१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

क्यानडामा दुर्व्यवहारको आरोपपछि फिफा कंग्रेसमा गएनन् इरानी अधिकारी

इरानी फुटबल महासंघका अधिकारीहरूले क्यानेडियन अध्यागमन अधिकारीबाट दुर्व्यवहार भएको आरोप लगाउँदै भ्यानकुभरमा हुने फिफा कंग्रेसमा सहभागी नहुने बताएका छन्।

इरानको तस्निम समाचार एजेन्सीका अनुसार महासंघका अध्यक्ष मेहदी ताज, महासचिव हेदायत मोम्बेनी र उपाध्यक्ष हमेद मोमेनीसहितको प्रतिनिधिमण्डल यस हप्ता टोरन्टोको मुख्य विमानस्थलबाटै फर्किएको हो।

उनीहरू बिहीबार हुने फिफा कंग्रेसमा भाग लिन भ्यानकुभरतर्फ जाँदै थिए। उक्त कंग्रेस आगामी विश्वकपअघि आयोजना गरिएको हो, जहाँ फिफाका २११ सदस्य राष्ट्रका प्रतिनिधिहरू सहभागी हुने कार्यक्रम छ। सन् २०२६ को विश्वकप क्यानडा, संयुक्त राज्य अमेरिका र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन्।

इरानी फुटबल महासंघले जारी गरेको विज्ञप्तिमा प्रतिनिधिमण्डल आधिकारिक भिसासहित टोरन्टो पुगेको उल्लेख गर्दै विमानस्थलमा अध्यागमन अधिकारीहरूले अस्वीकार्य व्यवहार गरेको आरोप लगाएको छ। साथै इरानी राष्ट्रका सशस्त्र सेनासँग सम्बन्धित सम्मानित निकायको अपमान गरिएको दाबी गर्दै प्रतिनिधिमण्डल पहिलो उपलब्ध उडानमार्फत टर्की फर्किएको जनाएको छ।

घटनापछि क्यानडाकी विदेश मामिला मन्त्री अनिता आनन्दले इरानी फुटबल अधिकारीहरूलाई देश प्रवेशमा रोक लगाइएको विषय आफ्नो ध्यानमा आएको बताएकी छन्। तर, यो घटना अनजानमा भएको उनले स्पष्ट पारेकी छन्।

मंगलबार भएको यस घटनाले आगामी विश्वकपमा इरानको सहभागितासँग जोडिएका राजनीतिक तथा कूटनीतिक जटिलता फेरि सतहमा ल्याएको छ। फेब्रुअरीमा अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेपछि यो विषय फिफाभित्र संवेदनशील एजेन्डाका रूपमा हेरिँदै आएको छ।

इरानी अधिकारीहरू मंगलबार भ्यानकुभरमै आयोजित एसियाली फुटबल महासंघ (एएफसी) कंग्रेसमा समेत सहभागी हुन सकेका थिएनन्।

 

 

 

प्रकाशित: १७ वैशाख २०८३ १५:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App