दसैं–तिहारको रौनकसँगै जुम्लाका गाउँबस्ती यतिबेला खेलकुदमय बनेका छन्। चाडपर्व मनाउन घर फर्किएका युवा, स्थानीय खेलाडी र खेलप्रेमीको जमघटले गाउँका खेलमैदान भरिभराउ छन्। कतै फुटबलको प्रतिस्पर्धा छ, कतै भलिबलको रोमाञ्चक भिडन्त त कतै क्रिकेटको उत्साह, चाडपर्वलाई भेटघाट र मनोरञ्जनमा मात्र सीमित नराखी खेलकुदसँग जोड्ने क्रम बढेपछि जुम्लाका गाउँबस्तीमा छुट्टै रौनक थपिएको छ।
जिल्लाका विभिन्न स्थानीय तहमा युवा क्लब, वडा कार्यालय र गाउँपालिकाको अगुवाइमा एकपछि अर्को प्रतियोगिता सञ्चालन भइरहेका छन्। प्रतियोगितामा स्थानीय टोलीसँगै जिल्ला र प्रदेशस्तरका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। कतिपय प्रतियोगितामा लाखौँ रुपैयाँ पुरस्कार राखिएको छ। यसले खेलाडीको आकर्षण बढाउनुका साथै दुर्गम गाउँका खेलप्रतिभालाई आफ्नो क्षमता देखाउने अवसर दिएको छ।
जुम्लामा आयोजित कर्णाली प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल ३३ नम्बर गण जुम्लाले जितेको छ। गुठिचौर–५ सुर्खेतको टोलीलाई सोझो तीन सेटमा पराजित गर्दै सशस्त्र प्रहरीले उपाधि हात पारेको हो।
सोमबारदेखि बुधबारसम्म सञ्चालन भएको प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका सांसद देवेन्द्र शाहीले गरेका थिए। पूर्वराष्ट्रिय भलिबल खेलाडी स्वर्गीय भुवन केसी र दीर्घबहादुर खत्रीको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको थियो।
जिल्ला खेलकुद विकास समिति जुम्लासँग समन्वय गरी चन्दननाथ नगरपालिका–७ मिचास्थित सरस्वती युवा क्लबले प्रतियोगिता आयोजना गरेको क्लबका अध्यक्ष महेश रावलले बताए। प्रतियोगितामा प्रथम हुने टोलीले एक लाख ५१ हजार एक सय रुपैयाँ र दोस्रो हुने टोलीले एक लाख एक हजार एक सय रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए।
सिंजा युवा एकता भलिबल कपको उपाधि सिंजा गाउँपालिका–३ नराकोटस्थित मिट पोइन्ट युवा क्लबले जितेको छ। कात्तिक १३ गतेदेखि सुरु भएको प्रतियोगिता १७ गते सम्पन्न भएको थियो। फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै मिट पोइन्टले उपाधि जितेको हो। प्रतियोगितामा १६ टोली सहभागी थिए।
सिंजा गाउँपालिका–५ गोरास्थित श्री सुर स्मृति युवा क्लब उपविजेता बन्यो। विजेता मिट पोइन्टले ७० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता क्लबले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो। रेभोलुसन युथ क्लबको आयोजनामा सिंजा गाउँपालिका–६ स्थित माध्यमिक विद्यालय जोडुको खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिएको थियो।
क्लबका अध्यक्ष किशोर बुढाका अनुसार प्रतियोगिता भलिबलमा मात्रै सीमित नभई दुर्गम क्षेत्रका युवालाई एकताबद्ध गर्ने, उनीहरूको क्षमता र प्रतिभा उजागर गर्ने तथा सामाजिक सद्भाव बढाउने अभियान पनि हो। हिमा गाउँपालिकामा पनि ठूलो पुरस्कार राशिसहित खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ।
गाउँपालिका–२ नम्बर वडा कार्यालयको आर्थिक सहयोग तथा लामा विष्णु युवा क्लबको आयोजनामा गत कात्तिक ८ देखि १० गतेसम्म प्रतियोगिता सञ्चालन भएको क्लबका अध्यक्ष धीरेन्द्र रोकायाले बताए।
प्रतियोगितामा लामा विष्णु निर्माण सेवा फर्म हिमा–२ ओदी प्रथम र नेत्रज्योति माध्यमिक प्राविधिक विद्यालय हिमा–२ ओदी द्वितीय भए। प्रथम हुने टोलीले दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ तथा दोस्रो हुने टोलीले एक लाख एक हजार एक सय ११ रुपैयाँ पुरस्कार प्राप्त गरे। दुवै टोलीलाई मेडल, ट्रफी र प्रमाणपत्रसमेत प्रदान गरिएको थियो। अध्यक्ष रोकायाका अनुसार उक्त पुरस्कार राशि जुम्लाकै सबैभन्दा बढी हो। प्रतियोगितामा १७ टोली सहभागी थिए। हिमामा यसअघि २०८९ मा पहिलोपटक प्रतियोगिता आयोजना गर्दा प्रथम पुरस्कार एक लाख, द्वितीय ५० हजार र तृतीय २५ हजार रुपैयाँ राखिएको थियो।
दोस्रो पटक २०८१ मा प्रथम पुरस्कार दुई लाख र द्वितीय पुरस्कार एक लाख रुपैयाँ घोषणा गरिएको थियो। फुटबल प्रतियोगिताले पनि गाउँबस्तीमा उत्तिकै उत्साह थपेको छ। सिंजा गाउँपालिकाले आयोजना गरेको सिंजा कप फुटबल प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका अर्थमन्त्री टेकराज पछाईले गरेका थिए।
