१८ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

आईपीएल : गुजरातमाथि पञ्जाबको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गरेको छ। नयाँ चण्डीगढको मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले सिजनको सुखद सुरुवात गरेको हो। 

१६३ रनको मध्यम लक्ष्य पछ्याएको पञ्जाबले १९.१ ओभरमा ७ विकेट गुमाएर १६५ रन बनाउँदै जित पक्का गर्‍यो। पञ्जाबको जितमा डेब्यु खेलाडी कुपर कोनोली नायक बने, जसले संकटपूर्ण अवस्थामा ७२ रनको अविजित इनिङ्स खेलेका थिए।

यस खेलमा बलिङतर्फ दुईवटा महत्वपूर्ण कीर्तिमान कायम भएका छन्। पञ्जाबका स्पिनर युजवेन्द्र चहल आईपीएल इतिहासमा ७ देखि १६ ओभरको बीचमा सबैभन्दा बढी विकेट लिने बलर बनेका छन्। उनले गुजरातका कप्तान शुभमन गिल र जोस बटलरलाई आउट गर्दै यस चरणमा आफ्नो कुल विकेट संख्या १५२ पुर्‍याएका हुन्। चहल अहिले आईपीएलकै इतिहासमा मध्य ओभरमा सबैभन्दा घातक बलरका रूपमा स्थापित भएका छन्।

अर्कोतर्फ, पञ्जाबकै तीव्र गतिका बलर अर्शदीप सिंहले एउटा अवांछित कीर्तिमान बराबर गरे। गुजरातको इनिङ्सको २०औँ ओभर बलिङ गर्ने क्रममा उनले ४ वटा वाइड र १ नो-बलसहित कुल ११ बल फाल्नुपर्‍यो। यससँगै उनी आईपीएल इतिहासमा एउटै ओभरमा सबैभन्दा बढी बल फाल्ने बलरहरूको सूचीमा परेका छन्। यसअघि मोहम्मद सिराज, तुषार देशपाण्डे, शार्दुल ठाकुर, सन्दीप शर्मा र हार्दिक पाण्ड्याले पनि ११ बलको ओभर फालेका थिए। अर्शदीपको उक्त ओभरमा गुजरातले १२ रन जोडेको थियो।

खेलमा दुवै टोलीबाट नयाँ प्रतिभाहरूले डेब्यु गर्ने अवसर पाएका छन्। गुजरात टाइटन्सका तर्फबाट तीव्र गतिका बलर अशोक शर्माले आफ्नो पहिलो आईपीएल खेल खेल्दै मार्को यान्सेनको विकेट लिए। त्यस्तै, पञ्जाब किंग्सका लागि अष्ट्रेलियाली युवा खेलाडी कुपर कोनोलीले उत्कृष्ट डेब्यु गरे। उनले ४४ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै टोलीलाई जितसम्म पुर्‍याए र ‘प्लेयर अफ द म्याच’ घोषित भए। बलिङतर्फ पञ्जाबका विजयकुमार वैशाकले ३ विकेट लिए भने गुजरातका प्रसिद्ध कृष्णले पनि ३ विकेट झारेका थिए।

प्रकाशित: १८ चैत्र २०८२ ०७:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App