यसपल्ट सुखद नतिजा ल्याउने लक्ष्यसहित नेपाली यु–१९ महिला भलिबल टोलीले काभा यु–१९ भलिबल च्याम्पियनसिपको तयारी सुरु गरेको छ।
आगामी कात्तिक १७ देखि २४ गतेसम्म श्रीलंकाको राजधानी कोलम्बोमा काभा महिला यु–१९ च्याम्पियनसिप हुँदै छ। माल्दिभ्सको मालेमा सम्पन्न गत संस्करणमा पाँच टोलीले प्रतिस्पर्धा गरेका थिए। तीमध्ये नेपाल तेस्रो स्थानमा सीमित भएको थियो। यसपल्ट टोलीमा केही अनुभवी खेलाडी पनि रहेको र प्रशिक्षण पनि लामो समय पाएकाले सुखद नतिजा ल्याउन नेपाली किशोर टोलीका प्रशिक्षक कुमार राईको विश्वास छ।
नेपाली महिला भलिबलको घरेलु प्रतिस्पर्धामा सफल प्रशिक्षकका रूपमा चिनिएका राईले खेलाडी तयार हुँदा दसैंमा पनि प्रशिक्षण जारी राख्ने बताएका छन्। नेपाली किशोर टोलीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा प्रशिक्षण गरिरहेको छ।
नेपाल भलिबल संघले उक्त च्याम्पियनसिपका लागि गत भदौ ६ र ७ गते दुईदिने छनोटबाट प्रारम्भिक टोली बनाएको थियो। कुमार राईको प्रशिक्षणमा कुल १८ सदस्यीय खेलाडीले प्रशिक्षण गरिरहेका छन्। प्रशिक्षक राईले जिल्ला र प्रदेशबाट दुई दिनको प्रारम्भिक छनोटबाट यी खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन्।
प्रशिक्षक राईले प्रशिक्षण सुरु गरेको केही दिन मात्र भएको र त्यसमा हरेक दिन सुधार भइरहेको बताएका छन्। उनले यसपल्ट यही लक्ष्य ल्याउँछु भनेर अहिले नै भन्न नसक्ने बताउँछन्। गत वर्षको संस्करणबाट केही पाठ सिकेको र पर्याप्त अनुभवबिना नै यो नतिजा ल्याउन सकिन्न भन्न नसकिने उल्लेख गरेका छन्।
यद्यपि, यसपल्ट टोलीमा केही अनुभवी खेलाडी रहेकाले तुलनात्मक रूपमा पहिलेभन्दा राम्रो नतिजा आउने आशामा रहेको प्रशिक्षक राई बताउँछन्। उनले डिफेन्स र अट्याकमा काम गरिरहेको उल्लेख गरे। जोन जोनमा हान्न सकून् भन्ने तरिकाले हरेक दिन सर्भिसमा धेरै समय लगाएर खेलाडीलाई तयारी गरिरहेको उनी बताउँछन्।
प्रशिक्षक राईले सम्भावना बोकेका प्रतिभाशाली खेलाडीलाई टोलीमा समेटेको बताएका छन्। दसैंको समयमा खेलाडीलाई पढाइको दबाब कम हुने भएकाले यो समयमा पनि प्रशिक्षण गराउने तयारी रहेको उल्लेख गरेका छन् तर कोही खेलाडी यो महान् चाड मनाउन जान चाहेकामा आफूले छाड्ने प्रशिक्षक राई बताउँछन्।
अधिकांश खेलाडी न्यु डायमन्ड स्पोटर््स एकेडेमीका नै राखेर तयारी गरिरहेको उनले उल्लेख गरे। नेपाली टोलीमा भावना तामाङ, नामसरा राना, प्रतिभा चौधरी, निशा महर, मीना चौधरी, अनुष्का कार्की, एन्जिला प्रधान, रूपा लम्साल, जेनिसा विश्वकर्मा, मीना सुनार, आशिका क्षेत्री, क्रिस्मा डाँगी, सम्झना नेपाली, अनिसा थारू, सुनीता खत्री, रेविका लामा तामाङ, विनीता राना र प्रशंसा बौडेल छन्। प्रशिक्षक राईले यहाँबाट १२ सदस्यीय नेपाली यु–१९ टोली छनोट हुने जानकारी दिए। सन्तोष श्रेष्ठ टोलीको सहायक प्रशिक्षक छन् । यस च्याम्पियनसिपमा पाँच टोलीले प्रतिस्पर्धा गर्ने छलफल भइरहेको छ तर त्यसका लागि केही दिन लाग्न सक्ने भलिबल संघले जनाएको छ।
अहिले नेपाली सिनियर राष्ट्रिय पुरुष टोलीले पनि काभा पुरुष भलिबल नेसन्स लिग २०२५ को तयारी गरिरहेको छ । काभा महिला भलिबल नेसन्स लिग भने नेपालमा भएको जेनजी आन्दोलनका कारण प्रभावित हुन पुग्यो। आगामी नोभेम्बर १५ देखि २२ गतेसम्म काभा महिला भलिबल नेसन्स लिग टुँडिखेल हुने तय थियो। तर, जेन जीको आन्दोलनले देशमा स्थिति खराब भएपछि भलिबल संघले स्थगित गरेको हो।
पुरुष काभा नेसन्स लिग भने आगामी कात्तिक ५ देखि ११ गतेसम्म बंगलादेशको राजधानी ढाकामा हुने तयारी छ। संघले गत असोज २ गतेदेखि नै नेपाली पुरुगा टोलीको बन्द प्रशिक्षण सुरु गरिसकेको छ।
तीन विभागीय टोली र केही प्रदेशका १८ खेलाडीलाई समेट्दै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा प्रशिक्षण भइरहेको छ। प्रशिक्षणमा नेपाली टोलीको मुख्य प्रशिक्षकमा भरत यादव तथा सहायक प्रशिक्षकमा उत्सव खड्काले नेतृत्व गरिरहेका छन्। नेपाली पुरुष भलिबल टोली दुई वर्षपछि अन्तर्राष्ट्रिय मैदानमा फर्किंदै छ। पछिल्लो पटक सन् २०२३ मा चीनमा भएको १९औं एसियन गेम्स र सोही वर्ष श्रीलंकामा काभा च्यालेन्ज कप भलिबल खेलेपछि नेपाली टोलीले कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन।
प्रकाशित: ८ आश्विन २०८२ ०७:२६ बुधबार





