नेपाल भारोत्तोलन संघको चुनावी साधारणसभाले कानन चौधरीको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति बिहीबार निर्विरोध चयन गरेको छ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी निकट रहेका कानन यसअघि भारोत्तोलनको तदर्थ समितिमा संयोजक थिए। लामो समयदेखि निर्वाचन नगरेको भन्दै मन्त्री चौधरीले नै रामकृष्ण श्रेष्ठको नेतृत्वमा रहेको नेपाल भारोत्तोलन संघ विघटन गरेका थिए। लगत्तै उनले आफ्नै क्षेत्रका काननलाई भारोत्तोलनको तदर्थ समितिमा संयोजकको जिम्मेवारी सुम्पिएको थियो।
राखेपको बोर्डमार्पmत त्यो समितिले तीन महिनाभित्र निर्वाचन गराउने समयसीमा पाएको थियो। साथै उक्त समितिका संयोजकले निर्वाचमा सहभागी हुन नपाउने प्रावधान थियो। तर, मन्त्री चौधरीले विघटन गरेका ६ संघमध्ये चार वटा तदर्थ कमिटीका संयोजक नै अध्यक्षमा निर्वाचित भएका छन्।
कानन चौथो अध्यक्ष हुन्। बिहीबार भएको निर्वाचनबाट भारोत्तोलन संघका उपाध्यक्षमा विजेन्द्रविक्रम शाह, रुद्रबहादुर न्यौपाने, तिलकबहादुर राउत क्षेत्री, गणेशबहादुर चन्द र अनिलकुमार मिश्र निर्वाचित भए। महासचिवमा विपेन्द्र महर्जन, सचिवमा रामेश्वर श्रेष्ठ, सहसचिव प्रदीपकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा अशोक शाही चुनिए।
ईश्वरबहादुर श्रेष्ठ, शिवनारायण चौधरी, कुन्तिलाल यादव, ठक्करबहादुर बम, अजय शाही, श्यामराज भक्त उदास, अन्जुकुमारी रानाभाट, तुलाराम थारु, कमलबहादुर भण्डारी र शत्रुघ्न यादव सदस्यमा चयन भए। उक्त साधारणसभाको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए।
प्रकाशित: १६ श्रावण २०८२ ०७:४३ शुक्रबार





