काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज चौथौ दिनमा पाँचौँ खेल आयोजना हुँदैछ।
बिहीबार कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्स र चितवन राइनोज आमने-सामने हुँदै छन्। यो खेल निकै रोचक हुने देखिएको छ। किनभने पहिलो सिजनमा लुम्बिनीले खेलेको सात खेलमध्ये एक खेल मात्र जितेको थियो। त्यो पनि चितवनलाई पराजित गरेर।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले यो संस्करणमा पहिलो खेल खेल्दै छ भने चितवनले आज दोस्रो खेल खेल्न लागेको हो।
पहिलो संस्करणमा लुम्बिनीले चितवनलाई ३३ रनले पराजित गरेर प्रतियोगिताभर एक मात्र जित हासिल गरेको थियो।
लुम्बिनीका कप्तान रोहित त्यस खेलमा अलराउन्डको भूमिकामा रहेका थिए। उनले ८० रन र चार विकेट लिँदै लुम्बिनीलाई सफल दिलाएका थिए।
त्यस्तै, यस पटक पनि त्यही क्षण दोहार्याउने पक्षमा लुम्बिनी छ। तर, यता चितवनले भने पहिलो खेलमा बलियो मानिएको कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै विजयि हासिल गर्यो।
गत संस्करणमा चितवन प्लेअफमा पुगेको थियो भने लुम्बिनी समूह चरणबाटै बाहिरिएको थियो।
प्रकाशित: ४ मंसिर २०८२ १२:३७ बिहीबार





