३ श्रावण २०८३ आइतबार
image/svg+xml
खेल

दुल्लुमा भोलिदेखि कर्णाली प्रदेश स्तरीय ‘पञ्चकोशी कप’

कर्णाली प्रदेश स्तरीय भलिबल प्रतियोगिता ‘पञ्चकोशी कप-२०८३’ आइतबारदेखि दैलेखको दुल्लुमा सुरु हुँदैछ।

कर्णाली प्रदेशका १० जिल्लाका उत्कृष्ट टोलीहरूको सहभागिता रहने प्रतियोगितामा यस पटक आकर्षक पुरस्कार राशी राखिएको छ।

आयोजक कर्णाली प्रदेश भलिबल संघका अध्यक्ष कृष्ण श्रेष्ठका अनुसार प्रतियोगिताको विजेता टोलीले ३ लाख रुपैँया, उपविजेताले २ लाख रुपैँया, तेस्रो हुने टोलीले १ लाख रुपैँया तथा सान्त्वना पुरस्कार स्वरूप ५० हजार रुपैँया प्राप्त गर्नेछन्।

कर्णाली प्रदेशमा आयोजना हुने भलिबल प्रतियोगितामध्ये यो उच्च पुरस्कार राशी भएको प्रतियोगितामध्ये एक रहेको अध्यक्ष श्रेष्ठले बताए। दूल्लुमा तिनदिनसम्म चल्ने प्रतियोगितामा भब्य कार्यक्रम माँझ उद्घाटन हुँदैछ।

प्रतियोगितामा सहभागी प्रत्येक जिल्लाबाट १० जना खेलाडी, १ जना प्रशिक्षक र १ जना व्यवस्थापक सहभागी हुनेछन्। सहभागी टोलीलाई यातायात खर्च (गाडी भाडा) सहित बसोबास र खानपानको व्यवस्था आयोजकले गर्ने जनाएको छ।

यसले गर्दा जिल्लाहरूलाई आर्थिक भार नपर्ने र उत्कृष्ट टोलीहरूको सहभागिता सुनिश्चित हुने अपेक्षा गरिएको छ। प्रतियोगिता कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग, कर्णाली प्रदेश भलिबल संघको आयोजना तथा नगर खेलकुद विकास समिति, दुल्लुको सह–आयोजनामा सञ्चालन हुन लागेको हो।

आयोजकका अनुसार प्रतियोगिताले कर्णाली प्रदेशमा भलिबल खेलको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि, जिल्लाबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण तथा प्रतिभावान खेलाडीको पहिचान र प्रोत्साहनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

दुल्लुमा हुने यस प्रतियोगिताले खेलकुद गतिविधिसँगै स्थानीय व्यापार, पर्यटन तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। प्रदेशभरका खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहने आयोजकले जनाएको छ।

प्रकाशित: १३ असार २०८३ १७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App