४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

जय ट्रफीः आर्मीविरुद्धको फाइनलमा पुलिसको उत्कृष्ट पुनरागमन, करण केसीको अलराउन्ड प्रदर्शन

जय ट्रफी पुरुष एलिट कपको फाइनलमा नेपाल पुलिस क्लबले उत्कृष्ट पुनरागमन गरेको छ। पहिलो दिन मंगलबार बलिङ र ब्याटिङमा खराब प्रदर्शन गरेको पुलिसले दोस्रो दिनको खेलमा बुधबार भने त्रिभुवन आर्मी क्लबलाई नियन्त्रणमा राखेको हो।  

आफ्नो पहिलो इनिङ्समा २२१ रन बनाएको पुलिसले धारिलो बलिङ गरेपछि आर्मीले मध्यम लक्ष्य दिने संकेत गरेको छ। दिनको खेलको समाप्तिमा आर्मीले ९ विकेटको क्षतिमा १७८ रन बनाएको छ। पहिलो इनिङ्समा आर्मी पनि समान २२१ रनमा अलआउट भएको थियो। यो अवस्थामा आर्मीले १७८ रनको अग्रता बनाएको छ र अन्तिम दिन आर्मीसँग मात्र एक विकेट बाँकी छ।  

आर्मीका लागि दोस्रो इनिङ्समा कुशल मल्लले ३६, शहाब आलमले ३३ र भीम सार्कीले ३२ रन बनाए। आकाश चन्द १५ र सोमपाल कामी शुन्य रनमा नटआउट छन्।  

पुलिसका लागि करण केसी, ललित राजव्रशी र सागर ढकालले समान ३ विकेट लिएका छन्।  

यसअघि ३ विकेटको क्षतिमा ४१ रनबाट बुधबार दोस्रो दिनको खेल थालेको पुलिस २२१ रनमा अलआउट भयो। करण केसीले सम्हालिएको प्रदर्शन गर्दै नटआउट ७२ रन बनाएपछि पुलिस बलियो स्थितिमा पुगेको हो। क्याप्टेन आरिफ शेखले ४४ र ललित राजवंशीले २० रन बनाए।  

आर्मीका लागि सोमपाल कामीले १७ ओभरमा ३ मेडनसहित ५ विकेट लिए। आकाश चन्दको नाममा २ विकेट हुँदा शहाब आलम, पवन कार्की र नरेन साउदले समान एक विकेट झारे । 

प्रकाशित: ४ चैत्र २०८२ १८:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App