शिक्षा तथा खेलकुद शाखा प्रमुख शंकर धितालका अनुसार कात्तिक ७ देखि १३ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको उपाधि चन्दननाथ नगरपालिका–७ महतगाउँस्थित परोपकार युवा क्लबले जित्यो। विजेता क्लबले एक लाख ११ हजार एक सय ११ रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्याे।
उपविजेता सिंजा गाउँपालिका–६ रुघागाउँस्थित जलजला एफसी क्लबले ५५ हजार पाँच सय ५५ रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पायो। पुरस्कार वितरण गर्दा २५ प्रतिशत कर कट्टी गरिएको थियो।तिला गाउँपालिकामा तेस्रो उपाध्यक्ष कपअन्तर्गत गाउँपालिकास्तरीय खुला भलिबल प्रतियोगिता सञ्चालन गरिएको थियो।
आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यक्रमअन्तर्गत कात्तिक १२ देखि १४ गतेसम्म प्रतियोगिता आयोजना गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर रावलले बताए।
प्रतियोगितामा महिला र पुरुष दुवै विधामा प्रतिस्पर्धा भएको थियो। महिलातर्फ तिला–९ मालापानीको बी टोली प्रथम भयो। प्रथम हुने टोलीले ६५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो। तिला–४ सापुलीको टोली द्वितीय हुँदै ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भयो। पुरुषतर्फ तिला–७ प्रौखी गाउँको टोली प्रथम भयो।
उक्त टोलीले एक लाख ३५ हजार रुपैयाँ प्राप्त गर्दा तिला–१ रारा गाउँको टोली द्वितीय हुँदै एक लाख रुपैयाँ पुरस्कार पायो।कनकासुन्दरी गाउँपालिका–६ गोरुचौरमा पहिलो कनकासुन्दरी गोल्डकप फुटबल प्रतियोगिता पनि आयोजना गरिएको थियो।
असोज २९ देखि कात्तिक ७ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा ४२ टोली सहभागी थिए। प्रतियोगितामा कनकासुन्दरी–८ रोकायाबाडाको टोली प्रथम र सिंजा–३ धितालीहीको टोली द्वितीय भयो। प्रथम हुने टोलीले ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए।फुटबल र भलिबलसँगै जुम्लामा क्रिकेटको आकर्षणसमेत बढेको छ।
असोज २० देखि २५ गतेसम्म तातोपानी गाउँपालिका–४ स्थित हाँकु क्रिकेट मैदानमा ‘कर्णाली प्रिमियर लिग (केपीएल)’ नाम दिइएको हाई अल्टिच्युड ओपन टी–२० क्रिकेट प्रतियोगिता सञ्चालन भएको थियो। युथ फर कर्णाली क्लबको आयोजनामा भएको प्रतियोगितामा ११ टोली सहभागी थिए।
क्लबका अध्यक्ष मनोज भारतीका अनुसार प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो। फाइनलमा देवीदत्त बटालियनलाई आठ रनले पराजित गर्दै पुलिसले उपाधि उचालेको हो। उपाधिसँगै पुलिसले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा उपविजेता देवीदत्त बटालियनले ५० हजार रुपैयाँमा चित्त बुझाएको थियो।
चाडपर्वको खेलकुद उत्सव अझै केही दिन जारी रहनेछ। बुधबारदेखि जुम्लाको गुठिचाैर गाउँपालिका -१ नम्बर वडाको आयोजानामा कर्णाली प्रदेश पालिका स्तरिय भलिबल प्रतियोगिता भइरहेको छ भने हिमा गाउँपालिका–१ मा ‘वडाको लगानी, पालिकाभित्रका खेलाडी’ भन्ने मूल नारासहित पालिकास्तरीय भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछ।
कात्तिक २१ देखि २३ गतेसम्म देवारगाउँस्थित कालिका आधारभूत विद्यालयको प्राङ्गणमा कार्यक्रम सञ्चालन हुनेछ। पुरुषतर्फ प्रथम हुने टोलीले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुनेले २५ हजार, तेस्रो हुनेले १० हजार र सान्त्वना स्थान हासिल गर्ने टोलीले पाँच हजार रुपैयाँ पाउनेछन्।
महिलातर्फ प्रथम हुने टोलीलाई १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। दोस्रो हुनेले आठ हजार, तेस्रो हुनेले चार हजार र सान्त्वना स्थान हासिल गर्ने टोलीले दुई हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन्।
जुम्लामा चाडपर्वका अवसरमा आयोजना भइरहेका यी प्रतियोगिताले खेलकुदलाई गाउँको सामाजिक जीवनसँग जोड्दै लगेका छन्। प्रतियोगिताले स्थानीय युवालाई प्रतिस्पर्धाको अवसर दिनुका साथै गाउँबस्तीबीच सम्बन्ध विस्तार, आपसी सद्भाव र सामुदायिक एकता कायम गर्न सहयोग पुर्याएका छन्।
प्रकाशित: १९ कार्तिक २०८३ ०८:५२ बिहीबार





