नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु जितका लागि १३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनाएको हो।
कर्णाली याक्सका लागि कुनै पनि ब्याटरले ठुलो पारी खेल्न सकेनन्। टोलीका लागि इमरान शेखले सर्वाधिक ३३ रन बनाए। उनले ३२ बलको सामना गर्दै १ चौका र १ छक्का प्रहार गरे।
यस्तै, गुल्सन झाले २० बलमा १९ रन, कप्तान सोमपाल कामीले ११ बलमा आक्रामक १८ रन, ओपनर प्रियंक पञ्चालले १६ रन र विलियम बोसिस्टोले १५ रन जोडे। नजिबुल्लाह जाद्रान १३ रनमा आउट भए भने अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।
कर्णालीले नियमित अन्तरालमा विकेट गुमाउँदा ठुलो स्कोर बनाउनबाट चुक्यो। अन्तिम ओभरमा दिपेन्द्र रावत रनआउट हुँदा टोलीले ९ विकेट गुमाएको थियो।
जनकपुर बोल्ट्सका बलरहरूले कसिलो बलिङ गर्दै कर्णालीलाई दबाबमा राखे। जनकपुरका लागि ललित राजवंशी र आदित्य महताले समान २–२ विकेट लिए ।
यस्तै, संगीत कोरे, अनिल साह र माज सदाकतले १–१ विकेट हात पारे। कर्णालीका दुई खेलाडी अर्जुन घर्ती र दिपेन्द्र रावत रनआउट भएका थिए।
अब केही बेरमा जनकपुर बोल्ट्सले १३० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्नेछ।
आजको खेल दुवै टोलीका लागि प्रतिष्ठाको विषय मात्र हुनेछ। अंक तालिकाको पुछारमा रहेका यी दुवै टोली प्लेअफको दौडबाट यसअघि नै बाहिरिइसकेका छन्।
जारी लिगमा ६ खेल खेलेका कर्णाली र जनकपुर दुवैको समान २–२ अंक मात्र छ। नेट रनरेटका आधारमा कर्णाली सातौं र जनकपुर आठौं (अन्तिम) स्थानमा छन्।
आजको खेल जित्ने टोलीले अन्तिम स्थानमा रहनबाट बच्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने प्रयास गर्नेछ।
यसअघि नै सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गरिसकेका छन्।
प्रकाशित: २१ मंसिर २०८२ १७:०४ आइतबार





