमा उक्लिँदा संकटा ४७ अंक जोड्दै पाँचौं स्थानमा यथावत् छ। १४ क्लब सहभागी युथ लिगमा कुल २६ चरणका खेल हुनेछन्। २४ खेलबाट मच्छिन्द्र र नेपाल पुलिस क्लब समान ५५ अंकसहित शीर्ष स्थानमा छन्। समान खेल खेलेको फ्रेन्ड्स क्लबको ५१ अंक छ। दुई चरणका खेल बाँकी छँदासम्म उपाधि जित्ने टोलीको टुङ्गो लागेको छैन।
एपिएफमाथि सहज जित निकाल्दा मनाङका विवेक मगर, सकिन कुवार र प्रकाश सिंहले गोल गरे। एपिएफ पहिलो हाफमा मनाङलाई रोक्न सफल भयो तर दोस्रो हाफमा भने मनाङले तीन गोल गर्दै एपिएफको रक्षापंक्तिलाई असफल बनायो। यद्यपि, मनाङले पहिलो गोल गर्न धेरै समय पर्खनुपर्यो। ७४औं मिनेटमा विवेकले गोल गर्दै अग्रता दिलाए। दुई मिनेटपछि नै सकिनले मनाङको दोस्रो गोल गरे। ८१औं मिनेटमा प्रकाशले गोल गरेपछि मनाङले एपिएफमाथि सहज जित निकाल्यो । २४औं खेलमा एपिएफको यो आठौं हार हो।
करण भुलको ह्याट्रिक प्रेरणामा संकटाले पनि आर्मीमाथि सहज जित निकाल्यो। संकटाका लागि पेम्बा तामाङले थप एक गोल गरे। यससँगै आर्मीले २४ खेलबाट १८ हार सामना गर्यो। संकटाले दुवै हाफमा समान दुई गोल गरेको थियो। करणले १३औं र २४औं मिनेटमा गोल गर्दै संकटालाई २–० ले अगाडि बढाए।
दोस्रो हाफमा भने आर्मीले सुधारिएको डिफेन्स देखायो तर अन्तिम चार मिनेट फेरि समालिन सकेन र थप दुई गोल सामना गर्नुपर्यो। ८६औं मिनेटमा पेम्बाले गोल गरे। खेलको इन्जुरी समयमा करणले ह्याट्रिक पूरा गरेपछि संकटाले विभागीय टोलीमाथि फराकिलो जित निकाल्यो। करण प्लेअर अफ दी म्याच पनि भए। पुछारको टोली प्लानिङ ब्वाइज युनाइटेडले जित निकाल्दै लिगमा आफ्नो वरीयता सुधार गर्ने प्रयास गर्यो।
१३औं स्थानमा रहेको प्लानिङ ब्वाइजले श्रीभगवती क्लबलाई ४–१ ले हराउँदै लिगमा चौथो जित निकाल्यो। प्लानिङको जितमा ओम खड्काले दुई गोल गरे। प्रशान्त तामाङ र प्रकाश बुढाथोकीको नाममा समान एक गोल रह्यो। अनिल गुरुङले गरेको गोल श्रीभगवतीका लागि सान्त्वना बन्यो।
प्लानिङले दुवै हाफमा समान दुई गोल गरेको थियो तर श्रीभगवती क्लबले निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा गोल गर्दै हारको अन्तर घटायो। पुछारबाट दोस्रो स्थानमा रहेको प्लानिङले २५ खेलमा १४ अंक जोडेको छ। समान खेलबाट ३० अंक जोड्दै भगवती आठौं स्थानमा छ।
प्रकाशित: ११ पुस २०८२ ०६:२६ शुक्रबार





