प्रतिनिधिसभाका सदस्यहरूले पाउने तलबभत्ता तथा सुविधाको विषयका सम्बन्धमा जनताको चासो बढेको छ।
निर्वाचनपछि प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत १६५ तथा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत ११० गरी २७५ जना सांसद हुन्छन्। नवनिर्वाचित सांसदलाई शपथ ग्रहणमा उपस्थित हुन संघीय संसद् सचिवालयले सार्वजनिक सूचना निकालिसकेको छ। उनीहरूको शपथ यही चैत १२ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुने कार्यक्रम सार्वजनिक गरिएको छ । त्यसै दिनदेखि नव निर्वाचित सांसदहरूले ऐनअनुसार तलबभत्ता तथा सुविधा पाउँछन्।
संघीय सांसदहरूको पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सेवा सुविधा ऐन २०७३ मा सांसदहरूको सेवासुविधाका सम्बन्धमा व्याख्या गरिएको छ। उक्त ऐनमा व्यवस्था भएअनुसार निर्वाचित सांसदले पहिलो पटक काठमाडौं आउँदा यात्रा खर्च पाउने व्यवस्था छ तर उनीहरूले आफू चढेका जहाज वा बसको टिकट संसद् सचिवालयमा बुझाउनुपर्नेछ। काठमाडौंमा आइसकेपछि सांसदहरूलाई घरभाडा तथा फर्निचरको सुविधा पनि छ । यसैगरी पहिलो पटक फर्निचर खर्चका लागि १५ हजार दिने व्यवस्था गरिएको छ । काठमाडौं उपत्यकामा घर नभएका सांसदलाई घरभाडाबापत मासिक १८ हजार रुपैयाँ दिने व्यवस्था गरिएको छ।
सांसदहरूले सञ्चार खर्चका लागि मासिक तीन हजार रुपैयाँ पाउनेछन्। यसैगरी बिजुली र पानीका लागि मासिक दुई हजार पाउने व्यवस्था गरिएको छ। उनीहरूका लागि मासिक तलब भने ५५ हजार २३० रुपैयाँ कायम गरिएको छ।
यसैगरी विशेष भत्ता एक हजार रुपैयाँ उपलब्ध हुने व्यवस्था ऐनले गरेको छ । सांसदहरूले बैठक भत्ता पनि पाउने व्यवस्था छ । जसअनुसार संसद् बैठक वा संसदीय समिति बैठक बसेको दिन उनीहरूले दैनिक एक हजार रुपैयाँ बैठक भत्ता र सवारीसाधन भाडाका लागि थप एक हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था छ। १५ दिन संसद् बैठक बसे बैठक र यातायात भत्ताबाट मात्रै ३० हजार रुपैयाँ पाउने व्यवस्था ऐनमा गरिएको छ। सवारी सुविधा उपलब्ध नगराइएको सदस्यलाई संघीय संसद्को कुनै सदनको वा कुनै समिति वा उपसमितिको वा दुवै सदनको संयुक्त बैठकमा भाग लिएको प्रत्येक दिनका निमित्त यातायात सुविधा पाउने व्यवस्था ऐनमा गरिएको छ । यसैगरी संघीय संसदको कामको सिलसिलामा नेपालभित्र वा बाहिर भ्रमण गर्दा पदाधिकारी वा सदस्यलाई दैनिक भ्रमण भत्ता दुई हजार ५०० रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको छ।
ऐनअनुसार प्रतिनिधिसभाका सदस्य वा कुनै पदाधिकारीको पदावधि समाप्त नहुँदै मृत्यु भई वा निजले राजीनामा दिई वा प्रतिनिधिसभा विघटन भई त्यस व्यक्ति आफ्नो पदमा कायम नरहेमा त्यस्तो पदाधिकारी वा सदस्यको सदस्यता कायम रहेको दिनसम्म पाउने पारिश्रमिकको अतिरिक्त एक महिनाको पारिश्रमिक बराबरको थप रकम दिइने उल्लेख छ।
यसैगरी पदाधिकारी वा सदस्यको मृत्यु भए पदाधिकारी वा सदस्यले कसैलाई इच्छाएको रहेनछ वा इच्छाएको व्यक्ति जीवित रहेनछ भने त्यस्तो रकम त्यस व्यक्तिको नजिकको हकवालालाई दिइनेछ भनी ऐनमा उल्लेख छ।
प्रकाशित: ८ चैत्र २०८२ ०९:५३ आइतबार

