धावक रामसुन्दर कार्कीले ललितपुरदेखि भारतको उत्तरप्रदेशस्थित अयोध्या मन्दिरसम्मको दौड यात्रा शनिबारदेखि सुरु गरेका छन्।
करिब चार सय ५० किलोमिटर दूरी ५५ वर्षीय कार्कीले चैत १३ गते रामनवमीका दिन पूरा गर्ने बताए। दौड अघिनै कार्की र पूर्वखेलाडी गोकुल खत्रीले रुट अवलोकन गरेका थिए। गोदावरी नगरपालिका वडा–१, गोदामचौरस्थित कार्कीटारको हनुमान मन्दिरबाट कार्कीले दौड प्रारम्भ गरेका हुन्। उनी त्यहीका बासिन्दा हुन्। हनुमान मन्दिर पनि कार्की आफैले निर्माण गरेका हुन्। त्यही हनुमान मन्दिरमा २७ फिट अग्लो पिट्टलको गदा निर्माणका लागि सहयोग संकलन गर्न विगतमा अभियानलाई निरन्तरता दिन दौडेको कार्कीले जानकारी गराए। मन्दिर परिसरमै सफलताका लागि शुभकामना दिँदै कार्कीका बुवा शिवराम र शुभचिन्तकलगायतले कार्कीलाई बिदाइ गरेका थिए।
कार्की यसअघि ललितपुरदेखि जनकपुर पाँचपटक, काठमाडौंदेखि दोलखा तीन पटक, काठमाडौं बुटवल एक पटक, काठमाडौंदेखि सिन्धुली तीन पटक र काठमाडौंदेखि उत्तर प्रदेश एक पटक दौडेर पुगेका थिए। उनले काठमाडौंदेखि भारतको पश्चिम बंगाल हुँदै भुटानको सिमाना फुन्छिुलिङसम्म दौडेका थिए। कार्कीका अनुसार २०६४ सालमा १ सय १ दिन लगाएर नेपालको तत्कालीन ७५ जिल्ला नै दौडेर पुगेका थिए।
प्रकाशित: ८ चैत्र २०८२ १०:०६ आइतबार





