नेपाल प्रिमियर लिग (एनपीएल) को सिजन ३ का लागि मधेश प्रदेशको प्रतिनिधित्व गर्ने जनकपुर बोल्ट्सले आफ्नो आधिकारिक जर्सी सार्वजनिक गरेको छ।
टाइटल पार्टनर एक्स्ट्रिम इनर्जी ड्रिंक र एसोसिएट पार्टनर याङ्गोको ब्रान्डिङसहित सार्वजनिक गरिएको नयाँ जर्सीलाई टोलीले यस सिजनको ‘रिडेम्प्सन’ अर्थात् पुनरागमन अभियानको प्रतीकका रूपमा प्रस्तुत गरेको छ।
टोलीको परिचित म्याजेन्टा र नेभी रङलाई निरन्तरता दिँदै यसपटक जर्सीको कलर, बाहुला र नम्बरमा सुनौलो रङ थपिएको छ। टोलीका अनुसार म्याजेन्टा जोशको, नेभी शक्तिको र सुनौलो रङ पुनरागमनको प्रतीक हो।
जर्सीको माथिल्लो भागमा परम्परागत बुट्टाको ढाँचा र तल्लो भागमा कमलको मण्डला राखिएको छ। त्यस्तै, ट्राउजरमा बिजुलीको आकारका म्याजेन्टा धर्सासँगै सुनौलो किनारा समावेश गरिएको छ।
गत सिजनको नतिजाबाट पाठ सिक्दै जनकपुर बोल्ट्सले तेस्रो सिजनलाई ‘रिडेम्प्सन’ सिजनका रूपमा अघि बढाएको जनाएको छ। नयाँ जर्सीले टोलीको पहिचान, मधेशको गौरव र यस सिजनको लक्ष्यलाई प्रतिनिधित्व गर्ने क्लबको भनाइ छ।
जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले नयाँ जर्सीलाई गत सिजनबाट प्राप्त सिकाइ र मधेशको गौरवसँग जोडिएको बताए।
'गत सिजनले हामीलाई धेरै कुरा सिकायो। यो जर्सी त्यही सिकाइ र मधेशको गौरवको प्रतीक हो। सुनौलो रङ हामीले यस सिजन हासिल गर्न चाहेको लक्ष्यको सम्झना हो। मैदानमा यो जर्सी लगाउने हरेक खेलाडीले मधेशका लागि मन दिएर खेल्नेछन्,' खतिवडाले भने।
त्यस्तै, टोलीका प्रमुख मार्केटिङ अधिकृत उदिप पराजुलीले नयाँ पहिचान बनाउनुभन्दा टोलीको स्थापित पहिचानलाई अझ बलियो बनाउने प्रयास गरिएको बताए।
'म्याजेन्टा र नेभी बोल्ट्सको पहिचान हो, सुनौलो रङ यस सिजनको कथा हो। बोल्ट्सका समर्थकहरूले यो जर्सी गर्वका साथ लगाउनुहुनेछ भन्ने हामीलाई विश्वास छ,' पराजुलीले बताए।
जनकपुर बोल्ट्सले टाइटल पार्टनर एक्स्ट्रिम इनर्जी ड्रिंक, एसोसिएट पार्टनर याङ्गो तथा सिजन ३ का अन्य साझेदारप्रति आभार व्यक्त गरेको छ।
एनपीएलको तेस्रो सिजन अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ।
प्रकाशित: २७ आश्विन २०८३ ०७:०४ मंगलबार





