२२ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

विश्व एथ्लेटिक्स च्याम्पियनसिप: जापानी समर्थकले पाए अवसर

महामारीले ग्रस्त हुँदा टोकियो ओलम्पिक हेर्नबाट वञ्चित समर्थक चार वर्षपछि शनिबार सोही स्टेडियममा विश्व एथ्लेटिक्स च्याम्पियनसिप हेर्न उद्घाटनको दिन पुगेका छन्।

कोभिडले टोकियो ओलम्पिक एक वर्ष सन् २०२१ मा आयोजना हुँदा संक्रमण फैलनबाट रोक्न समर्थकहरूलाई स्टेडियममा आउन प्रतिबन्धित थियो। खाली स्टेडियम र सुनसान पृष्ठभूमिमा टोकियो ओलम्पिक सम्पन्न हुन पुग्यो। शनिबार बिहान विस्तारै घाम उदाउँदा विश्व च्याम्पियनसिप सुरु भयो। जहाँ जापानी समर्थकहरूले ओलम्पिकमा गुमाएका अवसर यसपल्ट पूरा गर्ने निधो गरे। प्राय:  समर्थक रेस सुरु हुनुभन्दा अगाडि नै बिहान ७ः ३० बजे आइपुगेका थिए। चिबानजिकै बस्ने वासिन्दा ४१ वर्षे हजिमे कोन्दो आफ्नी श्रीमती युकिको र ६ वर्षे छोरासँगै एथ्लेटिक्स विश्व च्याम्पियनसिप हेर्न आएका थिए।

‘हामी भर्खर आएका हौं । तर, रेस सुरु भएको हेर्न पायौं र हामी उत्साहित छौं,‘कोन्दोले भने,‘बच्चाहरूले खेलाडीहरूका बारे सबै पक्ष हेर्न पाउँछन्। यसले उनीहरूलाई खेल्न पनि प्रोत्साहित गर्नेछ। उनीहरूको लागि यो राम्रो अवसर हो।’

कोन्दो र उनकी श्रीमतीले चार वर्षअघि ओलम्पिकमा कयाक स्लालमको टिकट किनेका थिए तर आयोजकले धेरै इभेन्टहरूमा समर्थकलाई प्रतिबन्धित गर्‍यो। त्यसपछि कोन्दो टिभीमा नै ओलम्पिक हेर्न बाध्य भए। ‘त्यो हाम्रा लागि निरासाजनक थियो। त्यतिबेला हामीले कामबाट बिदा पनि लिएका थियौं,‘कोन्दोले भने,‘त्यहाँ कुनै प्रशंसक थिएनन्। टिभीमा एक प्रकारको उदास जस्तो देखिन्थ्यो। ती खेलमा ऊर्जा थिएन।’

टोकियो राष्ट्रिय स्टेडियमको सिट क्षमता ७० हजारभन्दा कम छ। जहाँ बिहान पुरुष ३५ किमी रेस हुँदा आधा भाग भरिएका थिए। जापानका हयातो कात्सुकी कांस्य पदकको लागि स्टेडियममा प्रवेश गरे। त्यतिबेला ठूलो उत्साहपूर्ण आवाज निस्कियो। कात्सुकीले टोकियो ओलम्पिकमा पनि भाग लिएका थिए। टोकियोको तीव्र गर्मीबाट बच्न रेस र म्याराथनहरू उत्तरी शहर सप्पोरो भए। ‘यस पटक समथर्कहरूले हामीलाई उत्साह दिए। यसले मेरो स्ट्रेन्थ बढाएको,‘३४ वर्षे कात्सुकीले भने, ‘लस एञ्जलस ओलम्पिकमा पनि रेस हुनेछ। टोकियोका मानिसहरूले यो पनि एक रमाईलो खेल र प्रतियोगिता हो र जसको आनन्द लिन सक्छन् भन्ने देखाइदिए।’

राम्रो प्रभाव

जापानी एथलेटिक्स संघकी प्रमुख युको अरिमोरले टोकियो ओलम्पिकमा देखिएको खाली स्ट्यान्डको दुखद स्मृतिलाई मेटाउन विश्व च्याम्पियनसिपले सक्छ भनेर शुक्रबार प्रतिक्रिया दिएकी थिइन्। अरिमोरले भनिन् कि खेल ‘यो खेलले केबल खेलाडीलाई मात्र होइन सबैलाई ऊर्जा प्राप्त गर्छ।’

चिबाको ४९ वर्षीय परामर्शदाता तकाशिगे तोरिइले रेसको लागि स्टेडियम भरिएन भन्नु गलत रहेको बताए । बरु यसले अन्य प्रतियोगिताका लागि उच्च आशा जगाएको उनको भनाइ छ। ‘विश्वभरिका पाहुनाहरू टोकियो आउँदा जापान र यहाँको संस्कृतिसँग परिचित हुन यो एक ठूलो अवसर हो,‘उनले भने, ‘ओलम्पिक पनि बन्द ढोकामा आयोजना भएको थियो। त्यसमा जापानी बच्चाहरूले खेलाडीहरूलाई प्रत्यक्ष हेर्ने मौका पाएनन्। मलाई लाग्छ यसपल्ट बच्चाहरूमा राम्रो प्रभाव पर्छ।’ आयोजकहरूले नौ दिने च्याम्पियनसिपको केही सत्रहरूका टिकट विक्री गरिसकेका छन्।

विश्व एथलेटिक्सका अध्यक्ष सेबास्टियन कोले यो प्रतियोगितालाई वर्षको सबैभन्दा ठूलो खेलकुद कार्यक्रम भनेर प्रंशसा गरेका छन्। आफ्नी श्रीमती मिसातोसँग उद्घाटन दिनमा सहभागी ३८ वर्षे हितोशी आइताले यो आयोजनाले निराश नगरेको प्रतिक्रिया दिए। ‘मैले पहिलो पटक रेस हेरेको हुँ। खेलाडीहरू कति कुद्छन भनेर आश्चर्य छु, ‘उनले भने,‘धेरै प्रशंसक आउँदा यसले खेलाडीहरूलाई पनि शक्ति प्रदान गर्दछ।’

प्रकाशित: २९ भाद्र २०८२ ०७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App