११ माघ २०८२ आइतबार
image/svg+xml
खेल

मच्छिन्द्रको तेस्रो जित

मच्छिन्द्र क्लबले प्लानिङ ब्वाइज युनाइटेडलाई हराउँदै जारी राष्ट्रिय लिगमा लगातार तेस्रो जितसँगै शीर्षता होडमा कायमै राखेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा मच्छिन्द्रले प्लानिङ ब्वाइजमाथि २–० को जित निकालेको हो। मच्छिन्द्रका लागि सौरभ लिम्बू र जोनाथन कान्टिलानाले समान एक गोल गरे। प्लानिङ ब्वाइजको तीन खेलमा पहिलो हार हो।

 यसअघि प्लानिङ ब्वाइजले एक जित र एक बराबरी आत्मसात गरेको थियो। प्लानिङ ब्वाइजले पनि सुरुआतमा राम्रो चुनौती दियो तर गोल गर्न सकेन। प्लानिङ ब्वाइजले खेलको १०औं मिनेटमा पहिलो अवसर बुन्यो।

करिब १२ यार्डबाट श्यामु मुर्मुले हानेको प्रहार माथिल्लो बारबाट बाहिरिन पुग्यो। २९औं मिनेटमा प्रतापसिंह राईले लामो दूरीबाट गरेको सट पनि पोस्टको दिशामा रहन सकेन। मच्छिन्द्रले ४१औं मिनेटमा सौरभको गोलबाट अग्रता लियो।

फ्रान्क इसाकले पेनाल्टी बक्सबाट दिएको बललाई जोनाथन कान्टिलाना फिनिस गर्न चुके। त्यो बल प्लानिङ ब्वाइजको डिफेन्डरको खुट्टामा ठोकिएर अनमार्क सौरभको खुट्टामा पुग्यो। प्लानिङको गोलकिपर योगेश धिमाल बिट भएको अवस्थामा सौरभले गोल गरे। पहिलो हाफमा थप गोल हुन सकेन।

मच्छिन्द्रले ५०औं मिनेटमा अग्रता दोब्बर बनाउने प्रयास गर्‍यो। फ्रान्कको क्रसमा जोनाथानको हेडरलाई प्लानिङ ब्वाइजका गोलकिपर योगेशले उत्कृष्ट बचाउ गरे। ६३औं मिनेटमा प्लानिङले अवसर सिर्जना गरे पनि सफलता पाउन सकेन। मच्छिन्द्र ७४औं मिनेटमा अग्रता दोब्बर बनाउन सफल भयो।

प्रदीप बुढाथोकीको पासमा जोनाथनले करिब १५ यार्डबाट गोल गरेका हुन्। ८६औं मिनेटमा प्लानिङ ब्वाइजको खेलाडीले अविनाश स्याङ्तानलाई पेनाल्टी बक्समा लडाएपछि मच्छिन्द्रले पेनाल्टी पायो तर जोनाथनले पहिलो बार च्याप्दै गरेको पेनाल्टी प्रहार प्लानिङ ब्वाइजका गोलकिपर योगेशले उत्कृष्ट बचाउ गरे।

 इन्जुरी समयमा मच्छिन्द्रका फ्रान्क इसाकको प्रहार पनि योगेशको हातमा छुँदै पोलमा ठोकिएर फर्कियो। त्यसपछि थप गोल हुन सकेन र मच्छिन्द्रले सहज जित निकाल्यो।

प्रकाशित: ११ माघ २०८२ ०८:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App